राम बहादुर बिश्वकर्मा
प्यूठान,आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्यूठान जिल्लाबाट प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट श्याम गहतराज उम्मेदवार बन्ने तयारीमा रहनु भएको स्रोतले जनाएको छ। पार्टीभित्र उहाँको नामलाई लिएर प्रारम्भिक छलफल सुरु भइसकेको र स्थानीय तहका नेता–कार्यकर्तामाझ उहाँको सम्भावित उम्मेदवारीलाई चासोका साथ हेरिएको बताइएको छ।
गहतराज प्यूठानको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आउनु भएको परिचित व्यक्तित्वका रूपमा चिनिनुहुन्छ। उहाँले यसअघि तत्कालीन नयाँ शक्ति पार्टी,जनता समाजवादी पार्टी तथा नेपाल समाजवादी पार्टीमा रहेर संगठन निर्माण र नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएको थियो। विभिन्न कालखण्डमा जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाल्दै पार्टीको विस्तार,कार्यकर्ता व्यवस्थापन तथा राजनीतिक अभियानहरू सञ्चालन गर्न उहाँको महत्वपूर्ण योगदान रहँदै आएको बताइएको छ।
स्थानीय तहमा संगठन विस्तार,जनसम्पर्क र वैचारिक बहसमा सक्रिय रहँदै आउनु भएका गहतराजले प्रगतिशील,लोकतान्त्रिक तथा समावेशी राजनीतिलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै राजनीति गर्दै आउनु भएको छ। सामाजिक न्याय,सुशासन,रोजगारी सिर्जना र स्थानीय विकासका विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने उहाँको राजनीतिक धारणा रहेको बताइन्छ।
यद्यपि,प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारीको विषयमा प्रगतिशील लोकतान्त्रिक पार्टीको औपचारिक निर्णय आउन भने बाँकी नै रहेको छ।
आसन्न निर्वाचनलाई लिएर प्यूठानमा राजनीतिक गतिविधि दिनानुदिन तीव्र बन्दै गएको छ। विभिन्न राजनीतिक दलहरूले आफ्ना सम्भावित उम्मेदवार चयन,संगठन सुदृढीकरण तथा चुनावी रणनीति निर्माणमा सक्रियता बढाइसकेका छन्। यस्तो अवस्थामा प्रगतिशील लोकतान्त्रिक पार्टीले कसलाई उम्मेदवार बनाउँछ भन्ने विषयले जिल्लाको राजनीतिक समीकरणलाई प्रभाव पार्ने अनुमान गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्