प्युठानमा एघार हजार बढी बालबालिकालाई आईपीभी खोप लगाइदै

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठानका ११  हजार ५६४ जना बालबालिकालाई आईपीभी खोप लगाइने भएको छ। 
जेठ १३ देखि २६ गतेसम्म देशव्यापीरुपमा सञ्चालन हुन लागेको आईपीभी खोप अभियान अन्तर्गत प्युठानमा ११ हजार ५६४ बालबालिका लाभान्वित हुन लागेका हुन् ।
राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत  प्युठानका ९ वटै स्थानीय तहका बालबालिकालाई पोलियो भाइरस विरुद्दको आईपीभी खोप लगाईने जनस्वास्थ्य कार्यालय प्युठानका प्रमुख हेमराज पाण्डेले बताउनुभयो।
पाण्डेका अनुसार पोलियोविरुद्ध ०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि ०७३ देखि ०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका उक्त खोपबाट बञ्चित भएकाले यस पटक खोप अभियान सञ्चालन गरिएको हो। 
०७० चैत १३ मा दक्षिण एशियाका सबै मुलुकमा पोलियोको बिरामी शून्य अवस्थामा रहेको घोषणा गरिएको थियो । तर पाकिस्तान र अफगानिस्तानमा पोलियोका बिरामी देखा परिरहेकाले ती देशबाट पोलियो संक्रमण हुन सक्ने संभावना भएकाले खोपलाई निरन्तरता दिनुपरेको हो।
खोप अभियान अन्तर्गत २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका ५ देखि ८ वर्ष उमेर समूहका ११ हजार ५६४ बालबालिकालाई मात्र आईपीभी खोप लगाइने लक्ष्य राखिएको छ।  
पोलियो रोग जुनसुकै उमेर समुहकालाई पनि लाग्छ। नेपालमा पछिल्लो २०६७ भदौ १४ मा संक्रमण देखापरे पनि हालसम्म शून्य छ ।  
पोलियो भएकामध्ये ३ प्रतिशतलाई पक्षघात हुने र त्यसको उपचार नभएकाले संक्रमण हुनबाट जोगाउन बालबालिकालाई खोप दिने गरिन्छ ।
बिजुवारमा मंगलबार आईपिभी खोप अभियानबारे खोप समन्वय समिति र पत्रकारसँग छलफल गरि जानकारी गराइएको हो। जिल्ला समन्वय समितिका प्रमुख धर्म सि ले जिल्लामा खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि,कर्मचारी,प्रहरी प्रशासन र पत्रकारहरुको सहयोग आवश्यक रहेको बताउनुभयो।
त्यस्तै प्रमुख आतिथी प्युठान नगरपालिका नगर प्रमुख बिष्णु योगिले रोग प्रतिरोधात्मक क्षामता बढाउन खोप अतिनै आवश्यक रहेको बताउदै सबै विद्यालयमा खोप अभियानबारे पत्रकारले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन सहयोग गर्न अनुरोध गर्नुभयो।  
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले अभियान सफल पार्न  सबैको साथ सहयोग आबश्यक हुने भन्दै प्रसासनको तर्फ बाट हुने जुनसुकै सहयोग पुर्याउन आफू प्रतिबद्ध हुने बताउनुभयो ।