राम बहादुर बिश्वकर्मा
प्युठान,सरकारी सेवा लिनका लागि नागरिकले कार्यालय धाउनुपर्ने सामान्य अभ्यास हो। तर,उमेरले साथ नदिएका,हिँडडुल गर्न नसक्ने र अपाङ्गता भएका नागरिकका लागि त्यही कार्यालयसम्म पुग्नु पनि ठूलो चुनौती बन्न सक्छ।
कसैलाई सहारा लिएर हिँड्नुपर्छ,कसैलाई बाटो काट्नै कठिन हुन्छ।कतिपयका लागि घरबाट बाहिर निस्कनु नै जोखिमपुर्ण हुन्छ।यस्तो अवस्थामा सामाजिक सुरक्षा भत्ता नवीकरणजस्तो सामान्य प्रशासनिक प्रक्रिया पनि उनीहरूका लागि झन्झटिलो बन्न पुग्छ।
यही अवस्थालाई मध्यनजर गर्दै सरुमारानी गाउँपालिका-४ ले सेवाको परम्परागत शैलीमा केही फरक अभ्यास गरेको छ।वडा कार्यालयमा नागरिकलाई बोलाउनुको सट्टा वडा अध्यक्ष चिन्त सोमैको नेतृत्वमा जनप्रतिनिधि र कर्मचारी लाभग्राही नागरिककै घरदैलोमा पुगेका छन्।
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने ज्येष्ठ नागरिक,अशक्त तथा अपाङ्गता भएका लाभग्राहीको घरमै पुगेर नवीकरण गरिएको हो।
डाङसिङ,उपल्लो बड्डाडा र धनकोटमा गरी १४ जना लाभग्राहीको घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको वडा अध्यक्ष सोमैले बताउनुभयो।
सरकारको सेवा लिन कार्यालयसम्म पुग्नुपर्ने नागरिकको बाध्यता हटाएर सेवा नै नागरिकको घरसम्म पुर्याउने प्रयास भएको उहाँको भनाई छ।
घरको आँगनमा जनप्रतिनिधि र कर्मचारी देख्दा लाभग्राहीका लागि त्यो केवल एउटा सरकारी प्रक्रिया पूरा भएको क्षण थिएन।उनीहरूका लागि स्थानीय सरकार आफूहरूको अवस्था बुझ्न र समस्या सुन्न घरमै आइपुगेको अनुभुति पनि थियो।
सामाजिक सुरक्षा भत्ता धेरै नागरिकको जिवनयापनको महत्वपुर्ण आधार हो।विशेषगरी ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिका लागि नियमित रूपमा प्राप्त हुने यो रकम दैनिक आवश्यकताका लागि सहारा बन्ने गर्छ।तर,भत्ता पाउन आवश्यक नवीकरणको प्रक्रिया नै कठिन भयो भने त्यसको प्रत्यक्ष असर उनीहरूलाई नै पर्छ।
त्यसैले कागजमा मात्र सेवा उपलब्ध गराउनु भन्दा नागरिकको अवस्था बुझेर आवश्यकताअनुसार घरदैलोमै सेवा पुर्याउनु स्थानीय सरकारको जिम्मेवारीसँग जोडिएको विषय हो।
वडा अध्यक्ष सोमै पनि अशक्त नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन वडा निरन्तर सक्रिय रहने बताउनुहुन्छ।‘असक्तहरूको सेवामा निरन्तर स्थानीय सरकार अगाडि बढिरहेको छ,’उहाँले भन्नुभयो।
विकासका ठुला योजना र भौतिक संरचनासँगै नागरिकको दैनिक जिवन सहज बनाउने साना-साना कामले पनि सरकारप्रतिको भरोसा बढाउँछन्।ज्येष्ठ नागरिकको घरमा पुगेर भत्ता नवीकरण गरिदिनु त्यस्तै एउटा सानो तर अर्थपुर्ण प्रयास हो।
प्रतिक्रिया राख्नुहोस्