राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका-९ मरन्ठानामा अवस्थित बाल बिध्या माध्यमिक विद्यालयले शिक्षक कर्मचारीसंग २० वटा सुचकमा रहेर कार्यसम्पादन सम्झौता गरेको छ।सोमबार एक कार्यक्रमबीच विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने हेतुले शिक्षक कर्मचारीसंग कार्यसम्पादन सम्झौता गरिएको बिध्यालयका प्रधानाध्यापक केशु गिरीले जानकारी दिनुभयो।
उहाँका अनुसार करारनामा गर्ने शिक्षकले चालु शैक्षिक सत्रको चैत्र महिनाभित्र स्पष्ट सम्पूर्ण जिम्मेवारी बहन गर्नुपर्ने छ,जसका लागि बिध्यालयको तर्फबाट सम्झौता कार्यान्वयन,सहजीकरण र अनुगमन संयन्त्रको विकास गरिनेछ।
"सामुदायिक विद्यालयका प्रधानाध्यापक र विद्यालय शिक्षक बीच भएको कार्यसम्पादन करारपत्र" शिर्षकमा गरिएको सम्झौता पत्रमा विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका साथै सेवा प्रवाहलाई नतिजामुखी बनाई तोकिएको गुणस्तर परिणाम, समय र लागत प्रभावकारिताका लागि कार्यसम्पादन सम्झौता गरिएको उल्लेख छ।
सम्झौता अनुसार शतप्रतिशत नतिजा हासिल गर्ने शिक्षकहरुलाई पुरस्कार,प्रशंसा,सम्मान प्रदान गरिनेछ तोकिएका लक्ष्य तथा सुचक पूरा गर्न नसक्नेलाई भने सचेत गराउने बिध्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेहरसिह के सि,प्युठान नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि र शिक्षक अभिभावक संघका अध्यक्ष नर बहादुर बिष्ट को रोहवरमा गरिएको सम्झौता पत्रमा प्रधानाध्यापक केशु गिरी,वडा अध्यक्ष बिकास के सि र शिक्षक कर्मचारीले हस्ताक्षर गर्नुभएको छ।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष नेहरसिह के सि ले शिक्षक कर्मचारीहरूलाई संस्थागत जिम्मेवारीको बोध गराउन,सही रूपमा कार्य सम्पादन गर्न र बालबालिकाको शैक्षिक उपलब्धि वृद्धि गर्नका लागि कार्यसम्पादन करार सम्झौता प्रभावकारी हुने बताउनुभयो ।
शिक्षक कर्मचारी लाई जिम्मेवार बनाउनका लागि,कामप्रति उत्तरदायी बनाउनका लागि कार्यसम्पादन करार गर्ने गरिन्छ,’उहाँले भन्नुभयो,‘त्यही उद्देश्य अनुरूप कार्यसम्पादन करार सम्झौता गरिएको हो। सिकाई उपलब्धि वृद्धि गर्ने शिक्षक लाई पुरस्कृत,कार्यसम्पादन अनुसार काम नगर्ने शिक्षक शिक्षिकाहरूलाई आबश्यक रचनात्मक सुझाव दिन र उहाँहरूको कार्यसम्पादनको मूल्याङ्कन गर्न यसले मद्दत गर्नेछ।’
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि ले सामुदायिक विद्यालयप्रति पछिल्लो समय अभिभावक र विद्यार्थीको आकर्षण घट्दै गएको भन्दै निरासा व्यक्त गर्नुभयो।
कार्यसम्झौता करारमा हस्ताक्षर गरेपछि वडा अध्यक्ष के सि ले कार्यसम्पादन लक्ष्य प्राप्तिको प्रतिबद्धता र एकअर्काको पारस्परिक सम्बन्ध कायम हुने बताउनुभयो।
उहाँले शिक्षा हरेक ब्यक्तिको जीवन र दैनिकीसँग तथा कामको प्रभावकारीतासँग प्रत्यक्ष जोडिने पनि बताउनुभयो।
उहाँले करार सम्झौतापछि विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुने विश्वास समेत व्यक्त गर्नुभयो। बिध्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि वडाले जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै वडा अध्यक्ष के सि ले गुणस्तर वृद्धिका लागि शिक्षकहरूले सक्रियता बढाउँदै प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्