विकास,दिगो विकास : एक चर्चा
आशा बि.क
विकास सधैं मानव सभ्यताको केन्द्रमा रहेको विषय हो।मानिसले प्रगतिको खोजीमा नयाँ आविष्कार,पूर्वाधार निर्माण,शिक्षा,स्वास्थ्य,रोजगारीजस्ता पक्षहरूमा सुधार गर्दै आएको छ। यद्यपि, विकासको गति र स्वरूप सधैं समान र सन्तुलित रूपमा अघि बढेको पाइँदैन। कतै विकास चाँडै देखिन्छ भने कतै अझै पनि आधारभूत आवश्यकताहरू अपूरा छन्। कतिपय ठाउँमा देखिएको विकासले सकारात्मक परिवर्तन ल्याउँछ भने कतै त्यसले सामाजिक, आर्थिक वा पर्यावरणीय असन्तुलन निम्त्याएको देखिन्छ।
यही विविध अनुभवले देखाउँछ कि विकासलाई अब गुणस्तर, समावेशिता र दीर्घकालीन सोचसँग जोड्नु अत्यावश्यक भएको छ। विकास केवल भौतिक पूर्वाधार निर्माण वा आर्थिक वृद्धिसँग सीमित रहनु हुँदैन।यसको प्रभाव जनताको जीवनस्तर, वातावरण, समानता र भविष्यमा समेत देखिनु आवश्यक छ।
यस सन्दर्भमा संयुक्त राष्ट्रसंघद्वारा तय गरिएका दिगो विकासका लक्ष्यहरू (Sustainable Development Goals – SDGs) अत्यन्त सान्दर्भिक छन्। गुणस्तरीय शिक्षा (SDG 4) को पहुँच सबैसम्म पुर्याउन सकेमा मात्र मानव पूँजी सुदृढ हुन्छ। स्वच्छ पानी र सरसफाइ (SDG 6) जनस्वास्थ्यको मेरुदण्ड हो। वातावरणीय संरक्षण (SDG 13) बिना भविष्यको कल्पना सम्भव छैन। रोजगारी र आर्थिक वृद्धि (SDG 8) ले समृद्धि ल्याउँछ भने समानता (SDG 10) ले विकासलाई न्यायोचित बनाउँछ।
हामीले बुझ्नुपर्ने कुरा के हो भने विकास मात्र गर्नु पर्याप्त छैन, त्यो दिगो हुनुपर्छ। यानि, त्यस्तो विकास जुन भविष्यका पुस्तालाई नोक्सान नपुर्याई वर्तमानका आवश्यकता पूरा गर्न सकोस्। यदि विकासले वातावरणीय विनाश, सामाजिक विभाजन वा आर्थिक अन्याय जन्माउँछ भने त्यो दीर्घकालीन रूपमा घातक हुनसक्छ।
त्यसैले अबको विकास रणनीति जनताको आवश्यकता, स्थानीय सन्दर्भ र भविष्यप्रतिको जिम्मेवारीमा आधारित हुनुपर्छ। यो विकासले प्रकृति, समाज र अर्थतन्त्र बीचको सन्तुलन कायम राख्नुपर्नेछ।
अन्ततः विकासको उद्देश्य केवल वर्तमानमा समृद्धि ल्याउने होइन; त्यो यस्तो मार्गचित्र हुनुपर्छ जसले आगामी पुस्ताका लागि सुरक्षित, समावेशी र न्यायोचित समाजको निर्माण गर्न सकोस्। त्यसैले दिगो भविष्य सुनिश्चित गर्न विकासले मूल्य,दृष्टिकोण र उद्देश्यको पुनःपरिभाषा आवश्यक बनाएको छ।
निष्कर्ष
विकास वहुआयामिक प्रक्रिया हो र यो निरन्तर चलिरहन्छ।कुनै ठाउँको भौतिक रूपान्तरणलाई नै विकासको संज्ञा दिए त्यो अपूर्ण हुन्छ।भौतिक सँगसँगै राजनीतिक, सामाजिक विकास भए मात्र विकासको आयाम पूरा हुन्छ।तसर्थ समुदायमा भइरहेको सकरात्मक परिर्वतनका सर्वांगिण पक्षलाई विकास भनिन्छ।तर, दिगो विकास एक जटिल प्रक्रिया हो।विकास सवैको चाहाना हो भने दिगो विकास आजको आवश्यक्ता हो।विश्वमा प्राकृतिक स्रोत साधनहरू सीमित र निश्चित हन्।त्यसको विपरीत मानवीय चाहना र आवश्यकक्ताहरू असीमित छन्।यी दुई पक्षको तादम्यता नभएको खण्डमा पृथ्वीमा ठूलो संकट आउने प्रवल सम्भावना छ। नेपालमा अव्यवस्थित सहरीकरण भूमिको प्रयोग तथा खण्डीकरण आदिले जमिनको वहन क्षमतामा ह्रास आइरहेको छ।
लेखक
आशा बि.क
सरुमारानी गाउँपालिका गाउँकार्यपालिका सदस्य हुनुहुन्छ!
प्रतिक्रिया राख्नुहोस्