राष्ट्रिय जागरण अभियानमार्फत जनतामाझ पुग्दै नेकपा,प्यूठानमा उद्घाटन

राष्ट्रिय जागरण अभियानमार्फत जनतामाझ पुग्दै नेकपा,प्यूठानमा उद्घाटन

प्यूठान,नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय जागरण अभियानलाई जिल्लास्तरमा अघि बढाउँदै प्यूठानमा उद्घाटन गरेको छ।सोमबार विजुवारस्थित सहिद प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममार्फत पार्टीले अभियानको सुरुवात गरेको हो।
अभियान उद्घाटनका क्रममा नेताहरूले संविधान,लोकतन्त्र र राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धिको रक्षा आजको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्।उनीहरूले राजनीतिक परिवर्तनलाई जोगाउन र त्यसका उपलब्धिलाई जनतासम्म पुर्‍याउन पार्टी जनतामाझ जानुपर्नेमा जोड दिएका छन्।पार्टीका जिल्ला इन्चार्ज प्रभात के.सी को अध्यक्षता तथा केन्द्रीय सदस्य नारायणप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरूले जनताको सहभागिता र समर्थनबिना राजनीतिक उपलब्धिको संरक्षण सम्भव नहुने धारणा राखे।जनतामा राजनीतिक चेतना अभिवृद्धि गर्दै परिवर्तनका उपलब्धिबारे बुझाउनु अभियानको महत्वपूर्ण पक्ष रहेको उनीहरूको भनाई थियो।
कार्यक्रममा नेकपाका नेता पितबहादुर महतरा क्षेत्री,कृष्ण अधिकारी (प्रकाश),नमराज अधिकारी (रोशन),कृष्ण रायमाझी लगायतले सम्बोधन गरेका थिए।त्यस्तै,उद्घाटन कार्यक्रममा विभिन्न नेताहरू महावीर राना,मिलन एमसी लगायतको आतिथ्यता रहेको कार्यक्रममा उमा शर्मा अधिकारीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रमको सञ्चालन बुद्ध बस्नेतले गरेका थिए।