प्यूठान,ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९१ बुँदे नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ। अध्यक्ष नविल विक्रम शाहले गाउँपालिकाको १८औं गाउँसभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।
नीति कार्यक्रममा युवा कार्यक्रम, लिफ्ट खानेपानीको महशुलमा अनुदान, एमविविएस डाक्टर पढाउन छात्रवृत्ति, होम टु हस्पिटल सेवा र स्थानीय मदिराको ब्राण्डिङजस्ता पुराना योजना निरन्तरता पाउने जनाइएको छ।
गुणस्तरीय निर्माणका लागि ल्याब स्थापना, वालमैत्री, वातावरणमैत्री तथा पोषणमैत्री गाउँपालिका घोषणा,१५ शैयाको अस्पताल सञ्चालन,कोसेली घर सञ्चालन,कृषि तथा पशुपालनमा व्यवसायिकरण लगायतका नयाँ कार्यक्रम समावेश छन्।
गन्धर्व र कुसुन्डा जातिको संरक्षण र आयआर्जन वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ। वालविवाह न्यूनिकरणका लागि सूचनादातालाई २५ हजार रुपैयाँसम्मको पुरस्कार दिने नीति जारी रहनेछ।
स्थानीय सञ्चार गृहहरूको विकास र प्रवद्र्धनका लागि समावेशी विज्ञापन प्रणाली लागू गरिनेछ। पारदर्शिता र सुशासनका लागि सूचना विद्युतीय माध्यमबाट सार्वजनिक गरिने योजना छ।
३० वर्षमाथिका नागरिकको नसर्ने रोगको अनिवार्य स्क्रिनिङ गरिनेछ भने वृद्धवृद्धालाई ‘ओखती कार्यक्रम’ मार्फत सहयोग प्रदान गरिनेछ।
एक घर एक धारा कार्यक्रम निरन्तरता दिँदै ‘स्वास्थ्यका लागि पानी (नेवा)’ कार्यक्रम पनि लागू गरिनेछ। कृषि तथा पशुपालनमा आधारित साना किसान र युवा उद्यमशीलता कार्यक्रम निरन्तरता पाउने छन्।
गाउँसभामा उत्कृष्ट किसान, कर्मचारी, शिक्षक, विद्यार्थी र स्वास्थ्य स्वयंसेवकलाई सम्मान गरिएको छ।उत्कृष्ट कर्मचारीमा सागर रिजाल,यम प्रसाद पाण्डे, प्रकाश वि.क र कमल नेपाली रहेका छन् भने स्वास्थ्यकर्मीमा राजेश कुमार शर्मा, गीता थापा र मिरा ज्ञवाली छन्।
उत्कृष्ट विद्यालयमा जनता मावि विजुली, शिसुकल्याण आधारभूत विद्यालय झिवाङ र माण्डवी प्राथमिक विद्यालय लामिदमार रहेका छन्। उत्कृष्ट शिक्षकमा कृष्ण विक्रम शाह, कुलबहादुर रोका,भोजबहादुर राउत, मेनका अधिकारी र माधव पोख्रेल रहेका छन्।
किसानतर्फ जयगोपाल श्रेष्ठ उत्कृष्ट किसान र पूर्ण बहादुर जिसी जेष्ठ किसान घोषणा भएका छन्।
प्रतिक्रिया राख्नुहोस्