सरुमारानीले गर्‍यो नीति तथा कार्यक्रमका लागि सुझाव संकलन

सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमका लागि बिहिवार सुझाव संकलन गरेको छ। आर्थिक वर्ष २०८१/८२ को योजना तर्जुमा गर्न सरुमानी गाउँपालिकाका सरोकारवाला निकायसँग छलफल गरि गाउँपालिकाले सुझाव संकलन गरेको हो।
सुझाव संकलनको क्रममा सहभागीहरुले गाउँपालिकाका जनप्रतिनिधिहरुलाई रचनात्मक सुझावहरु दिएका थिए।कृषि र पशु उपजको बजारीकरण ग्यारेण्टी,पकेट क्षेत्रको विस्तार,आर्थिक विकासको लागि आन्ताकि आम्दानी वृद्धि गर्न साझेदारीका कार्यक्रममा लगानी गर्ने, व्यावसायिक करलाई मात्र आम्दानी मान्ने नीति अन्त्य गर्नुपर्ने र विकासका काममा ध्यान दिनुपर्ने गरि वार्षिक नीति तथा कार्यक्रम तय गर्नुपर्ने सुझाव संकलनमा सहभागीहरुले सुझाव दिए।
गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत देबिराम पाठकले पालिकाको चालु आर्थिक वर्षका वार्षिक गतिविधि र आगामी आर्थिक वर्षमा गर्न सकिने सामान्य कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो।

तस्बिर :चालु आर्थिक वर्षका वार्षिक गतिविधि र आगामी आर्थिक वर्षमा गर्न सकिने सामान्य कार्यक्रमको बारेमा जानकारी गराउनु हुँदै प्रमुख प्रसासकिय अधिकृत देविराम पाठक 


सुझाव संकलन कार्यक्रममा सहभागीहरुलाई स्वागत गर्दै प्रमुख प्रसासकिय अधिकृत पाठकले स्थानीयवासीको सुझावकै आधारमा वार्षिक नीति तथा कार्यक्रम तय गर्ने उहाँको भनाई थियो।
आन्तरिक आम्दानी नहुँदा पालिकाको विकास निर्माणका कार्य प्रभावित भएको भन्दै बजेटका लागि पालिकाको आन्तरिक आम्दानी बढाउन तर्फ जोड दिनुपर्ने बताउनुभयो।उहाँले जनताको माग अनुसार बजेट विनियोजन गर्नका लागि स्थानीय तहको आन्तरिक स्रोत मजबुत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो।
गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले कार्यक्रममा महत्वपूर्ण सुझावहरु प्राप्त भएको बताउँदै समाजमा सकारात्क प्रभाव पर्ने तथा नागरिकको जनजिवन उकास्ने गरि नागरिकको भावनालाई समेटेर नै पालिकाले नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

तस्बिर : नागरिकको जनजिवन उकास्ने गरि नागरिकको भावनालाई समेटेर नै पालिकाले नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुहुदै उक्त  गाउँ  पालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्मा

 


गाउँपालिकाबासीको अपेक्षा धेरै तर पालिकाको स्रोतसाधन सीमित भएकोले सोच अनुसारको काम गर्न समस्या रहेको अध्यक्ष बिश्वकर्माको भनाई थियो। आगामी वर्षको नीति,कार्यक्रम तथा बजेटमा कृषि, शिक्षा,स्वास्थ्य लगायतका क्षेत्रलाई महत्व दिँदै दीर्घकालिन हितका योजना बनाउने उहाँले उल्लेख गर्नुभयो। 
‘सुझावहरु कार्यान्वयन योग्य र विकासका लागि उत्तम छन्’,उहाले भन्नुभयो,“हामीले वार्षिक नीति तथा कार्यक्रममा अधिकांश सुझाव समेट्ने छौं ।” गाउँपालिका अध्यक्ष बिश्वकर्माले सरुमारानी गाउँपालिकाको विकासका लागि आफुहरु सदैव दत्तचित्त रहेर काम गरिरहेको बताउनुभयो। 
बहुउद्देश्यीय सभाहल बड्डाँडामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष बसन्ता खडका,राजनीतिक दलका प्रतिनिधिहरू,वडा अध्यक्ष ,कार्यपालिका सदस्यहरू,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, प्र.अ.हरू,सहकारी संस्थाका प्रतिनिधि,गाउँपालिकाका विभिन्न विकास समितीका संयाेजक,युवा क्लवका प्रतिनिधि,महिला स्वास्थ्य स्वयम् सेविकाहरू लगायतकाे उपस्थितिमा सन्चालन भएको कार्यक्रमको सन्चालन प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्यले गर्नुभएको पालिकाका आइटि सिवराज न्यौपानेले जानकारी दिनुभयो ।