सडक निर्माणमा उदाहरणीय कदम : आफ्नै घर भत्काउँदै अगाडि बढे नगर प्रमुख योगि 

सडक निर्माणमा उदाहरणीय कदम : आफ्नै घर भत्काउँदै अगाडि बढे नगर प्रमुख योगि 

सिता बि.क 
प्युठान,सडक विस्तारका समयमा धेरैजसो स्थानमा जनप्रतिनिधिहरूले आफ्ना घर–जग्गा जोगाउँदै नीतिनियम बनाउने गरेका उदाहरण धेरै छ। तर, प्युठानका नगरप्रमुख विष्णु बहादुर योगीले भने उल्टो कथा लेख्नुभयो– आफ्नो घरभित्रैबाट नयाँ विकासको ढोका खोल्नुभयो। उहाँले “विकास थालनि आफूबाट” भन्ने बुझाइलाई जन्ताको बीचमा व्यवहारिक ढंगले उतारिदिनु भयो,जुन स्थानीय तहमा नेतृत्वको गहिरो अर्थ राख्छ।
प्युठान नगरपालिका -वडा नम्बर १ अन्तर्गत पर्ने वेलुवा–बाग्दुला सडक अहिले एक अभूतपूर्व परिवर्तनको चरणमा छ। सोही क्रममा नगर प्रमुख योगिले आफ्नै घरको पर्खाल भत्काउँदै नेतृत्वले विकासको मार्ग खोलिदिँदा नागरिकमै पनि सकारात्मक ऊर्जा परेको छ। ‘सार्वजनिक हित’लाई हातेमालो गर्दै अघि बढ्नुपर्ने मनोवृत्ति बढिरहेको देखिन्छ। सडक विस्तारले प्रभावित हुने घरधनीहरू पनि क्रमशः सहमत हुँदै जानुले यस अभियानको प्रभावकारिता सिद्ध गर्छ।
सडक विस्तारको काम अघि बढ्दै गर्दा केही व्यक्तिहरू निजी सम्पत्ति जोगाउने बहानामा विरोध जनाइरहेका बेला नगरप्रमुख विष्णु बहादुर योगीले आफ्नो घरकै संरचना भत्काउँदै सबैलाई न्यायोचित व्यवहारको सन्देश दिनुभएको छ। यो कदममार्फत उहाँले “म शब्दले होइन, कामले नेतृत्व गर्छु” भन्ने भावनालाई व्यवहारमा उतार्नुभएको छ। जनताको हित र सामुदायिक विकासका लागि आफूले पनि त्याग गर्न तयार रहेको प्रष्ट सन्देश उहाँबाट आएको छ।
प्युठान सडक डिभिजन कार्यालयको जिम्मेवारीमा सञ्चालन भइरहेको वेलुवा–बाग्दुला सडकलाई १५ मिटर चौडा बनाइनेछ। सडकको केन्द्रबाट दायाँ र बायाँ ७.५–७.५ मिटर विस्तार गरिँदैछ। यसले भविष्यमा दुईतर्फी सवारीसाधन सहज रूपमा गुड्न सक्नेछ भने सडकछेउका घर तथा पसलहरूले व्यवस्थित संरचनामा पुनर्निर्माणको अवसर पाउनेछन्।
नेतृत्वको सक्रियता र पारदर्शिताले स्थानीय बासिन्दामा आत्मविश्वास बढाएको छ। विकृत योजना,पक्षपात र मनपरीका कथनहरूलाई नगरप्रमुख योगीका कार्यहरूले चुनौती दिएका छन्।
सडक विस्तारको लाभ केवल नगरपालिकामा मात्रै सीमित नहुने,यो सडकले क्षेत्रीय व्यापार,स्वास्थ्य, शिक्षा र पर्यटन–सबैतिर प्रभाव पार्ने स्थानीयहरूको धारणा छ।निजी घर–जग्गा भत्काउने विषयमा काहीँ–कहीँ भावनात्मक अथवा कानुनी विवाद सिर्जना हुनसक्ने अवस्था।
वेलुवा–बाग्दुला सडक विस्तार केवल एउटा भौतिक संरचना बनाउने अभियान मात्र होइन,यो जिम्मेवार नेतृत्व,नागरिक सहकार्य र साझा लगानीको प्रत्यक्ष उदाहरण हो। नगरप्रमुख विष्णु बहादुर योगीको साहसी कदमले विकासमा 'पहिले आफू' भन्ने मान्यतालाई जोड दिएको छ।यस्तो अभियानले प्युठानको विकास मात्र होइन,समग्र नेपालमा स्थानीय सरकारको गरिमा र वास्तविक नेतृत्वको पुनर्परिभाषा प्रस्तुत गरेको छ।