वडा अध्यक्ष श्रेष्ठको पहलमा अपाङ्गता भएका दिलिपलाई घरमै नागरिकता

वडा अध्यक्ष श्रेष्ठको पहलमा अपाङ्गता भएका दिलिपलाई घरमै नागरिकता

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ३ स्थित सापडाडाका अति विपन्न तथा शारीरिक रूपमा अति अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालय प्युठानले घरमै पुगेर नागरिकता प्रदान गरिएको छ।
पटक पटक सदरमुकाम लैजान कसरत गरे पनि विफल भएकि आमा कलि सुनारको सपना आइतबार   घरमै पूरा भयो।
वडा अध्यक्ष सुमनराज श्रेष्ठको पहलमा जिल्ला प्रशासन कार्यालयका प्रशाकीय अधिकृत सरद गौतम सहितको टाेली घरमै आएर उनलाई नागरिकता प्रदान गरेका हुन्। उनको नागरिकता प्रमाणपत्रको सम्पूर्ण विवरण जिल्ला प्रशासन कार्यालयबाट नै तयार गरी औठाछाप लगाउन मात्र बाँकी राखिएको थियो।
१६ वर्षीया सुनार खान,बस्न र सुत्नसमेत अरुको सहारा लिनुपर्छ। शारीरिक अपाङ्गता भएका कारण यातायातमा आउजाउको समस्या भएपछि नागरिकता नबनाएको आमा कलि सुनारले बताइन । घरमै आएर नागरिकता दिएपछि आफूलाई निकै सहजता भएको उनको भनाइ छ ।
‘मैले धेरै पटक छोराको नागरिकता बनाउन (सदरमुकाम) लैजान खोजेपनि सकेको थिइन’ कलि सुनारले छोराको नागरिकता बनेपछि खुसी साट्दै भनिन‘वडा अध्यक्ष श्रेष्ठको पहलमा सजिलो तरिकाले घरमै छोराको नागरिकता प्राप्त गर्ने अबसर प्रदान गर्नुभएकोमा खुशी छु।
प्युठान नगरपालिकाका वडा अध्यक्ष सुमन राज श्रेष्ठले,“अपाङ्गता भएका कारण आवतजावतमा समस्या हुने भएपछि घरमै पुगेर दिलिपलाई नागरिकता प्राप्त गर्ने बाताबरण बनायौ।” उनले यस्ता कार्यले उनीहरूको परिवारमा सरकारप्रतिको भरोसा र सकारात्मक धारणा विकास भएर जाने उल्लेख गरे।श्रेष्ठले घरमै सेवा पुर्‍याउन सहजीकरण गरेकोमा प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल,प्रशासकीय अधिकृत शरद गौतम सहित जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिँदै आफु सधै जनताकै सेवामा तल्लिन रहने बताए।वडा अध्यक्ष श्रेष्ठले  यसअघि पनि आफ्नो ब्यक्तिगत,वडा कार्यालय र विभिन्न ठाउँबाट सहयोग जुटाएर उक्त परिवारलाई विभिन्न सहयोग गरेको समेत बताए।