राम बहादुर बिश्वकर्मा
प्युठान,आर्थिक अभावले थुप्रै प्रतिभाशाली विद्यार्थीको शैक्षिक सपना अधुरो बन्ने अवस्थाबीच प्युठान नगरपालिकाले विपन्न, दलित तथा जनजाति समुदायका जेहेन्दार विद्यार्थीलाई सहयोग पुर्याउन विशेष छात्रवृत्ति कार्यक्रम सुरु गर्ने भएको छ।प्युठान नगरपालिकाका नगर प्रवक्ता तथा आर्थिक विकास समितिका संयोजक सुमनराज श्रेष्ठ ले आर्थिक अभावका कारण शैक्षिक यात्रामा समस्या भोगिरहेका विद्यार्थीलाई लक्षित गर्दै यो विशेष छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो।
उहाँका अनुसार नगरपालिकाभित्र बसोबास गर्ने आर्थिक अवस्था कमजोर भएका दलित,जनजाति तथा विपन्न वर्गका जेहेन्दार विद्यार्थीलाई अध्ययनमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको हो। आर्थिक कठिनाइका कारण पढाइलाई निरन्तरता दिन नसक्ने अवस्थामा पुगेका विद्यार्थीलाई सहयोग गर्दै उनीहरूको शैक्षिक भविष्य सुरक्षित बनाउने लक्ष्य नगरपालिकाले लिएको उहाँले बताउनुभयो।
नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत उक्त पहल अघि बढाएको हो। कार्यक्रमको मुख्य उद्देश्य आर्थिक रूपमा कमजोर तर अध्ययनमा लगनशील विद्यार्थीलाई प्रोत्साहन गर्दै उनीहरूको शैक्षिक यात्रालाई निरन्तरता दिन सहयोग गर्नु रहेको नगरपालिकाले जनाएको छ।
ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका धेरै विद्यार्थीले आफ्नो क्षमताअनुसार पढ्न चाहँदा चाहँदै पनि आर्थिक अभावका कारण बीचमै पढाइ छोड्नुपर्ने अवस्था देखिन्छ। यस्तो अवस्थामा स्थानीय सरकारले अघि सारेको छात्रवृत्ति कार्यक्रमले ती विद्यार्थीलाई आशा र भरोसा दिलाउने अपेक्षा गरिएको छ।
नगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति तथा अध्ययन सहयोग लिन इच्छुक विद्यार्थीहरूले २०८२ चैत ०९ गतेदेखि १५ गतेसम्म आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। आवेदन दिने विद्यार्थीले निवेदन, कम्तीमा कक्षा १० उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि,उपलब्ध भएमा नागरिकताको प्रतिलिपि,सम्बन्धित वडाबाट विपन्न/दलित/जनजाति भएको सिफारिस तथा अध्ययनरत विद्यालयबाट जेहेन्दार तथा अनुशासित भएको सिफारिस पेश गर्नुपर्नेछ।
स्थानीय तहबाट सञ्चालन हुने यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। विशेष गरी आर्थिक अभावका कारण पढाइमा बाधा पुगेका विद्यार्थीका लागि यो पहल प्रेरणादायी बन्ने विश्वास गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्