आहा ! तिहारलाई तयार भयो "सयपत्री फुल"

सीता बि.क
प्युठान,तिहार नजिकिँदै गर्दा प्युठानमा सयपत्री फूल ढकमक्क फूलेका छन्।व्यावसायिक रूपमा फूलखेती गर्दै आएका किसानले यति बेला फूल तयार पारिसकेका छन्।अबको केही दिनमा फूल टिपेर माला उन्ने तयारीमा रहेको फूलखेती गर्दै आएका किसान बताउँछन् ।
प्युठान नगरपालिका -४ जुम्रीका राधा अधिकारी र रेखा के सि ले सन्चालन गरेको सौन्दर्य पुष्प नर्सरी नामक साझेदारी फर्म दर्ता गरि सन्चालन गरिएको बगैंचामा यतिबेला सयपत्री फूल ढकमक्क देखिन्छन्। 

तस्बिर : प्युठान नगरपालिका ४ स्थित सौन्दर्य पुष्प नर्सरी द्वारा संचालित बगैचामा ढकमक्क फुलेको सयपत्री फुल


उनिहरुको फर्ममा पुगेर फुल खेती अबलोकन गर्दा मन फुरुङ्गै नहुने साहेद कसैको नहोला।विगत ८ वर्षदेखि दुई दिदिबहिनी फूलखेतीमा रमाइरहेका छन।चाडपर्वलाई लक्षित गरी हुर्काएका सयपत्री फूलले सो क्षेत्र वरपरको शोभा समेत बढाएको छ।तिहारको संस्कृतिमा मौलाएको सयपत्री फूल आजभोलि सर्वव्यापी पुष्पसामग्री बनिसकेको छ। सभा,गोष्ठी,स्वागत,बिदाइ,सम्मान,अभिनन्दन मात्र होइन श्रद्धाञ्जलीमा समेत सयपत्रीले आफ्नो आधिपत्य जमाइसकेकाले यो फूलको बाह्रैमास माग हुनेगर्दछ।फुल व्यवसायीका लागि राम्रो आम्दानीको स्रोत बन्न थालेको छ।तर,प्युठानमा यी ब्यबासायीमा फुल खपत नहुने चिन्ता बर्सेनि रहने गर्दछ।तिहार नजिकिँदै गर्दा सयपत्री फुलको खेती गर्दै आएका उक्त ब्यबसायी यतिबेला बजारको खोजीमा छन्।यसैबीच संचालक फुल ब्यबसायी राधा अधिकारीले दिनानुदिन तिहार नजिकिदै छ,फुल नबिक्ने हो कि भन्ने चिन्ता रहेको बताइन।‘बजारको अभावमा गत बर्ष करिब १ ट्रक फुल त्यतिकै खेर गयो बजार आफै कसरी खोज्नु,अलि अलि फोनमा लिन आउँछु भन्नेहरू छन् अरू कसरी विक्री गर्ने?सम्भावना देखेर आफुहरु फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भनिन्,“चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भन्ने हाम्रो चाहना हो।,यति मात्र होईन घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको हो,‘किसानलाई बजारको चिन्ता नहुने भएमात्र कृषिमा आकर्षण हुन्छ! यस बर्ष देखि प्युठान नगरपालिकाले पलाष्टिक जन्य फुल मालालाई निशेधित गरेकामा अत्यन्तै राम्रो निर्णय गरेकोमा धन्यवाद सहित खुशी व्यक्त गर्दै किसानको जतिसुकै उत्पादित बस्तु विक्री गर्न स्थानीय सरकारले बजार खोजिदिनुपर्ने उनको तर्क छ।सुरुमा ५ लाख लगानीबाट ६ बर्ष अघि वार्षिक ८० हजार भाडा तिर्ने गरी ५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर सुरु गरिएको फर्ममा सयपत्री अन्तर्गत मेरिगोल्ड र कलकत्ते जातिका फूलहरु मनै लोभिने गरि ढकमक्क फुलेको बगैचाको अर्कोतर्फ फुलको नर्सरी,तरकारीको नर्सरी समेत तयार गरिएको छ। 
उहाँहरुको फूल व्यवसायमा दुई जनाले नियमित रोजगारी पाएका छन् भने फूल लगाउँदा,फूल टिप्दा तथा माला बनाउँदा ३ देखि ४ जनासम्मलाई रोजगार दिइने गरेको उनिहरुको भनाई छ।

प्युठान नगरपालिका प्लास्टिकजन्य माला निशेधित क्षेत्र 

तिहारको अवसरमा दाङको प्युठान नगरपालिकाले प्लास्टिकजन्य मालाको प्रयोगलाई निषेध गर्ने भएको छ।स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न नगरपालिकाले पालिकाभित्र रहेका पुष्प व्यावसायिकले उत्पादन गरेको सयपत्री फूलको माला प्रयोग गर्न आग्रह पनि गरेको छ।
प्युठान नगरपालिकाभित्र उक्त फार्म मार्फत मात्र सयपत्री फूलको व्यावसायिक खेती सन्चालनमा आएको छ।फुलखेतिको राम्रो सम्भावना रहेपनी प्युठान नगरपालिका अन्तर्गत फूलको व्यावसायिक खेती गर्नेको संख्या न्यून रहेको प्युठान नगरपालिकाका कृषि शाखा प्रमुख अजित पौडेलले जानकारी दिए।जिल्लामै व्यावसायिक रूपमा फूलखेती भएपछि बाहिरबाट आउने कृत्रिम मालालाई विस्थापित गर्न सघाउ पुगेको जानकारहरू बताउँछन् ।
प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले उत्पादित फूल बिक्रीका लागि नगरपालिकाले सहयोग गर्ने बताए।उनले भने,“बजारीकरणका लागि पालिकाले सहयोग गर्नेछ।”उनका अनुसार नगरपालिकाले आयातीत तथा प्लास्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरुप यस वर्षदेखि सयपत्री फूलखेती गर्ने किसानलाई प्राथमिकता दिएको छौँ योगिले भने,“पछिल्लो समययता धेरै मात्रामा प्लास्टिकजन्य फूल तथा माला प्रयोग भएको छ, यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्याइरहेको छ, स्थानीय स्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो।”योगिले तिहारमा विदेशी प्लास्टिकका फूल तथा झिलीमिलीको सट्टा स्थानीय स्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएको बताए।नगरपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको योगिको भनाइ छ। उनले भने,“पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौं,यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ ।”