श्रीमानको तलब कुर्ने समय छैन : खिमाको आत्मनिर्भरता र प्रेरणादायी कथा

श्रीमानको तलब कुर्ने समय छैन : खिमाको आत्मनिर्भरता र प्रेरणादायी कथा

राम बहादुर बिश्वकर्मा 
प्युठान,श्रीमान् नेपाल प्रहरीमा कार्यरत तीन सन्तानको आमा।तर घरभित्रै बसेर केवल तलव पर्खेर जीवन चलाउने खालकी होइनन् प्युठान नगरपालिका -७ पुण्यखोला निवासी ३४ बर्षिय खिमाकुमारी के.सी.उनले २०७९ सालदेखि आफ्नै लगानीमा ‘प्रगति पशुपन्छी तथा कृषि फार्म’ सुरु गरिन् - न कुनै सरकारी अनुदान,न सहयोग।
आज केवल ३ वर्षमै,आफ्नै घरको गोठबाट सुरु गरेको पशुपालन व्यवसायले आफ्नो जीवनस्तर मात्र सुधार गरेको छैन,बरु खिमाले छिमेकीलाई पनि आत्मनिर्भर बनाउने प्रेरणा दिएकी छन्।उनको फार्ममा अहिले साना-ठूला गरी १० वटा उन्नत जातका भैंसीहरू छन् -मुख्यतः निल राबी र मुरा जातका,जो आकर्षक देखिने मात्र होइन,उत्पादनमा पनि भरपर्दा छन खिमाको फार्ममा रहेका निल राबी र मुरा जातका भैंसीहरू देख्दा जो-कोही आकर्षित हुन्छ।दैनिक ६० लिटर शुद्ध दूध उत्पादन हुन्छ।
उनी भन्छिन् "गुणस्तर दूध भएकाले बजार खोज्नु पर्दैन ग्राहक आफैं बिहान-बेलुका घरमै आउँछन्।"

 "श्रीमानको तलब पर्खेर बस्ने समय छैन"

नेपाल प्रहरी सेवामा कार्यरत श्रीमान् ड्युटीमा व्यस्त हुँदा,घर र सन्तानको जिम्मेवारी खिमाकै काँधमा छ।
"श्रीमानको तलब पर्खेर महिनौं कसरी घर खर्च चलाउने ? मैले आफ्नै फार्मबाट सम्पूर्ण खर्च कटाएर महिनामा ४५ हजार रुपैयाँसम्म बचत गर्न सकेकी छु।"उनी आज घरको काम मात्र होइन,आर्थिक व्यवस्थापनको पनि नेतृत्व गरिरहेकी छन्।
फार्म सञ्चालनका लागि करिब आधा बिगाहा जमिन भाडामा लिइएको छ।
सोही क्षेत्रभित्र नेपियर,मकैचरी लगायतका घाँस खेती गरिएको छ,जसले पशुको पोषण आपूर्ति सरल बनाएको छ।

भैंसीको स्वभाव र हेरचाहमा प्राविधिक ज्ञान बराबरको दक्षता

फार्ममा रहेका प्रत्येक भैंसीको स्वभाव,आहार,रोग लक्षण र आवश्यक स्याहारबारे खिमालाई अत्यन्त राम्रो ज्ञान छ।
उनी प्रायः स्थानीय पशु सेवा केन्द्रसँग सम्पर्कमा रहन्छिन् र नयाँ जानकारीहरू अध्ययन गर्छिन्।

पशु बीमाको कमजोरी र घाटाको पीडा

उनको फार्ममा एकपटक भैंसीको मृत्यु हुँदा ठूलो घाटा बेहोरिन्।
"नेपाल सरकारले पशु बीमामा न्यूनतम सुविधा मात्र दिएको छ। यस्तो अवस्थामा कृषक मर्कामा परिरहेका छन्,"उनी खुलेर भन्छिन्।
यो भनाइ देशभरका किसानहरूको साझा आवाज बनेको छ।

अनुदान बितरण प्रणाली कमजोर 

२०७९ सालदेखि आफ्नै लगानीमा फार्म सुरु गरेकी खिमाले अहिलेसम्म कतैबाट पनि अनुदान प्राप्त नभएकोबताउछिन्।”उनले सरकारलाई पनि उत्पादनमा आधारित अनुदान नीति ल्याउन आग्रह गरेकी छन्।उनी भन्छिन्"-अनुदान उत्पादनमा आधारित हुनुपर्छ,ताकि साँच्चिकै मेहनत गर्ने किसानले लाभ पाउन सकून्।
२ जनालाई रोजगारी समेत दिन सफल खिमाको लगनशीलता,आत्मनिर्भरता र सफलतापूर्ण व्यवसाय र जुझारुपन देखेर छिमेकी महिलाहरू समेत अहिले भैंसीपालनमा लाग्न थालेका छन्।
खिमाको भैंसीपालन यात्रा केवल व्यवसायिक सफलता मात्र होइन,साहस,आत्मनिर्भरता र ग्रामीण महिलाको नेतृत्व क्षमताको सजीव उदाहरण हो। गाउँ–गाउँमा यस्तै सशक्त महिलाहरू उदाउने हो भने, देशको कृषिक्षेत्र मात्र होइन,आर्थिक विकासको मूल जग नै बदलिन सक्छ।