प्र.अ लाई प्युठान नगरपालिकाको निर्देशन-"शिक्षकहरूलाई कक्षामा मोबाइल चलाउन नदिनु"

प्र.अ लाई प्युठान नगरपालिकाको निर्देशन-"शिक्षकहरूलाई कक्षामा मोबाइल चलाउन नदिनु"

राम बहादुर बिश्वकर्मा
प्युठान,निजी विद्यालको तुलनामा सामुदायिक विद्यालयको गुणस्तर अझै माथि उकास्न सकेको छैन।केही सामुदायिक विद्यालय निजी विद्यालय भन्दा अब्बल भएपनि प्राप्त नतिजा र गुणस्तर हेर्दा सामुदायिक विद्यालयभन्दा निजी विद्यालय नै अग्र पङ्क्तिमा आउछ।
सामुदायिक विद्यालयमा शिक्षकले अनुशासित भएर नपढाएकाले शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको धेरैको आरोप छ। समयमै विद्यालय नपुग्ने,विद्यालय समय अवधिभर नबस्ने,कक्षाकोठा भित्रै मोबाइल फोन उठाएर कुराकानी गर्ने जस्ता गुनासो आएपछि सोमबार प्युठान नगरपालिकाको सभाहलमा बसेको प्र.अ बैठकमा नगर शिक्षा शाखाले पालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक र कर्मचारीलाई विद्यालय समयमा मोबाइल फोन नचलाउने व्यवस्था गर्न प्रधानाध्यापकलाई निर्देशन दिएको हो।
नगरपालिकाका श्रोत ब्यक्ति बिष्णु पोख्रेलले बालबालिकाको पठन पाठन सम्बन्धि जनप्रतिनिधिबाट गुनासो आएको कारण विद्यालयका प्रधानाध्यापकसंग सरसल्लाह गरेर कक्षाकोठामा जाँदा मोवाइल प्रधानाध्यापकलाई बुझाउनु पर्ने निर्णय गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार खाजा खाने समयमा बाहेक शिक्षकले कक्षाकोठामा मोबाइल फोन चलाउन शिक्षकले पाउँदैनन।शिक्षक तथा कर्मचारीको मोबाइल फोन प्रधानाध्यापकले सुरक्षित साथ विद्यालयमा राख्ने प्रबन्ध मिलाउनुपर्ने छ।त्यस्तै नगरपालिकाका उप-मेयर देबेन्द्र बर्माका अनुसार अभिभावकहरुको गुनासो र नगर भित्रका केही विद्यालयमा अनुगमन गर्दा मोवाइलको अत्याधिक प्रयोगका कारण पुरै समय कक्षाकोठामा समय नदिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो। उप-प्रमुख बर्माले भन्नुभयो।-"अनुगमनका क्रममा केही शिक्षक कक्षाकोठामा पस्नेबित्तिकै  मोबाइलमा घण्टी बज्दो रहेछ,बाहिर निस्किएर मोबाइलमा कुरा  गर्दा पाँच-सात मिनेट त्यत्तिकै बिताउने समस्या देखेपछि बैठकमा प्र.अ हरुलाई यस्तो निर्देशन गरिएको हो।"

शैक्षिक गुणस्तर वृद्धिका रुपमा नगरपालिकाले शुरु गरेको यो कार्यप्रति सरोकार भएका व्यक्तिले प्रशंसा समेत गरेका छन।नगरपालिकाको सिको जिल्लाका अन्य स्थानीय तहले पनि गर्ने तयारीमा छन्।