सीता बि.क
प्युठान,संघीय सांसद सूर्य थापाले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर सेवा बिस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गर्नुभएको छ।
प्युठानको सरुमारानी गाउँपालिका –५, सौराकोटमा जिएसएम सेवाको नयाँ बिटिएस टावर उद्घाटन गर्दै
थापाले नेपाल टेलिकम प्राधिकरणका सेवालाई सुलभ,गुणस्तरीय,विश्वसनीय र भरपर्दो तुल्याउन निर्देशन दिनुभएको हो।
यस्तै,सांसद थापाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङसँग कुरा गरी प्युठानमा अलपत्र परेका टेलिकमका चार टावरको काम अघि बढाउन ध्यानाकर्षण गराएको बताउनुभयो ।
दुरदराजमा बसोबास गर्ने सेवाग्राहीलाई सञ्चारको पहुँचमा पुर्याउने लक्ष्यका साथ सरुमारानी गाउँपालिका-५ सौराकोटमा नेपाल टेलीकमको टावर बिस्तार गरिएको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताउनुभयो।
गाउँपालिका अध्यक्ष बिश्वकर्माले टावर जडानका लागि पहल गर्ने संघीय सांसद सूर्य थापा,सिङ्गो नेकपा एमाले पार्टी पंक्ति नेता तथा जनप्रतिनिधिलाई धन्यवाद दिनुभएको छ।
फोरजी तथा टुजी दुबै सेवासहित सौराकोटमा टावर सञ्चालनमा आएपछि सरुमारानी सहित दाङको बंगलाचुली गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिका क्षेत्रका उपभोक्ताहरु लाभान्वित भएको दूर सञ्चार कार्यालय प्युठानका कार्यालय प्रमुख निरन्जन श्रेष्ठले जानकारी दिनुभयो।
सहजै फोन सम्पर्क हुन थालेपछि सेवाग्राही हर्षित भएका छन् ।
पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको अध्यक्षता,वडा नम्बर ५ वडा अध्यक्ष लक्ष्मी पल्लीको स्वागत मन्तब्य ,वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता चिन्त सोमै मगरको सन्चालन बाट उद्घाटन गरिएको कार्यक्रममा सरूमारानी गापा उपाध्यक्ष बसन्ता खड्का,नेपाल टेलिकम तुल्सीपुर दाङका कार्यालय प्रमुख तथा बरिस्ठ ईन्जिनियरसन्ताेष शर्मा,नेपाल टेलिकम प्युठानका प्रमुख निरन्जन श्रेष्ठ,सरूमारानी गाउँ कार्यपालिका सदस्यहरू,राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्