आफ्नै घाउ बोकेर अरूको जीवन बचाउँदै सन्दीप,भावुक बनिन् गुल्मेली

राम बहादुर बिश्वकर्मा 
प्युठान,जीवनले सबैलाई एउटै अवसर र परिस्थिति दिँदैन।कसैको यात्रा सहज हुन्छ त कसैले हरेक पाइला संघर्षसँगै चाल्नुपर्छ।तर आफ्नै जीवनमा अनेकौँ अभाव र पीडा हुँदाहुँदै पनि अरूको दुःख महसुस गर्न सक्ने मन सबैसँग हुँदैन। आफ्नै पीडाभन्दा अरूको जीवनलाई महत्त्व दिने प्यूठान नगरपालिका–७, पुण्यखोलाका सन्दीप घर्ती यस्तै मानवीय संवेदनाले भरिएका युवा हुन्।२०७४ साल साउनमा भएको जेसीबी दुर्घटनामा उनले आफ्नो बायाँ खुट्टा गुमाए। दुर्घटनाले उनको जीवनको बाटो मात्रै बदलेन, परिवारले पनि ठूलो आर्थिक र मानसिक संकट झेल्नुपर्‍यो।कमजोर आर्थिक अवस्थाका बाबजुद उपचारका लागि परिवारले सम्पत्ति बेच्नुपर्‍यो। त्यसपछि बुबा हेमराज घर्तीको ब्रेन ट्युमरका कारण उपचारकै क्रममा निधन भयो। बुबाको उपचारमा झन्डै २० लाख रुपैयाँ खर्च भएको थियो। एकपछि अर्को बज्रपातले परिवारलाई थिचिरहँदा सन्दीपको जीवन पनि संघर्षकै बीच अघि बढिरह्यो।
परिवारको जिम्मेवारी र जीविकोपार्जनका लागि उनी अहिले भारतको हरियाणामा काम गर्छन्।आफ्नै शारीरिक अवस्थासँग जुधिरहेका सन्दीपको पारिवारिक चिन्ता पनि कम छैन। पाँच वर्षीया छोरीको मुटुको भल्भमा समस्या देखिएपछि छ महिनाको उमेरमै शल्यक्रिया गरिएको थियो। पुनः समस्या देखिएपछि श्रीमती र छोरी अहिले थप उपचारका लागि काठमाडौंमा छन्।आफ्नै जीवनमा यति धेरै पीडा र जिम्मेवारी हुँदाहुँदै पनि सन्दीप अरूको जीवन बचाउने अभियानमा निरन्तर सक्रिय छन्।उनले अहिलेसम्म १८ पटक रक्तदान गरिसकेका छन्।पछिल्लो पटक शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र,भक्तपुरमा मिर्गौला प्रत्यारोपणको उपचार गराइरहेका प्यूठानकै भरत के.सी.लाई रगत आवश्यक परेको सामाजिक सञ्जालमा देखेपछि उनी रक्तदान गर्न पुगे।संयोगले त्यसबेला उनी गाउँबाट काठमाडौं आएका थिए।आफ्नै शारीरिक अवस्थालाई भन्दा अरूको जीवनलाई महत्त्व दिएर उनी अस्पताल पुगे।
रक्तदानपछि सन्दीपले सामाजिक सञ्जालमा लेखेका शब्दले उनको संघर्षसँगै मानवताप्रतिको गहिरो विश्वास झल्काउँछन्।उनले लेखेका छन्, “शरीर अपाङ्ग हुन सक्छ,तर सेवा गर्ने मन र मानवता कहिल्यै अपाङ्ग हुँदैन।” आफ्नो रगतले कसैको जीवन बच्न सक्छ, कुनै आमाको काख रित्तिनबाट जोगिन सक्छ र कुनै परिवारमा खुसी फर्किन सक्छ भने त्योभन्दा ठूलो सम्पत्ति अरू केही नहुने उनको भावना छ। आफूलाई महान् देखाउन नभई कसैको दुःखमा उपयोगी बन्न चाहेको उल्लेख गर्दै उनले रक्तदानलाई जीवन बचाउने सबैभन्दा सुन्दर मानवीय सेवाका रूपमा व्याख्या गरेका छन्।


