राम बहादुर बिश्वकर्मा
प्यूठान,कहिलेकाहीँ जीवनले मानिसलाई यस्तो मोडमा ल्याउँछ,जहाँ सपनाभन्दा चुनौतीहरू ठूला देखिन्छन्।तर त्यही चुनौतीलाई अवसरमा बदल्ने साहस गरेकी एक प्रेरणादायी पात्र हुन् रेखा बसेल। प्यूठान नगरपालिका–८,खप्रेङ्गखोलामा सञ्चालन भइरहेको भाग्यरेखा गार्मेन्ट उद्योगकी मालिक रेखाले आफ्नो जीवनका कठिनाइहरूलाई सफलताको बाटो बनाएकी छन्।
सानै उमेरमा विवाहपछि सुरु भएको उनको जीवन सहज थिएन। सानो परिवार,सीमित आम्दानी र ठूलो जिम्मेवारीबीच उनले आफ्नो भविष्य आफैं बनाउने निर्णय गरिन्।आर्थिक अभावले घर मात्र होइन,श्रीमानको पढाइ पनि उनको जिम्मेवारी बन्यो। त्यही क्रममा उनले ससुराबाट जुत्ता सिलाउने काम सिकिन् र सियो–धागोको सहारामा आफ्नो जीवनको नयाँ अध्याय सुरु गरिन्।
दिन–रातको अथक मेहनतले उनले घरको जिम्मेवारी मात्र पूरा गरिनन्,श्रीमानलाई ब्याचलर तहसम्म पढाउन पनि सफल भइन्।“जुत्ता सिलाएको हेरेर आफैंले पनि सिकेँ र त्यसैबाट कमाएर पढाएँ,” रेखा भन्छिन्। यो यात्राले देखाउँछ–साना कामहरू पनि ठूला सपनाहरूको आधार बन्न सक्छन्।
धेरैले उनलाई सामान्य काम गर्ने महिला मात्र ठाने,तर रेखाले आफ्नो कामलाई कहिल्यै सानो ठानिनन्। जुत्ता सिलाउने सानो आम्दानीले उनले ठूलो जिम्मेवारी सम्हालिन् र समयसँगै आत्मविश्वास बढाउँदै आफ्नै उद्यम सुरु गर्ने निर्णय गरिन्। यही सोचले उनलाई उद्यमशीलताको बाटोमा अघि बढायो।
समयसँगै उनले आफ्नो सीपलाई परिमार्जन गर्दै अघि बढिन्। विभिन्न समयमा आयोजित सर्व नेपाल र ग्रामीण आर्थिक विकास मञ्च मार्फत लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत सिलाई–कटाई तालिमले उनको दक्षता र आत्मविश्वासमा थप निखार ल्यायो। सिकेको सीपलाई व्यवस्थित रूपमा प्रयोग गर्दै उनले काम गर्ने शैलीलाई अझ व्यावसायिक बनाइन्। यही सीप–परिवर्तन,अनुभव र दृढ आत्मविश्वासले उनलाई आफ्नै व्यवसाय सुरु गर्न प्रेरित गर्यो,जसले उनको जीवनलाई आत्मनिर्भरता र सफलताप्रतिको नयाँ बाटोमा अघि बढायो।
२०६५ सालमा ४० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको भाग्य रेखा गार्मेन्ट उद्योग आज प्यूठानमा स्थिर रूपमा सञ्चालन भइरहेको छ। यो उद्योग केवल व्यवसाय मात्र होइन,धेरैका लागि रोजगारीको स्रोत पनि बनेको छ। यस उद्योगले नियमित रूपमा १४ जनालाई रोजगारी दिँदै आएको छ। उद्योगबाट सबै खर्च कटाएर मासिक करिब ५० हजार रुपैयाँ बचत हुने गरेको रेखा बताउँछिन्।
तस्बिर : यी हुन भाग्यरेखा गार्मेन्ट उद्योग संचालक रेखा बसेल
समयसँगै,सानो सीपले उनलाई ठूलो उचाइमा पुर्यायो। जुत्ता सिलाउने कामबाट अनुभव र आत्मविश्वास सँगाल्दै उनले आफ्नै उद्योग स्थापना गरिन्।आज यो उद्योग स्थानीय क्षेत्रमा पहिचान बनाइसकेको छ, जहाँ उनले अन्य महिलाहरूलाई पनि रोजगारी दिँदै महिला सशक्तिकरणको उदाहरण प्रस्तुत गरिरहेकी छन्।
रेखाले उद्यम सञ्चालनसँगै आएका चुनौतीहरू बजारको प्रतिस्पर्धा,कच्चा पदार्थको अभाव र व्यवस्थापनको कठिनाइ लाई उनले आफ्नो दृढ इच्छाशक्तिले सामना गरेकी छन्।कहिल्यै हार नमानेकी रेखा आज सफल उद्यमीको रूपमा स्थापित भएकी छन्।
उनको व्यक्तिगत जीवन पनि जिम्मेवारीले भरिएको छ। उनका श्रीमान अहिले वैदेशिक रोजगारीमा छन् ।एक छोरी स्टाफ नर्स बन्ने अध्ययनमा छिन् भने एक छोरा कक्षा ४ मा अध्ययनरत छन्।आफ्ना सन्तानको उज्यालो भविष्यका लागि रेखा अझै पनि निरन्तर मेहनत गरिरहेकी छन्।
उनको जीवनले समाजलाई“अवसरको पर्खाइमा बस्ने होइन,अवसर आफैं सिर्जना गर्ने साहस गर्नुपर्छ।”सानो सुरुवात,ठूलो सपना र अटूट मेहनतले कुनै पनि व्यक्तिलाई सफलता दिलाउन सक्छ भन्ने उदाहरण रेखा बसेलको जीवनले देखाएको छ।रेखाको जीवन केवल सफलताको कथा होइन,यो संघर्ष,धैर्य र आत्मविश्वासको ज्वलन्त उदाहरण हो।
प्रतिक्रिया राख्नुहोस्