राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठान जिल्लाको सानो तर जीवन्त गाउँबाट सुरु भएको विजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपाली सहकारी क्षेत्रमै आफ्नो पहिचान मजबुत बनाइसकेको छ।२०८२ सालमा सम्पन्न गुणस्तर अन्तिम परीक्षणमा सफल स्तर हासिल गर्दै यसले आफ्ना सदस्यहरूको मात्र होइन,समग्र सहकारी क्षेत्रमा उत्कृष्टता र विश्वासको उदाहरण प्रस्तुत गरेको छ।
सहकारीले आफ्नो व्यवस्थापकीय दक्षता,वित्तीय अनुशासन,सदस्य सेवा क्षमता र आन्तरिक नियन्त्रणमा उच्च स्तरको प्रदर्शन गरेको छ। गुणस्तर प्रमाणीकरणले संस्थाको पूँजी पर्याप्तता, कर्जा व्यवस्थापन,जोखिम मूल्याङ्कन र सुशासन अन्तर्राष्ट्रिय मापदण्डअनुसार पुगेको पुष्टि गरेको छ।
गत वर्ष संस्थाले लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारीको सम्मान प्राप्त गरेको थियो भने, संस्थाका ब्यवस्थापक प्रकाश बैद्धलाई उत्कृष्ट ब्यवस्थापकको सम्मान दिइएको थियो। यसै वर्ष,नेफ्स्कुनको स्थापना दिवसमा सस्थाले तेस्रो पटक प्रोबेसन ब्रान्ड पुरस्कार प्राप्त गरेका छ।
तस्बिर :२०८२ सालमा सम्पन्न गुणस्तर अन्तिम परीक्षणमा सफल स्तर हासिल गरेको अबसरमा प्रमाणपत्र ग्रहण गर्दै सस्थाका अध्यक्ष नेत्रमणि आचार्य
प्रकाश वैद्य भन्छन्,“यो पुरस्कार केवल मेरो होइन,हाम्रो सम्पूर्ण सहकारी परिवारको हो।हामी सदस्यहरूको विश्वास र सुरक्षालाई केन्द्रमा राखेर काम गर्दै आएका छौं।”
ब्यबस्थापक वैद्य अनुसार विजय फूलबारी साकोसको यात्रा केवल पुरस्कार र प्रमाणपत्रको सूची मात्र होइन। यो सदस्यहरूको विश्वास जित्ने,नेतृत्वको प्रतिबद्धता देखाउने र सहकारी क्षेत्रमा दिगोपन सुनिश्चित गर्ने कथा हो।गाउँका सदस्यहरू भन्छन्,“हाम्रो साकोसले हाम्रो बचत सुरक्षित राखेको छ र हामीले आवश्यक परेमा सजिलै सहयोग पाउँछौं। यो हाम्रो लागि ठूलो भरोसा हो।”
यो संस्थाको अनुभवले प्रमाणित गर्दछ कि सानो संस्थाको सुव्यवस्थित नेतृत्व,निरन्तर सुधार र पारदर्शिताको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्मान प्राप्त गर्न सक्छ। विजय फूलबारी साकोसले प्यूठानबाट सुरु गरेको यो प्रेरणादायी यात्रा नेपाली सहकारी क्षेत्रको उज्यालो भविष्यको प्रतिनिधित्व गर्छ।
यस अवसरमा संस्थाका अध्यक्ष नेत्रमणी आचार्यले पुरस्कार प्राप्तिमा खुशी व्यक्त गर्दै संपूर्ण शेयर सदस्य,कर्मचारी,सञ्चालक र उपसमिति सदस्यहरूलाई बधाई दिएका छन्। उनले मूल्याङ्कन गर्ने नेफ्स्कुन नेपाल र राष्ट्रिय नियमन प्राधिकरणप्रति पनि धन्यवाद प्रकट गरेका छन्।
अध्यक्षआचार्यका अनुसार,यो पुरस्कार केवल संस्थाको होइन,सदस्य र कर्मचारीहरूको निरन्तर मेहनत,पारदर्शिता र प्रतिबद्धताको प्रमाण हो।उनले थपे,“हाम्रो संस्थाले सदैव सदस्यको हित र सेवा प्राथमिकता राख्दै काम गर्दै आएको छ। यस उपलब्धिले हामीलाई अझ उन्नत र जिम्मेवार बनाउने प्रेरणा दिएको छ।”सहकारी बिज्ञहरुले पनि यस उपलब्धिलाई सहकारी क्षेत्रमा उत्कृष्टता र दिगोपनको उदाहरणको रूपमा मूल्यांकन गरेका छन्।त्यस्तै एशियाली ऋण महासंघ (ACCU) द्वारा सञ्चालन गरिएको एक्सेस अडिटमा नेपालबाट एकमात्र संस्था रुपन्देहीस्थित जनउत्थान साकोसले सिल्भर स्तरको प्रमाणीकरण प्राप्त गरेको छ।
२०८२ मा सम्पन्न गुणस्तर परीक्षणमा अन्य सफल संस्थाहरूमा ग्रामीण साकोस सल्यान,ज्ञानज्योती महिला उत्थान साकोस काठमाडौं,जनसेवा साकोस कास्की,लोककल्याणकारी साकोस चितवन,स्वस्तिक साकोस सर्लाही,ठेचो महिला जागरण साकोस ललितपुर रहेका छन्। यस वर्ष कुल ८ संस्थाले गुणस्तर प्रमाणीकरण हासिल गरेका छन्।
नेफ्स्कूनको ३४औँ वार्षिक साधारण सभामा ब्रान्ड प्राप्त गर्ने संस्थाहरूको नाम सार्वजनिक गर्दै प्लेग वितरण गरिएको थियो।यी उपलब्धिहरूले देशभरका सहकारी संस्थाहरूमा पारदर्शिता,उत्तरदायित्व र सदस्य–केन्द्रित सेवा प्रवर्द्धन भएको स्पष्ट देखाउँछ।
प्रतिक्रिया राख्नुहोस्