सन्दीपको यही भावनात्मक अभिव्यक्ति लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठानको अध्यक्ष राजकुमारी "सानू गुल्मेली"ले पनि सामाजिक सञ्जालमा पढिन्। उनका शब्दले गुल्मेलीलाई भावुक बनायो। बाल्यकालदेखि नै सन्दीपलाई इमानदार र सामाजिक भावना भएको व्यक्तिका रूपमा चिनेकी उनी आफ्नै जीवनमा यति धेरै पीडा र चुनौती भोगेका व्यक्तिले अरूको जीवन बचाउन देखाएको तत्परताबाट प्रभावित छिन्।
गुल्मेलीका अनुसार दुर्घटनामा एउटा खुट्टा गुमाउनु सन्दीपका लागि जीवनकै ठूलो चोट थियो।तर त्यसले उनको हिम्मत, आत्मविश्वास र अरूलाई सहयोग गर्ने भावना कमजोर बनाउन सकेन। आफ्नै पीडालाई शक्तिमा बदल्दै अरूको दुःखमा साथ दिन सक्नु सामान्य कुरा नभएको उनी बताउँछिन्। “जीवनमा अनेकौँ उतारचढाव र चुनौती आउँछन्। तर ती चुनौतीसँग हार नमानी अघि बढ्नु महत्त्वपूर्ण हुन्छ। सन्दीपले आफ्नो जीवनमा ठूलो पीडा भोगे पनि अरूको जीवन बचाउन देखाएको तत्परता निकै भावुक बनाउने खालको छ। उनको सोच र कर्मले अरूलाई पनि मानवताको बाटोमा अघि बढ्न प्रेरित गर्नेछ,” गुल्मेलीको भाव छ।

सन्दीपले सामाजिक सञ्जालमार्फत भोजभतेरमा सयौँलाई खुवाउनुभन्दा आवश्यक परेकालाई रक्तदान गर्न आग्रह गर्दै आएका छन्। “भोज खाएको मान्छेले तपाईंलाई बिर्सन सक्छ, तर तपाईंको रगतले नयाँ जीवन पाएको परिवारले तपाईंको मानवता कहिल्यै बिर्सने छैन,” भन्ने उनको सन्देशले रक्तदानको महत्त्वसँगै मानवीय सेवाको गहिरो अर्थ पनि उजागर गर्छ।
भारतमा रहँदा पनि उनी विभिन्न समूहसँग जोडिएर रगतको अभाव हुन नदिन सहयोग गर्दै आएका छन्। आफूसँग ठूलो सम्पत्ति वा दिन सक्ने भौतिक उपहार नभए पनि आफ्नो रगतबाट कसैको जीवन बचाउन सक्नु नै आफ्नो सबैभन्दा ठूलो उपलब्धि भएको उनी ठान्छन्। शरीरले साथ दिएसम्म मानव सेवामा लागिरहने उनको संकल्प छ।सन्दीपको कथा केवल एउटा व्यक्तिको संघर्ष र रक्तदानको प्रेरणादायी प्रसङ्ग मात्रै होइन,अपाङ्गता भएका व्यक्तिलाई अवसर,सम्मान,उपचार र रोजगारी उपलब्ध गराउने समाज तथा राज्यको दायित्वको स्मरण पनि हो। शारीरिक अवस्थाका आधारमा कसैको क्षमता र योगदानलाई सीमित गरेर हेर्नु हुँदैन भन्ने सन्देश उनको जीवनले दिएको छ।
आफ्नै पीडाले थिचिएको जीवनमा पनि अरूको जीवन बचाउने चाहना बोकेर अघि बढिरहेका सन्दीपले एउटा गहिरो सन्देश दिएका छन,शरीरमा आएको अपूर्णताले मानवीय भावना र सेवाको क्षमतालाई कहिल्यै कमजोर बनाउन सक्दैन।