स्थानीय शासन सुधारमा सरूमारानीको नयाँ पहल : एलजिपिएस प्रशिक्षण सम्पन्न

स्थानीय शासन सुधारमा सरूमारानीको नयाँ पहल : एलजिपिएस प्रशिक्षण सम्पन्न

राम बहादुर बिश्वकर्मा
प्युठान,सरूमारानी गाउँपालिकाले स्थानीय शासनको गुणस्तर र कार्यसम्पादन सुधार्न एक महत्वपूर्ण पहल गर्दै स्थानीय शासन कार्य सम्पादन मूल्यांकन प्रणाली(LGPAS) सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अभिमुखिकरण स्थानीय सरकारका सबै निकायलाई LGPAS प्रणालीको संरचना,मूल्याङ्कन मापदण्ड र कार्यान्वयन प्रक्रियाबारे स्पष्ट जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको हो।यसले कर्मचारीहरू र कार्यपालिका सदस्यहरूलाई योजना कार्यान्वयन,बजेट व्यवस्थापन,सेवा प्रवाह,प्रशासनिक दक्षता, पारदर्शिता र जवाफदेहिता सुधारमा मार्गदर्शन गरेको छ।
कार्यक्रम गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। उपाध्यक्ष बसन्ता खड्का,प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्का,विभिन्न वडा अध्यक्ष,कार्यपालिका सदस्य,शाखा प्रमुख र कर्मचारीहरूको सहभागीता रहेको थियो।
अभिमुखिकरणको सहजिकरण राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र LGPAS प्रशिक्षक देवीराम पाठकले गर्नुभएको थियो।प्रशिक्षणका क्रममा प्रशिक्षक पाठकले सहभागीहरूलाई LGPAS प्रणालीको सैद्धान्तिक र प्राविधिक परिचय कार्यसम्पादन मूल्यांकन र सुधारात्मक रणनीति निर्माण,कर्मचारी र कार्यपालिका सदस्यबीच सहभागिता र समन्वय बढाउने उपायहरू,दीर्घकालीन रूपमा स्थानीय सरकारको दक्षता र विश्वसनीयता सुनिश्चित गर्ने तरिका जस्ता विषयमा विस्तृत प्रशिक्षण प्रदान गर्नुभएको थियो।
गाउँपालिकाका प्रवक्ता चिन्त सोमै मगरले भन्नुभयो।,“यस अभिमुखिकरणको मुख्य उद्देश्य गाउँपालिकाका सबै निकायलाई LGPAS प्रणालीको प्रयोगमार्फत प्रभावकारी सेवा प्रवाह र कार्यसम्पादन सुधारमा सक्षम बनाउनु हो।
प्रवक्ता मगरका अनुसार,कार्यक्रममा सहभागीहरूले LGPAS प्रणालीको प्रयोगले नीति निर्माण,योजना कार्यान्वयन,वित्तीय पारदर्शिता र जनसहभागितामा सुधार ल्याउने स्पष्ट दृष्टिकोण प्राप्त गरेका छन्। उहाँले थप्नुभयो,“यस प्रशिक्षणले हाम्रो कार्यसम्पादन सुधार्ने स्पष्ट दिशा दिएको छ र भविष्यमा योजनाहरू अझ प्रभावकारी बनाउने प्रेरणा दिएको छ।”