बजेट निर्माणमा प्यूठानका योजनालाई प्राथमिकता दिँदै सांसद थापा

बजेट निर्माणमा प्यूठानका योजनालाई प्राथमिकता दिँदै सांसद थापा

प्यूठान,अहिले मुलुक बजेट निर्माणको चरणमा अघि बढेको छ । संघीय सरकारले बनाउने बजेट सम्वन्धि विभिन्न चरणका छलफल तथा परामर्श तीव्र रुपमा चलिरहेको छ।प्यूठानबाट प्रतिनिधिसभामा निर्वाचित सांसद सूर्य थापा अहिले विभिन्न छलफल तथा परामर्शमा व्यस्त हुनुहुन्छ ।
संसदको अर्थ समितिका सदस्य समेत रहनुभएका थापाले बजेटका सम्वन्धमा सुझाव र परामर्श लिने क्रम जारी रहेको बताउनुभयो।विभिन्न चरणको छलफलमा विज्ञ देखी अरु क्षेत्रबाट सुझावहरु आइरहेको उहाँको भनाई छ । प्राप्त सुझावहरुको अध्ययन र विश्लेषण गरि समितिले अर्थमन्त्रीलाई लिखित रुपमा पेश गर्ने सांसद थापाले जानकारी दिनुभयो ।प्यूठानका योजनाको लागि पहल प्रतिनिधिसभा सदस्य थापाले प्यूठानका योजनाहरु बजेट तथा कार्यक्रममा समेट्नका लागि पहल गर्दै आएको बताउनुभएको छ । केहि समय जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएका थापाले संघीय सरकार मार्फत हुने ठूला योजना अगाडी बढाउन आफूले पहल गर्दै आएको बताउनुभएको हो।
बाग्दुला–भिमगिठे सडक निर्माण, भालुवाङ–प्यूठान सडक डबल लेन,चाल्नेटार विमानस्थल निर्माण,नौमुरे जलविद्युत, लुंग्री माडी सिंचाइ लगायतका योजनालाई प्राथमिकता दिएर अघि बढाउन पहल भैरहेको बताउनुभयो ।
सांसद थापाले प्यूठान जिल्लालाई आगामी आर्थिक वर्षमा पूर्ण रुपमा विद्युतीकरण भएको जिल्ला घोषणा गर्ने कार्यक्रम अघि बढाउन लागिएको बताउनुभयो।