राम बहादुर बिश्वकर्मा
प्यूठान,खेलमैदानमा प्रतिस्पर्धा थियो,खेलाडीमा जितको हुटहुटी र दर्शकमा रोमाञ्चक खेल हेर्ने उत्साह। यही उत्साहबीच प्यूठानमा सम्पन्न विजयपथ कप खुला भलिबल प्रतियोगिताको उपाधि मगर समाज सरुमारानीले जितेको छ।
प्यूठान नगरपालिका–३ द्वारा आयोजित प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै मगर समाज सरुमारानीले उपाधि उचालेको हो। उपाधिसँगै टोलीले एक लाख रुपैयाँ नगद पुरस्कार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
प्रतियोगितामा नौबहिनी गाउँपालिकाको ग्रामीण विकास क्लब दोस्रो भएको छ भने प्यूठान नगरपालिका–५ को टोलीले तेस्रो स्थान हासिल गरेको छ।
विजुवारस्थित गणतान्त्रिक खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा जिल्लाका नौ स्थानीय तहबाट १० टोलीले सहभागिता जनाएका थिए। प्रतियोगितामा सहभागी टोलीबीच भएको प्रतिस्पर्धाले स्थानीयस्तरमा भलिबल खेलप्रतिको आकर्षण र सम्भावनालाई थप उजागर गरेको छ।
प्रतियोगिता समापन गर्दै प्यूठान नगरपालिका–३ का वडाध्यक्ष सुमनराज श्रेष्ठले खेलकुदलाई मनोरञ्जनमा मात्र सीमित नराखी युवाको भविष्यसँग जोड्नुपर्ने बताए। स्थानीय खेलाडीको क्षमता पहिचान गर्ने,उनीहरूलाई प्रतिस्पर्धाको अवसर दिने र खेलकुदकै माध्यमबाट आत्मनिर्भर बन्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनको भनाइ थियो।
उनले प्यूठानलाई खेलकुदको हबका रूपमा विकास गर्ने सोचसहित वडाले खेल गतिविधिलाई प्राथमिकता दिएको बताए। यस्ता प्रतियोगिताले नयाँ खेलाडी जन्माउन र खेल क्षेत्रमा युवाको आकर्षण बढाउन सहयोग पुग्ने उनको विश्वास छ।
वडाध्यक्ष श्रेष्ठकै अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नगरप्रमुख विष्णुबहादुर योगी प्रमुख अतिथिका रूपमा सहभागी थिए।
विजयपथ कपले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा देखाउने मञ्च दिएको छ। एउटा टोलीले उपाधि जितेर फर्किँदा अन्य टोलीले अनुभव र प्रतिस्पर्धाको उर्जा बटुलेका छन्। यस्ता अवसरको निरन्तरता नै स्थानीय खेलकुदको विकास र नयाँ प्रतिभाको उदयका लागि महत्वपूर्ण आधार बन्न सक्छ।

प्रतिक्रिया राख्नुहोस्