प्यूठान डान्स आइडल-ग्रुप (ए) बाट १५ जना छनौट

प्युठान,स्वर्गद्वारी प्यूठान पाँचौं महोत्सवमा जारी प्यूठान डान्स आइडल प्रतियोगितामा ग्रुप (ए) अन्तर्गत शुक्रवार १५ जना प्रतियोगी छनौट भएका छन्।
२८ जना प्रतियोगी मध्ये १५ जना प्रतिष्पर्धीहरुलाई अघि बढाइएको डान्स आइडल व्यवस्थापन समितिका संयोजक प्यार अलि खानले जानकारी गराए।
'जिल्लाभरबाट करिब ५ सय जना नृत्य प्रतिभा प्रथम चरणको अडिसनमा सहभागी भएका थिए।' आइडल संयोजक खानले भने, 'उत्कृष्ठ नृत्य प्रतिभा छनौट गर्दै आइडल निकाल्ने छौं।'  ग्रुप (ए) अन्तर्गत सरुमारानी, माण्डवी, ऐरावती, स्वर्गद्वारी, गौमुखी, मल्लरानी र नौवहिनी गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने प्रतियोगीहरुले शुक्रबार आफ्नो प्रस्तुति राखेका थिए। शनिबार ग्रुप (बि) अन्तर्गत प्यूठान नगरपालिका तथा झिम्रुक गाउँपालिकाका प्रतिस्पर्धीहरुले नृत्य प्रस्तुत गर्ने पालो रहेको छ।
आइडल विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, फर्स्ट रनरअपले ३३ हजार ३ सय ३३ रुपैयाँ तथा सेकेण्ड रनरअपले २२ हजार २ सय २२ रुपैयाँ ट्रफी प्रमाण पत्र प्राप्त गर्ने आइडल व्यवस्थापन समितिका सदस्य सुजल श्रेष्ठले बताए। उत्कृष्ठ १० प्रतियोगीलाई भोटिङ र निर्णायकको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने आइडल व्यवस्थापन समितिले जनाएको छ। प्यूठान डान्स आइडलमा सहभागी नृत्य प्रतिभाहरुको मूल्यांकन (जज) नृत्य निर्देशक साहिर केसी तथा बबिता बोहोराले गर्दै आएका छन्।