चुनौतीमा टेकेर सफल भएका अजयको डाक्टर बन्ने सपना पूरा गर्दै "ऐरावती गाउँपालिका" 

चुनौतीमा टेकेर सफल भएका अजयको डाक्टर बन्ने सपना पूरा गर्दै "ऐरावती गाउँपालिका" 

प्युठान,डाक्टर बन्ने सपना बोकेका जेहेन्दार विद्यार्थी अजय जिसीको मेडिकल शिक्षाको यात्रा ऐरावती गाउँपालिकाको छात्रवृत्तिले चम्काएको छ। बरौला गाउँका जिसीलाई काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्समा एमबिबिएस अध्ययनका लागि १३ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएपछि गाउँपालिकाले ग्रामीण क्षेत्रमा उच्च शिक्षाको अवसर विस्तार गरेको छ।
अजय जो अहिले तेस्रो वर्षमा अध्ययनरत छन्, आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रमअनुसार छात्रवृत्तिमा छनोट भएका हुन्। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माका अनुसार, यस वर्ष छात्रवृत्तिका लागि २० लाख रुपैयाँ छुट्याइएको छ भने आगामी वर्ष ३० लाखसम्म बढाउने तयारी भइरहेको छ।
बिहीबार गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले छात्रवृत्तिको चेक जिसीकी आमा बसन्ता जिसीलाई हस्तान्तरण गरेका थिए। छात्रवृत्ति पाएका विद्यार्थीले पढाइ सकेपछि कम्तीमा तीन वर्ष गाउँमै सेवा दिनुपर्ने सर्त राखिएको छ। अध्यक्ष शाहले भने, “डाक्टरको सेवा गाउँसम्म पुर्‍याउने र विपन्न तर गाउँका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको अवसर प्रदान गर्ने हाम्रो लक्ष्य हो।”
हाल गाउँपालिकाले करारमा चिकित्सक राखेर आधारभूत स्वास्थ्य सेवा पनि प्रदान गर्दै आएको छ।
यस्तै, प्युठानको गौमुखी गाउँपालिकाले पनि अत्यन्त विपन्न विद्यार्थीलाई एमबिबिएस, इन्जिनियरिङ र स्टाफ नर्स अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति दिने नीति बनाएको छ। आर्थिक वर्ष २०७८/०७९ देखि बजेट विनियोजन हुँदै आएको भए पनि अहिलेसम्म कसैले सो सुविधा उपयोग नगरेको जनाएको छ।