राम बहादुर बिश्वकर्मा
प्युठान,सदियौँदेखि जरा गाढेर रहेको जातीय भेदभाव नष्ट गर्न सामुहिक पहलको खाँचो रहेको प्युठान नगरपालिकाका उप मेयर देबेन्द्र बर्माले बताए छन्।
५९ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय उन्मूलन दिवस (मार्च २१), चैत ८ मा आयोजित कार्यक्रममा बोल्दै बर्माले जातीय विभेदको जरो उखेल्न दलित र गैरदलित दुवैको सामुहिक पहलको खाँचो रहेको तर्क गरेका हुन्।
समग्र दलित समुदायको बिकासका लागि भर्खरै मात्र दलित ससक्तिकरण ऐन लिएको जानकारी गराउदै जातीय छुवाछुतबाट पीडित दलितभित्रै व्याप्त अन्तरविभेद देखिनु ठिक नभएको भन्दै जातिय विभेद अन्त्यका लागी आफैबाट सुरुवात गर्नुपर्ने बताए।
हरेक अभियानमा दलित समुदायको महत्वपूर्ण योगदान रहेको भन्दै प्युठान नगरपालिकाका नगर प्रबक्ता सुमन श्रेष्ठले दलितलाई सम्मानका साथ यथोचित स्थानमा राख्नु पर्ने तर्क गरे।
समाजमा कुनै प्रकारको विभेद हुँदा एउटा समुदायलाई मात्र नभएर सबैलाई असर पर्ने उनको बुझाई छ। 'जातीय विभेदले कुनै एउटा जातलाई असर पर्ने होइन', प्रबक्ता श्रेष्ठले भने 'यो अमानवीय कुरा हो,नयाँ पुस्ताले यसलाई खास ध्यान दिएका छैनन् तर पुरानो पुस्ताको सोच परिवर्तन गर्न आबश्यक छ।'
पहिलाको तुलनामा अहिले छुवाछुत जनस्तरबाटै विस्तारै हट्दै गएको उनलाई लागेको छ।'यो अमानवीय कुरा हो,गम्भीर मानवअधिकार उल्लङ्घनको विषय हो।'कानुन पर्याप्त मात्रमा बनेका छन् तर कार्यान्वयन पूर्णरूपमा गर्न जरुरी छ।'ग्रामीण भेगमा छुवाछुतवादी मानसिकताले जरो गाडेर बसेको हुँदा छिटो परिवर्तन हुन कठिनाइ भएको समेत उनको ठहर छ।
प्युठान नगर पालिकाका कार्यपालिका सदस्य तथा नेपाल दलित मुक्ति मोर्चाका केन्द्रिय सचिबालय सदस्य सुनिल सापकोटालाई पहिलाका तुलनामा जातीय विभेदका घटना न्यूनीकरण हुँदै गएको अनुभव छ। 'जातीय विभेदमा न्यूनीकरण भएको छ', सापकोटाले भने,'दलित समुदायले चाहना गरेको वा सोचेअनुरूप भने अझै भएको छैन,विभेद घटेको छ तर अपेक्षाकृत रूपमा घट्न सकेको छैन।'सधैँ जातीय विभेदका घटनाले दलित समुदायलाई त्रसित बनाएको उनको बुझाई छ। 'पहिला दलितमाथिको उत्पीडन पीडा बाहिर आउँदैनथ्यो',उनले भने,'आज दलित सुरक्षित हुने अवस्था आएको छ,जुन सकारात्मक कुरा हो।'
प्युठान नगरपालिका दलित संजाल र जिल्लामा क्रियाशिल राजनीतिक दलका भात्री संगठनको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका निबर्तमान अध्यक्ष खुम बहादुर परियारको अध्यक्षता,नेपाल दलित मुक्ति मोर्चाका जिल्ला सचीव सान्तराज नेपालीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्युठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारी,नेपाल दलित मुक्ति संगठन केन्द्रिय सदस्य खेम सुनार,दलित पत्रकार संघ प्युठानका अध्यक्ष, प्युठान नगरपालिकाका १० वटै वडाका अध्यक्ष लगायतको सहभागीता रहेको थियो।
यसैबीच उक्त अबसरमा नगरका १० वटै वडा बाट छनोट गरिएका १/१ जना बिपन्न दलित जेहेन्दार बिध्यार्थिलाई स्टेस्नरी सामाग्री समेत प्रदान गरिएको थियो।
यो दिवस,सन् १९६० को दशकमा ल्याटिन अमेरिकी मुलुुकमा गोरा शासकहरूद्वारा लादिएको उपनिवेशवाद,जातिभेद तथा रङविरोधी संघर्षमा मारिएकाहरूको सम्झनामा मनाइन्छ। संयुक्त राष्ट्रसंघको महासभाले सन् १९६६ मा २१ मार्चलाई‘अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवस’का रूपमा मनाउन अन्तर्राष्ट्रिय जगतलाई आह्वान गरेको थियो ।
नेपालमा सन् २००१ देखि यो दिवस मनाईंदै आएको छ।नेपालले सन् १९७१ मा यसलाई पक्ष राष्ट्रको रुपमा अनुमोदन गरेको थियो । २०६२/०६३ मा लोकतन्त्र बहाली भएपछि २०६३ साल जेठ २१ मा पुन:स्थापित प्रतिनिधिसभाको बैठकले नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गर्यो। त्यसको पाँच वर्षपछि २०६८ जेठ १० गते ‘जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐन,२०६८’ संसदबाट पारित भएको थियो।
जातीय विभेद गर्नु कानुनतः दण्डनीय भएपनि व्यावहारिक रूपमा कानून कार्यान्वनयन फितलो हुँदा दलित समुदायले विभेद खेपिरहेका छन्।
प्रतिक्रिया राख्नुहोस्