माण्डवी गाउँपालिकाले सुन्यो नागरिकको कुरा,५ बुँदे प्रतिबद्धता सार्वजनिक

माण्डवी गाउँपालिकाले सुन्यो नागरिकको कुरा,५ बुँदे प्रतिबद्धता सार्वजनिक

सिता बि.क 
प्युठान,प्युठानको माण्डवी गाउँपालिका, गाउँवासीसँग प्रत्यक्ष संवाद स्थापित गर्ने काममा अघि बढेको छ। चालु आर्थिक वर्षको पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम वडा नं. ४,उदयपुरकोटमा सम्पन्न भएसँगै स्थानीय बासिन्दाहरूले आफ्नो समस्या र सुझावहरू प्रत्यक्ष रूपमा गाउँपालिकासँग साझा गर्ने अवसर पाएका छन्।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नवराज अधिकारी,उपाध्यक्ष पुर्णचन्द्र कालाथोकी र प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारी उपस्थित थिए। सहभागीहरूले उठाएका सवालहरूको जवाफ मात्र होइन,गाउँपालिकाले आगामी दिनमा ध्यान दिने पाँच बुँदे प्रतिबद्धता पनि प्रस्तुत गरियो। यसमा सेवा प्रवाह व्यवस्थित बनाउने,अनुदान कार्यक्रमलाई उत्पादनमुखी बनाउने, स्थानीय सहभागिता सुदृढ बनाउने, विपद् पीडितको माग सम्बोधन गर्ने र पारदर्शिता सुनिश्चित गर्ने जस्ता विषय समावेश छन्।
कार्यक्रम वडा नं. ४ का अध्यक्ष डिलबहादुर घर्तिमगरको अध्यक्षता र गाउँपालिका अध्यक्ष नवराज अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। स्थानीयवासीले यस अवसरलाई सरकारसँग प्रत्यक्ष संवादको सुनौलो मौका भएको बताए।
कार्यक्रमको सहजिकरण नेपाल पत्रकार महासंघ प्यूठान शाखाले गरेको थियो।
शाखाका अध्यक्ष श्रीराम भण्डारीका अनुसार सार्वजनिक सुनुवाईले स्थानीय लोकतन्त्रलाई सजीव बनाउने प्रयास मात्र नभई,गाउँपालिकालाई नागरिकको आवाजसँग प्रत्यक्ष जोड्ने सशक्त माध्यमको रूपमा पनि आफ्नो भूमिका खेल्ने गर्दछ।
यस्ता पहलले स्थानीयवासी र सरकारबीचको दूरी घटाउने,सहभागी लोकतन्त्रलाई सशक्त बनाउने र विकास कार्यक्रमलाई थप प्रभावकारी बनाउने एक प्रेरणादायी कदम हुने भएकाले जिल्लाका हरेक स्थानीय तहले अनिवार्य सार्बजनिक सुनुवाई गर्नुपर्ने स्थानीय सरकार सञ्चालन ऐन,२०७४ मा सार्वजनिक सुनुवाईको व्यवस्था समेत रहेको अध्यक्ष भण्डारीले बताउनुभयो।