"हामी खुसी तब मात्र हुन्छौं,जब हाम्रो खुसीले अरूको जीवन उज्यालो बनाउँछ।”
"हाम्रो सफलताको जरो समाजमै छ,त्यसैले समाजलाई फर्काउन पाउनु नै वास्तविक उपलब्धि हो।”- सन्देश आचार्य
राम बहादुर बिश्वकर्मा
प्युठान,जसरी फूलको सुगन्धले बगैंचालाई रमाइलो बनाउँछ, त्यस्तै समाजलाई सुगन्धित बनाउन केही मानिसहरूको हृदयमा मानवताको गन्ध हुन्छ।
त्यही सन्देश बोकेका छन् प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष तथा “हाम्रो राम्रो अर्डर एण्ड सप्लायर्स” का संचालक सन्देश आचार्य र उनकी जीवनसंगिनी इश्वरा आचार्य -जो आफ्नो वैवाहिक वर्षगाँठलाई केवल व्यक्तिगत उत्सव होइन,सामाजिक योगदानको अवसर बनाउँछन्।
यस वर्ष पनि,आफ्नो वैवाहिक सम्बन्धको विशेष दिनलाई अर्थपूर्ण बनाउँदै उनीहरूले भानुभक्त माध्यमिक विद्यालय,मल्लरानी–३ लाई स्वर्ण जयन्ती उत्सव तयारी प्रयोजनार्थ ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
आफुहरुको १३ औं बैबाहिक बर्षगाठको सुखद अबसरमा बिध्यालयलाई आर्थिक सहयोग हस्तान्तरण गर्दै आचार्य दम्पती
व्यवसायसँगै सामाजिक उत्तरदायित्वप्रति सचेत आचार्य दम्पतीले हरेक वर्ष आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा कुनै न कुनै सामाजिक कार्य गर्दै आएका छन्। यस वर्ष विद्यालयको स्वर्ण जयन्ती मनाउन लागिरहेको सन्दर्भमा सहयोग प्रदान गर्दै दम्पतीले विद्यालयप्रतिको आत्मीयता र सामुदायिक साझेदारीको भावना प्रकट गरेका हुन्।
भानुभक्त माविको स्वर्ण जयन्ती तयारीमा जुटेको टिमले यो सहयोगलाई उत्सवको “ऊर्जा र आशाको स्रोत”भनेको छ।
विद्यालयका प्रधानाध्यापक चक्रपाणी पौडेलले सहयोग ग्रहण गर्दै भने “रकमभन्दा ठूलो कुरा सोच हो - आचार्य दम्पतीले देखाएको सोचले विद्यालय परिवारमा प्रेरणा भरेको छ।”उनी भन्छन् “हामीले आज केवल रकम पाएनौं,समाजसँगको आत्मीयता र सद्भाव पायौं।”
विद्यालय परिवारले सहयोगदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै भनेको छ-“विद्यालयको विकासका लागि समुदायबाट प्राप्त यस किसिमको समर्थनले शिक्षाप्रति सबैको जिम्मेवारी र माया झल्काउँछ।”
प्र.अ पौडेलका अनुसार आचार्य दम्पती जस्ता जागरूक नागरिकको सहकार्यले मात्र सामुदायिक विद्यालयहरू आत्मनिर्भर र प्रेरणादायी बन्न सक्छन्।
विद्यालयका विद्यार्थीहरूले पनि उक्त कदमलाई “शिक्षासँग माया गर्ने समाज” को प्रतीक मानेका छन्।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष आचार्यले भने-“हामीले विवाहलाई केवल दुई जनाको सम्बन्धको रूपमा होइन, दुई परिवार, दुई सोच र दुई जिम्मेवारीको संगमको रूपमा लिएका छौं। समाज हाम्रो परिवार हो,त्यसैले हरेक वर्षगाँठ समाजलाई सम्झँदै मनाउँछौं।”
उनकी श्रीमतीले मुस्कुराउँदै थपिन्-“जब हाम्रो खुसीले अरूको अनुहारमा हाँसो ल्याउँछ, त्यो भन्दा ठूलो उपहार अरू केही हुनै सक्दैन।”
उनका यी शब्दहरूमा केवल भावनाको मिठास छैन, जीवन दर्शन झल्किन्छ -जहाँ प्रेम कर्मसँग मिसिएको छ।
आचार्य दम्पती व्यवसायी मात्र होइन उनी एक संवेदनशील नागरिक पनि हुन प्युठान उद्योग वाणिज्य संघका अध्यक्षको रूपमा रहेका आचार्य अनि उनकी पत्नी प्युठानमा सफल व्यवसायीका रूपमा परिचित छन्, तर उनीहरूको पहिचान केवल व्यापारमा सीमित छैन।सामाजिक अभियानमा सहभागी उत्तिकै सक्रिय हुन्छन्।उनी र उनकी जीवनसंगिनी हरेक वर्ष आफ्नो वैवाहिक वर्षगाँठलाई कुनै न कुनै सामाजिक उद्देश्यमा समर्पण गर्दै आएका छन्।
कहिले असहाय परिवारलाई सहयोग,कहिले विभिन्न संघ सस्थालाई सहयोग,कहिले स्थानीय खेलकुदमा प्रोत्साहन।उनको भनाइमा “हाम्रो सफलताको जरो समाजमै छ,त्यसैले समाजलाई फर्काउन पाउनु नै वास्तविक उपलब्धि हो।”
यही सोचका कारण उनीहरू व्यवसायसँगै सामाजिक उत्तरदायित्वको उदाहरण बनेका छन्।
विद्यालयमा उत्सवको रौनक
भानुभक्त मावि मल्लरानी–३ अहिले आफ्नो ५०औँ शोर्ण जयन्तीको तयारीमा व्यस्त छ।
विद्यार्थी,शिक्षकहरूको उत्साह हौसला,समुदायको साथ र विद्यालय व्यवस्थापनको सक्रियताले सबैमा नयाँ ऊर्जा छ।उक्त सहयोगले विद्यालयको स्वर्ण जयन्ती तयारीलाई थप सशक्त बनाउने विश्वास विद्यालय व्यवस्थापन समितिले व्यक्त गरेको छ।

प्रतिक्रिया राख्नुहोस्