सराय नाचमार्फत जुम्रीको पुरानो विरासतलाई निरन्तरता दिँदैछौँ : सुमनराज श्रेष्ठ

सराय नाचमार्फत जुम्रीको पुरानो विरासतलाई निरन्तरता दिँदैछौँ : सुमनराज श्रेष्ठ

राम बहादुर बिश्वकर्मा 
प्यूठान,पुर्खाले सुरु गरेको परम्परा जोगाउनु, ओझेल पर्दै गएको संस्कृतिलाई पुनः जीवन्त बनाउनु र त्यसलाई नयाँ पुस्तासम्म पुर्‍याउनु सजिलो काम होइन। तर, जुम्रीको ऐतिहासिक सराय नाचलाई व्यवस्थित गर्दै पुरानो सांस्कृतिक विरासतलाई निरन्तरता दिने प्रयासमा जुट्नुभएका प्यूठान नगरपालिका–३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठ यसलाई आफ्नो नेतृत्वमा अघि बढाउन पाउँदा गौरवान्वित हुनुहुन्छ।
“जुम्रीमा ओझेल पर्दै गएको सराय नाच तथा सांस्कृतिक परम्परालाई वडा कार्यालयको अभिभावकत्वमा व्यवस्थित रूपमा अघि बढाउन पाउँदा गौरवान्वित भएको छु। आगामी वर्षमा यसलाई अझ व्यवस्थित र भव्य बनाउने प्रतिबद्धता व्यक्त गर्दछु,” श्रेष्ठले भन्नुभयो।
ऐतिहासिक कोजाग्रत पूर्णिमा सराय मेला तथा विविध सांस्कृतिक कार्यक्रम–२०८३ को उद्घाटनका क्रममा श्रेष्ठले परम्परागत कला, संस्कृति र मौलिक पहिचान पछिल्लो पुस्ताका लागि अमूल्य सम्पत्ति भएको बताउनुभयो। उहाँले जुम्रीको पुरानो विरासतलाई कायम राख्नु उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै सराय नाचलाई व्यवस्थित बनाउने प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
श्रेष्ठका अनुसार विगतदेखि सामान्य रूपमा सञ्चालन हुँदै आएको सराय नाचलाई आफू वडा अध्यक्षमा निर्वाचित भएपछि वडा कार्यालयको योजना, पहल, अभिभावकत्व तथा संरक्षकत्वमा थप व्यवस्थित बनाउने प्रयास गरिएको हो। सराय नाचसँगै विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर जुम्रीको मौलिक कला, संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो।
उहाँले सराय नाचसहितको ऐतिहासिक मेला सुरु गर्न महत्वपूर्ण भूमिका खेल्नुभएका तत्कालीन जनप्रतिनिधि गिरीबहादुर खड्कालाई उच्च सम्मानसहित स्मरण गर्नुभयो। पहिलेका पुस्ताले सुरु गरेको सांस्कृतिक परम्परालाई अहिलेको पुस्ताले निरन्तरता दिनु आफ्नो जिम्मेवारी भएको उहाँको भनाइ छ।
“हामीले आफ्नो संस्कृति र परम्परालाई जोगाउनुपर्छ। पुर्खाले सुरु गरेको विरासतलाई बीचमै हराउन दिनु हुँदैन। त्यसलाई व्यवस्थित गर्दै भावी पुस्तासम्म पुर्‍याउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो,” श्रेष्ठले भन्नुभयो।
उहाँका लागि सराय नाच एउटा सांस्कृतिक कार्यक्रम मात्र होइन, जुम्रीको इतिहास, पहिचान र परम्परासँग जोडिएको सम्पदा हो। त्यसैले यसलाई एक दिनको उत्सवमा सीमित नराखी हरेक वर्ष अझ व्यवस्थित रूपमा सञ्चालन गर्ने सोच रहेको उहाँले बताउनुभयो।
स्थानीय कला र संस्कृतिको संरक्षणमा समुदायको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुने उल्लेख गर्दै श्रेष्ठले कार्यक्रम सफल बनाउन सहयोग गर्ने कलाकार,सराय नाच टोली, पञ्चेबाजा टोली,मेला व्यवस्थापन समिति, स्थानीय संघसंस्था, सञ्चारकर्मी तथा जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो।
जुम्री बसपार्कमा आयोजित कार्यक्रममा परम्परागत सराय नाच, पञ्चेबाजा तथा स्थानीय र राष्ट्रिय कलाकारका प्रस्तुतिहरू रहेका थिए। 
मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर के.सी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उमा शर्मा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको सञ्चालन अनुप मगर र रविन बि.क र हेमन्त पाठक ले गर्नुभएको थियो।