सिता बि.क
प्युठान,चालू आवका योजना तथा कार्यक्रमको कार्यान्वयन पक्ष अन्तिम चरणमा पुगेको सन्दर्भमा ती योजनाको काम र प्रगतिबारे अनुगमनमा समेत जुटेका सरुमारानी गाउँपालिका जनप्रतिनिधिले आगामी वर्षका लागि समेत समुदायस्तरबाट योजना छनोटको प्रारम्भिक काम शुरु गरेका छन।
वडाका जनप्रतिनिधिहरु अहिले आ–आफ्नो क्षेत्रका गाउँ तथा टोलमा पुगेर आगामी वर्षको योजना तथा कार्यक्रमका बारेमा छलफल गरी सुझाव संकलन गर्न थालिसकेका छन्।
जनताबाटै आएको सुझाव अनुसार गाउँपालिकाको विकासलाई अघि बढाउने उद्देश्य सहित आर्थिक वर्ष २०८२/०८३ को वार्षिक योजना तर्जुमाका लागि वडा केन्द्रित भएका हुन।आगामी निति तथा कार्यक्रमका लागि वडाका जनप्रतिनिधि मार्फत बस्तीस्तरमा पुगेर बृहत् भेलामार्फत योजनाको प्राथमिकीकरण गर्ने कार्य थालनी गरिसकिएको गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार जनताका अत्यावश्यक मागको सम्बोधन हुने र समग्र गाउँपालिकाको विकास र समृद्धिलाई ध्यानमा राखी स्थानीय बुद्धिजीवी,विषयविज्ञ,अनुभवी, महिला,बालबालिका,दलित,युवा,अपाङ्गता भएका व्यक्ति,वरिष्ठ नागरिक लगायत सरोकारवालाहरूसँग परामर्श गरी आगामी बजेट ल्याइने छ।"
आउँदो वर्षका लागि बन्ने बजेटमा वडाको राजश्व संकलनको क्षमता अनुसार बजेट व्यवस्थापन गर्ने सोच रहेको भन्दै राजश्व संकलनलाई प्राथमिकतामा राखेर काम गर्ने तयारी गाउँपालिकाको छ।
कार्यगत योजनालाई उच्च प्राथमिकतामा राख्दै तत्कालीन,अल्पकालीन,मध्यकालीन र दीर्घकालीन योजनालाई प्राथमिकता दिँदै योजना तर्जुमा गर्न लागेको गाउँपालिकाले जनाएको छ।
नेपालको संविधान,कानुन र प्रचलनअनुसार जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गतेभित्र स्थानीय सरकारहरूले आर्थिक वर्ष को बजेट जारी गर्ने गरेका छन।
त्यस्तै सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्त सोमै मगरले पालिकाको बजेट निर्माणपूर्व ७ चरणमा छलफल र समन्वय गर्नुपर्ने नीति अनुसार गाउँपालिकाका सबै वडाको बस्ती बस्तिमा पुग्नेगरी काम अघि बढाइएको बताउनुभयो।
प्रवक्ता सोमै मगरका अनुसार सबै वडास्तरका योजनाका आधारमा गाउँपालिकाले समग्र गाउँपालिकाको योजना बनाउने छ,पालिकाका अधिकासं वडामा भएको सुझाव संकलनमा स्थानीयबाट वडा स्तरबाट खानेपानी,सडक,सिपमुलक तालिमको माग आएका छन।
यसरी वडातहबाटै आएको माग अनुसार काम गर्दा गाउँपालिकाको विकासमा सबैको भावना समेटिने भएकाले ६ वटै वडामा योजना संकलनको काम गरिने गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्