सीता बि.क
आज ८ मार्च ११५ औं अन्तर्राष्ट्रिय श्रमिक नारी (महिला दिवस) संसारभरका महिलाहरुको अधिकार स्थापनाको लागि प्रेरणादायी दिवस आज देशैभरी स्थानीय तह,सरकारी तथा गैर सरकारी ,महिला अधिकार सम्बन्धि आयोगहरु महिला दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरेर मनाइदै छ। कतै महिला स्वस्थ्य शिबिर,कतै र्याली त कतै अन्तक्रिर्या जस्ता थुप्रै कार्यक्रमहरु गरेर महिला दिवस मनाइने योज्ना गरेको सामाजिक संजाल मार्फत देख्न सकिन्छ। सर्ब प्रथम सम्पुर्णलाई नारी दिवसको शुभकामना।
यो अवसरमा म बिश्वभरका सम्पूर्ण महिला आन्दोलनको नेतृत्व अग्रजहरुलाई हृदयदेखि सम्झिन चाहान्छु र महिला मुक्तिको आन्दोलनको क्रममा शहीद हुनुभएका सम्पुर्ण अग्रज महिला योद्धाहरु प्रती हार्दिक श्रद्धा सुमन ब्यक्त गर्दछु।
सदियौंदेखि शोषण,उत्पीडनमा परेका महिलाहरूको मुक्तिका लागि पहिलोपटक अन्तर्राष्ट्रियस्तरमा आवाज बुलन्द गरेको दिन, मार्च ८ लाई महिला मुक्तिको दिनका रूपमा विश्वभर मनाउने गरिन्छ। विश्वभर महिला अधिकार दिवस मनाउन थालेको पनि ११५ वर्ष भइसकेको छ,तर महिलाको अबस्था अपेक्षित माथि उठ्न सकेको छैन।महिलाले भोग्नु परेका घटनाहरूमध्य सबैभन्दा क्रूर भनेर बलात्कार, यौनहिंसा तथा घरेलु हिंसा हो। बर्सेनि महिला सशक्तीकरणका आवाज बुलन्द रूपमा उठे पनि यी सबै नारामै सीमित रहेका छन्।हामी आधा आकाश आधाधर्ती ओगटेको महिलाहरू आजका दिन सम्म पनि खुलेर स्वतन्त्रता पुर्वक कुनैपनी क्षेत्रको नेतृत्व गर्न चुकिरहेको छ। नेपालमा प्रशासन देखि रास्ट्रपतिसम्म र बिध्यालयदेखि न्यायलयसम्म महिलाहरुले नै नेतृत्व गरेको बलियो उदाहरण भएता पनि अझै महिलाहरुलाई सक्षम नेतृत्वको रुपमा लिएको कम पाइन्छ।अझ राजनीतिक क्षेत्रमा त संबिधानले दिएको प्रदत्त अधिकारलाई समेत कार्यन्वयनमा ल्याउन धौ धौ छ।जसले दुनियाँलाई जन्माउछ,जसले दुनियाँलाई हुर्काउछ नारी भन्ने दुई अक्षरको शब्दमा सिङ्गो संसार अडेको हुन्छ तर युगौदेखि नारीहरु पिल्सिरहेको छन र पुरुषहरु दमन गरिरहेका छन।हरेक दिनजसो छोरी चेलीहरु बलात्कार,अन्याय, अत्याचार,एसिड प्रहार,श्रीमतिको बीभत्स हत्या,घरेलु हिंसा, बहुबिबाह,दाइजो प्रथा छुवाछूत जस्ता विभिन्न घटना घटेको समाचारहरु सामाजिक सन्जालमा छ्यापछ्याप्ती आइरहेको देखिन्छ।
अब यस्तो अवस्था कहिलेसम्म ?हरेक बर्ष नारी दिवसको अवसरमा आकर्षक नाराहरु बनाइन्छ,कतै नारी दिवस नारामा मात्रै सिमित त होइन ? विगत वर्षहरुमा पनि नेपालमा नारी दिवस मनाइए। तर,उपलब्धि के भए कसैले खोजी गरिदैन आगामी वर्षहरुमा पनि यस्ता दिवसहरु मनाइएला,तर यसरी नै उपलब्धितिर ध्यान नदिने हो भने ती फगत वार्षिक कर्मकाण्ड पुरा गरे जस्तै नहोला भन्न सकिँदैन।यस्ता बिषयलाई गम्भीरता पुर्वक लिने कि नलिने ? हरेक बर्षको नारी दिवसको नारा फेरे झै नारीहरुको अवस्था फेरियो कि उस्तै छ यस्को अनुगमन कस्ले गर्ने ? यसको जिम्मेवारी कसले लिने ? सरकारले कि महिला अधिकारकर्मीहरुले ? महिला दिवसको नाममा विभिन्न कार्यक्रम गरेर लाखौ खर्च वालुवामा पानीझैं भइरहेको त छैन ? यसको लेखाजोखा र यस्ता कार्यक्रम बाट कति महिलाहरुमा सक्षम र सकारात्मक नतिजा आए त यसको गहिरो समीक्षा हुन जरुरी छ नत्र महिलाको नाममा कार्यक्रम भन्दै आकर्षक प्रतिबेदन तयार पार्दै राज्यको मोटो रकम खर्चिनु उचित हुदैन।महिलाहरुले हरेक दिन आफ्नो दिवसको रुपमा लिन सक्ने बाताबरण बनाउनुपर्छ जुन संबिधानमा उल्लेखित महिला सम्बन्धि मौलिक हक भित्रको अधिकारहरु प्रत्येक महिला र प्रत्येक घरमा लागू हुनुपर्छ,महिलाहरु स्वतन्त्र रूपमा जीउन पाउनुपर्छ।
महिलाहरु शैक्षिक,आर्थिक,सामाजिक तथा मानसिक रूपमा सशक्त नहुँदासम्म परिवार र समाजका सद्स्यले विभेद गर्ने अवस्थाको अन्त हुदैन त्यसैले महिला आफै सचेत हुन र समाजलाई सचेत गराउन जरुरी छ।
नेपालको हकमा धेरै जसो महिलाहरु गृहिणीको रूपमा हुनुहुन्छ तर गृहिणी भन्नासाथ केही काम नगर्ने यतिकै पुरुषको कमाइमा मात्रै बस्ने भन्ने सोच राख्ने समाज छ यसकारण धेरै महिलाहरु मानसिक रोगको सिकार,घरेलु हिंसाको सिकार बन्न बाध्य छन। अब यस्ता समस्याको अन्त्यको लागि महिलाको श्रमको उचित मुल्यांकन हुनेगरी राज्यले स्पष्ट निति बनाउन जरुरी छ।नीति निर्माण गर्ने ठाउँमा महिला नेतृत्वहरुको कम सहभागीले गर्दा महिलाको खास समस्याको वकालत हुने गरि नीति निर्माण हुन सकेको छैन भने बनेकै नीतिहरु पनि कार्यन्वायनमा ल्याउन सकिरहेको छैन यसमा सबैको ध्यान जान जरुरी छ। ११५ नारी दिवशको अबसरमा सम्पुर्ण लाई शुभकामना !
प्रतिक्रिया राख्नुहोस्