सिता बि.क
प्युठान,पहाडी भेग,बिहान–साँझ खेतबारी,उकालो–ओरालो पैदल यात्रा,सीमित स्रोत–साधन र संघर्षपूर्ण परिवेश।तर यिनै अवस्था बिच पनि जब सरुमारानी गाउँपालिकाका युवाहरूले चिकित्सा र इन्जिनियरिङ जस्ता कठिन र प्रतिस्पर्धात्मक विषयमा पूर्ण छात्रवृत्तिमा राष्ट्रिय सफलता हासिल गर्छन्,त्यो केवल व्यक्तिगत उपलब्धि मात्र हुँदैन त्यो सम्पूर्ण गाउँपालिकाको साझा उत्सव बन्छ। यस्तै उत्सवमय क्षणका बिच सरुमारानी गाउँपालिकाले आफ्ना होनहार सन्तानलाई ऐतिहासिक रूपमा अभिनन्दन गरेको छ।
२०८२ सालमा राष्ट्रियस्तरका प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्ने विद्यार्थीलाई नगद सहित सम्मान गर्दै गाउँपालिकाले “शिक्षा नै समृद्धिको आधार हो”भन्ने सन्देश व्यवहारमै उतारेको छ। ग्रामीण भूगोलबाटै पनि उच्च लक्ष्य पूरा गर्न सकिन्छ भन्ने विश्वासलाई यस कार्यक्रमले अझ मजबुत बनाएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (NAMS) द्वारा सञ्चालित MBBS प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा सफल वडा नं. ४ धनकोटका दुर्गा सोमै मगर र वडा नं. ३ चाभा कटौंजेका शिशिर राना मगर कार्यक्रमका केन्द्रमा रहे।कठिन पाठ्यक्रम,लामो तयारी र निरन्तर मेहनतको प्रतिफल स्वरूप उनीहरूले हासिल गरेको सफलता आज सरुमारानीका हजारौँ विद्यार्थीका लागि सपनाको ढोका खोल्ने प्रेरणा बनेको छ।
त्यस्तै,पोखरा विश्वविद्यालयले लिएको Bachelor of Computer Engineering र Bachelor of Civil Engineering प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा छनोट भएका वडा नं. ४ बड्डाँडाका योगेन्द्र सारु मगर र वडा नं.४ छतिवन दमारका रमेश राना मगरको सफलता पनि कम प्रेरणादायी छैन। प्रविधि र पूर्वाधार विकाससँग जोडिएका यी विषयमा गाउँपालिकाका विद्यार्थीको उपस्थिति भविष्यमा स्थानीय विकासमा दक्ष जनशक्तिको सुनिश्चितताको संकेतका रूपमा हेरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य धनबहादुर रायमाझीले ग्रामीण परिवेशबाटै चिकित्सा र इन्जिनियरिङजस्ता कठिन विषयमा सफलता हासिल गर्नु असाधारण उपलब्धि भएको बताउनुभयो।उहाँले यस्ता प्रतिभालाई पहिचान,सम्मान र संरक्षण गर्नु राज्य र स्थानीय तहको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले शिक्षा क्षेत्रमा गरिएको लगानी दीर्घकालीन समृद्धिको मेरुदण्ड भएको स्पष्ट पार्दै प्रतिभाशाली तथा मेहनती विद्यार्थीलाई आगामी दिनमा पनि गाउँपालिकाले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपाध्यक्ष बसन्ता खड्का तथा प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्कालगायतले संयुक्त रूपमा प्रत्येक विद्यार्थीलाई जनही रु. १०/१० हजार नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो। सम्मान ग्रहणपछि विद्यार्थीहरूले गाउँपालिका,विद्यालय, शिक्षक र अभिभावक प्रति कृतज्ञता व्यक्त गर्दै समाजप्रति जिम्मेवार बन्ने अठोट व्यक्त गरेका थिए।
खड्गेश्वरी माध्यमिक विद्यालय,दर्भानमा सम्पन्न पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको पुरस्कार वितरण समारोहको अवसरमा आयोजना गरिएको यस कार्यक्रममा शिक्षा र खेलकुदलाई एउटै मञ्चमा जोडिएको थियो। यसले शारीरिक र बौद्धिक विकास सँगसँगै अघि बढ्नुपर्ने सन्देश स्पष्ट रूपमा दिएको सहभागीहरूको भनाई थियो।
कार्यक्रममा गाउँपालिका कार्यपालिका सदस्य,वडा सदस्य,विद्यालयका प्रधानाध्यापक,शिक्षक,विद्यार्थी तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।सम्मानित विद्यार्थीहरूलाई हेर्दै अन्य विद्यार्थीहरूका आँखामा भविष्यका सपना झल्किएका देखिन्थे।
शिक्षा,खेलकुद र प्रतिभा पहिचानलाई समान प्राथमिकतामा राख्दै अघि बढेको सरुमारानी गाउँपालिका आज आफ्नै गाउँका सन्तानबाट सम्भावनाको उज्यालो भविष्य कोर्दै अघि बढिरहेको स्पष्ट देखिएको छ।
प्रतिक्रिया राख्नुहोस्