आफ्नो बारीमा फलाएको ६ किलोभन्दा बढीको काउली देखाउँदै प्युठान नगरपालिका वडा नम्बर-७ टिकुरीका कृषक शम्शेर के सि,तस्विर : राम बहादुर बिश्वकर्मा
राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर - ७ का कृषक शमसेर के सि ले आफ्नो बारीमा ६ किलोसम्मको काउली फलाए पनि बिक्री नहुँदा प्रतिफल नमिलेको गुनासो गर्नुभएको छ।
काउलीको राम्रो उत्पादन भए पनि विक्री नभएको उहाँको भनाइ छ । ब्यापारीले काउलि प्रतिकिलो २० रुपियाँ भन्दा बढी नहाल्ने गरेको के सि ले बताउनुभयो।
काउली खेतीमा लगानी समेत नउठ्ने उहाँको भनाइ छ। “मेरो खेतमा एउटै ६ किलोसम्मको काउली फल्यो यसमा हाम्रो धेरै मिहिनेत र परिश्रम भयो। तर बिक्री हुँदैन यो कुरा कसले बुझिदिने हो ?” “बजारमा बेच्दा ढुवानी भाडासम्म नआउने भएपछि के गर्न सक्छौं र!”,पैरवी अनलाइन सङ्ग दुखेसो गर्नुभयो-,“बारीमा गरिसकेको खर्च पनि नउठ्ने भएपछि ढुवानीका लागि थप खर्च किन गर्नु?”
“कृषि उत्पादनको बजारको ग्यारेन्टी लागत अनुसार राज्यले किन तोक्दैन?” राज्य नै कमजोर हुँदा आफूहरूले दुःख गरेर उत्पादन गरेका तरकारीको भाउ नपाउने अवस्था रहेको उहाँको भनाई छ।
प्युठान नगरपालिका ७ स्थित टिकुरी क्षेत्रमा काउलीको अत्याधिक खेती हुनेगरेको छ। काउलीले लगानीसमेत नउठाएको यहाँका कृषकको गुनासो छ।
काउलीले लगानी धान्न प्रतिकिलो कम्तीमा पनि ४० देखि ५० रुपियाँ प्रतिकिलो पाउनुपर्ने कृषकको भनाइ छ।
जिल्लामा पछिल्लो समय तरकारीको उत्पादन राम्रो रहेको तर बजारको अभाव,उचित मुल्य नपाउनु,बिचौलियालाई बिक्री गर्नुपर्ने बाध्यता,चिस्यानकेन्द्र नहुनु लगायतको समस्याले किसानहरु सधैँ मारमा परिरहेको जानकारहरु बताउँछन।
पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई तरकारी जोन लगायत विभिन्न संघसंस्थाहरुबाट उत्पादन बृद्धिका लागि कार्यक्रम सञ्चालनपछि कृषि यन्त्र,बीउ बीजन,सिंचाई लगायतमा अनुदान उपलब्ध गराएका कारण किसानहरुले उत्पादनमा बृद्धि गर्न सफल भएको तर बजार नहुँदा उत्पादित कृषि उपज कहिलेकाहिँ त्यसै खेर फाल्नुपर्ने,लगानी अनुसारको मुल्य समेत नपाउने अवस्था आएको जिल्ला स्थित किसानहरुको गुनासो छ।
यस्तै प्राकृतिक विपत्ती र रोग किराले क्षती पुर्याउँदा क्षतीपूर्ती नपाईनु ,मध्यवर्ती क्षेत्रका किसानले लगाएको खेती जंगली जनावारले सखाप पारिदिने जस्ता समस्याबाट समस्याको दीर्घकालीन व्यवस्थापनतर्फ समेत स्थानीय सरकार र सम्बन्धीत सबै निकायले योजना र नीति बनाउनुपर्ने आबश्यक देखिन्छ।त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना इकाई प्युठानका प्रमुख चुमानसिह गिरी ले व्यावसायिक तरकारी खेती गर्ने किसानको सामूहिक समस्या नभई खुद्रे र फुटकर तरकारी उत्पादन गर्ने किसानलाई बजारीकरणको समस्या हुने गरेको बताउनुभयो।
पछिल्लो समय व्यावसायिक तरकारी खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ। उहाँले भन्नुभयो -"उत्पादित कृषि उपजको बजारीकरणका लागि कृषिका सम्बन्धीत संघसंस्था र स्थानीय सरकारबिच समन्वय गर्ने कार्य भैइरहेको छ।"
उहाँका अनुसार जिल्लामा उत्पादन हुने तरकारीको बजारीकरणका लागि प्युठान नगरपालिका वडा नम्बर ७ स्थित टिकुरीमा संकलन केन्द्रको स्थापना गर्ने योजना रहेको छ।
अहिले प्युठानमा बर्सेनि ९ देखि ११ सय मेट्रिक टनको हाराहारीमा बाहिर बाट तरकारी भित्रीने गरेको कार्यालयले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्