राम बहादुर बिश्वकर्मा
प्युठान, नेकपा एमाले प्युठानले संविधान दिवसको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा संविधानसभा सदस्य तथा पूर्वसांसद धनबहादुर रायमाझीले संविधान जारी गर्ने क्रममा भोगिएको ऐतिहासिक चुनौती र दबाबहरूलाई स्मरण गर्दै संविधान निर्माणको सफलतालाई ऐतिहासिक उपलब्धि भनेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले भने, “संविधान नबन्ने भय त्यतिबेला निकै चुलिएको थियो, तर जनताको आकांक्षा,राष्ट्रिय उद्देश्य र सबै दलबीचको समझदारीका आधारमा हामीले त्यो संकट पार गर्यौं।”
उनले विविध भाषा,जात–पात, संस्कार र राजनीतिक धारहरूबीचको सहमति नै संविधान निर्माणको प्रमुख बल भएको उल्लेख गरे। साथै,पछिल्लो समय बढ्दै गएको अराजक गतिविधिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउने खतरा भएको भन्दै संविधानको रक्षा गर्न सबै नागरिक सतर्क हुनुपर्ने औंल्याए।
कार्यक्रममा नेकपा एमाले प्युठानका अध्यक्ष विजय विराज बिष्टले पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गरिएको कालापानी,लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई नेपालको नक्सामा समावेश गर्ने ऐतिहासिक निर्णयले राष्ट्रिय स्वाभिमान जगेर्ना भएको बताए।
उनले भने, “ओलीले राष्ट्रियताको सवालमा कुनै सम्झौता नगरी दृढताका साथ उभिएका कारण देशी–विदेशी शक्तिहरूले उनलाई हटाउन जेनेरेसन जेड आन्दोलनको नाममा देशमा यस्तो भयावह अवस्था सृजना गरेका हुन्।”
बिष्टले वर्तमान राजनीतिक चुनौतीका बाबजुद जनताको साथ एमालेसँग रहेको दाबी गर्दै भने,“अहिले जुनसुकै कठिनाइ आए पनि एमाले फेरि अग्रणी शक्ति बन्नेछ।”
पार्टिको संसोधित झण्डा उत्तोलन
संविधान दिवसको अवसरमा नेकपा एमाले प्युठानद्वारा पार्टी झण्डा उत्तोलन गर्दै विशेष कार्यक्रम आयोजना गरिएको छ।
कार्यक्रमको प्रारम्भ पार्टी झण्डा फहराएर गरिएको थियो,जसलाई राष्ट्रिय–राजनीतिक चेतना र संविधानप्रतिको प्रतिबद्धताको प्रतीकका रूपमा लिइएको छ।
कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष विजय बिराज बिष्ट,संविधानसभा सदस्य धनबहादुर रायमाझी,उपाध्यक्ष माधव पौडेल लगायतका नेताहरूले संविधान निर्माणमा एमालेको अग्रणी भूमिका, राष्ट्रिय स्वाभिमानको रक्षा र ओली नेतृत्वको योगदान विषयमा विचार राखेका थिए।


बिष्टले झण्डा फहराउने क्रममा भने,"यो झण्डा केवल पार्टीको मात्र होइन, जनताको आत्मविश्वास, गणतन्त्र र संविधानको रक्षकको प्रतीक हो।"
कार्यक्रममा संविधान दिवसको ऐतिहासिक महत्व, समसामयिक राजनीति र वर्तमान परिस्थिति सन्दर्भमा विभिन्न वक्ताहरूले धारणा राखेका थिए। एमालेका अनुसार संविधानको रक्षा र कार्यान्वयनमा पार्टी अझ सक्रिय हुने बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्