प्युठान,निर्वाचन नजिकिँदै जाँदा विभिन्न प्रलोभन, अफवाह र भड्काउने प्रयासहरू बढिरहेका बेला खरिबाङका मतदाताहरूले आफ्नो राजनीतिक अडान अटल रहेको स्पष्ट सन्देश दिएका छन्।
“पैसा दिएर वा गलत प्रचार गरेर मत बदल्ने प्रयास भए पनि हामी नेकपा (एमाले) छोड्दैनौँ,” स्थानीय मतदाताहरूले एकमुखी रूपमा बताएका छन्। उनीहरूका अनुसार एमालेले विगतमा गरेको विकास, स्थायित्व र जनमुखी कामकै आधारमा पार्टीप्रति भरोसा अझ मजबुत बनेको हो।
माण्डबि गाउँपालिका १ खरिबाङ्ग क्षेत्रमा सम्पन्न घरदैलो तथा भेटघाट कार्यक्रमका क्रममा स्थानीय नागरिक, ज्येष्ठ मतदाता तथा सामाजिक अगुवाहरूले एमालेप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएका छन्। “हामीले देखेका कामका आधारमा नै मत दिने हो, हल्ला र उक्साहटले हाम्रो निर्णय बदलिँदैन,”स्थानीय मतदाता उमा हौजालीले बताइन्।
स्थानीयहरूको भनाइ अनुसार शिक्षा,सडक,खानेपानी तथा सामाजिक सुरक्षाजस्ता क्षेत्रमा एमाले नेतृत्वमा भएका पहलहरूले जनजीवनमा सकारात्मक परिवर्तन ल्याएको छ। यही कारण कठिन परिस्थिति आए पनि पार्टीसँगको सम्बन्ध टुट्ने प्रश्नै नआउने उनीहरूले बताएका छन्।
युवा नेता तथा निर्वाचन परिचालन समिति माण्डवी गाउँपालिकाका इन्चार्ज श्रीधर रोकाका अनुसार खरिबाङका मतदाताहरूको यो दृढ अडानले चुनावी माहोलमा एमालेप्रतिको जनविश्वास अझ स्पष्ट रूपमा देखाएको छ।
प्रतिक्रिया राख्नुहोस्