राम बहादुर विश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर १० मरन्ठानाले जेष्ठ नागरिक र उत्कृष्ट कृषक लाई सम्मान गरेको छ।
वडामा रहेका जेष्ठ नागरिक र कृषकहरुलाई प्रोत्साहन गर्दै एक कार्यक्रम बिच सम्मान गरेको हो ।
वडा भित्रका सरकारी सेवा निर्बित भइ सामाजिक सुरक्षा भत्ताको सुविधा नलिने ४ जना जेष्ठ नागरीक र उत्कृष्ट २५ जना कृषकलाई सम्मान गरिएको वडा अध्यक्ष लोक बहादुर के सि ले जानकारी दिनुभयो ।
वडाभित्र व्यावसायिक कृषिमा उल्लेखनीय काम गरेका कृषक र जेष्ठ नागरिकको मनोबल बढाउन वडाले सम्मान गरेको हो। आगामी दिनमा पनि उत्कृष्ट कृषकहरुलाई यस्तै सम्मान गर्ने वडाले जनाएको छ।
जेष्ठ नागरिक लाई हौसला दिन तथा व्यवसायिक रुपमा खेती गरिरहेका ती किसानलाई प्रेरणा मिलोस् भन्ने उद्देश्य सहित राखिएको उक्त सम्मान कार्यक्रममा प्रमुख अतिथी नगरप्रमुख बिष्णु योगि र विशिष्ट अतिथि उप प्रमुख देवेन्द्र वर्माले उत्कृष्ट कृषक र जेष्ठ नागरिक सम्मान–पत्रले सम्मान गर्नुभयो ।
उहाँहरुलाई सम्मान गर्दै नगरप्रमुख योगिले ज्येष्ठ नागरिक ज्ञान,सीप र अनुभवका सम्पति भएको बताउनुभयो।
समाजमा जेष्ठ नागरिकको ज्ञान,सीप र अनुभवको छुट्टै महत्व रहेको हुन्छ ‘वृद्धवृद्धाहरु पछिल्लो पुस्ताको लागि अमूल्य सम्पति हुन्’,नगर प्रमुख योगिले भन्नुभयो, ‘ज्येष्ठ नागरिकको अनुभवले नै नयाँ पुस्तालाई अगाडि बढ्न सहज हुन्छ ।’
जेष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्नुपर्ने पनि उहाँको भनाइ थियो ।
नगरपालिकाले ज्येष्ठ नागरिकको हकहित र संरक्षणको सवालमा विभिन्न सहयोग गर्दै आएको जानकारी गराउदै आगामी वर्षमा बजेट छुट्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै कृषि पनि समुन्नत नगर निर्माणको एउटा आधार भएको हुनाले आ.व.०८१/०८२ को नीति तथा कार्यक्रममा कृषि पेशामा युवाको रुचि बढाउने विभिन्न खालका कार्यक्रम समावेश गरिने बताउनुभयो।“नगरपालिकाले कृषकलाई विशेष प्राथमिकताको आधारमा राखेको छ,”उहाँले भन्नुभयो,“कृषि,पर्यटन,शिक्षा,रोजगारलगायतमा प्युठान नगरपालिकालाई अब्बल बनाउन लागि परेका छौँ।कृषकका समस्याहरु समाधान गर्न हामी निरन्तर लाग्ने छौँ।”
प्युठान नगरपालिकाका उप प्रमुख देवेन्द्र वर्माले सम्मानित कृषकलाई बधाई दिँदै आफ्नो व्यवसायलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
कृषि गर्नका लागि अनुदान भन्दा कृषि गरेका कृषकलाई प्रोत्साहन भन्ने नीति अनुसार १० नम्बर वडा उत्कृष्ट कृषकलाई सम्मान गरिएको उप प्रमुख वर्माले बताउनुभयो ।
कृषिमा लाग्दा नाफा र सम्मान दुवै पाउन सकिन्छ भन्ने सोच र धारणाको विकास गरी कृषि पेसालाई सम्मानित पेसाका रूपमा स्थापित गर्न सहयोग पुर्याउन उक्त कार्यक्रम सार्थक बन्न सक्ने उहाँको भनाई छ।
प्रतिक्रिया राख्नुहोस्