दलित समुदायको इमान्दार गाडी चालक रेशमलाई किन उचालियो ? 

राम बहादुर बिश्वकर्मा

केही दिन अगाडी मात्र एक अचम्मित घटना झिमरुक गाउँपालिकामा घटेको छ। गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेल चढ्ने भाडाको गाडी चालक रेशम सुनार लाई भएको जातीय विभेदको घटना यतिबेला सामाजिक सन्जालमा छरपस्ट भैरहेका छन।झिमरुक गाउँपालिका दलित संजालले आपत्ति जनाउदै विज्ञप्ति समेत निकाल्यो तर पीडित मानिने चालक सुनारले भने कहिले पनि जातीय विभेदको महसुस भएको छैन भन्ने बिचार आफ्नै आबाजमै सामाजिक संजालमा छ्यापछ्यप्दै छ उता गाडी धनी झिमरुक गाउँपालिका ६ स्थित हेमराज भट्टराईले चालक दलित भएकाले पालिका उपाध्यक्ष चढ्ने भाडाको गाडि सम्झौता नविकरण नगर्ने भन्ने आश्वासन उपाध्यक्ष बाट आएको जानकारी चालक रेशम सुनारलाई दिएको भन्ने  बुझिन्छ ।उक्त जानकारी  यथार्थ हो या होइन यदि यसो हो भने समाज परिबर्तन गर्ने दियो बालेर अगाडि बढ्ने तर दलितको नाममा यस्ता निकृष्ठ तथा घृणित व्यबहार गर्ने पालिका उपाध्यक्ष होस या जो कोहि कानुनी कठघरामा पुर्याउनुको विकल्प नै छैन ब्यक्तिगत स्वार्थ,राजनीतिक प्रतिशोधको आधारमा एउटा बिपन्न दलित समुदायको सोझो चालक सुनार भाईको नाममा सिङ्गो दलितलाई खेलौना बनाउन दुस्साहस गर्ने गाडी धनिलाई पनि आबश्यक कार्बाहिको दाहेरामा ल्याउनुपर्छ दलितलाई  जे पनि गर्न सकिन्छ भन्ने यस्ता दरिद्र सोच राख्ने ब्रहामण बादी चिन्तन बोकेका समाजका यस्ता कलङ्कहरुले समाजमा कहिलेसम्म यस्ता खेतिपाती गर्ने ? एउटा गरि खाने सोझो इमान्दार गाडी चालकलाई आखिर कसले उचाल्यो? एक बिपन्न परिबारको ब्यक्ति गाडी चालकको रोजिरोटी खोस्ने,ब्यक्तिगत तथा पारीबारिक तवरमा मानषिक दवाव सृजना गरेर आफ्ना स्वार्थ पुर्ती गर्न मिल्छ ?

हुन त नेपाली समाजको प्रयोगात्मक अध्ययन गर्ने हो भने पाइला–पाइलामा विभेदका मुहान भेटिन्छ। २१औँ शताब्दीको समाजमा आज पनि दलितलाई सार्वजनिक वा निजी स्थानमा प्रवेश गर्न,उपस्थित हुन वा भाग लिन नियन्त्रण गरिन्छ।व्यक्तिगत वा सामूहिक रूपमा सार्वजनिक स्थान वा समारोहबाट निष्कासन गर्ने कार्य गरिन्छ।दलितलाई कुनै प्रकारको श्रममा लगाउन इन्कार गर्ने वा श्रमबाट निष्कासन गर्ने तथा पारिश्रमिकमा भेदभाव गर्ने चलन कयौं उदाहरण  छन ।
हरेक आयामबाट स्वच्छ समाजको परिकल्पनालाई प्रदूषित गर्न समाजका हरेक तह र तप्कामा आज पनि जातीय,आर्थिक,भौतिक,सामाजिक,सांस्कृतिक, बौद्धिक,राजनीतिक विभेदका विषमय मूल फुटिरहेका छन्।जातीय अस्तित्वको प्रस्थान बिन्दुदेखि फुटेका विभेदका मूल २१औँ शताब्दीसम्म आइपुग्दा सुकेर विभेदरहित,स्वच्छ र विकसित समाजको संरचना खडा भइसक्नुपर्ने हो।विषमय विभेद पोखरीका रूपमा जमेर समाजको सबैभन्दा पिँधमा हरेक आयामबाट कमजोर भएर गुज्रेको मानवीय जीवनलाई डुबाइरहेको छ । त्यो जीवनको मानवीय अस्तित्व विभेदको दलदलबाट आज पनि सतहमा तैरिन सकेको छैन।समाजको सबैभन्दा पिँधमा विभेदले थलाएको,जीवनचक्रले सामना गर्नुपर्ने सयौँ घटना छन् । 
दलित भएकै कारण भौतिक र मानवीय क्षति बेहोर्नुपरेका घटना धेरै छन्।विभेदकै कारण बास,गाँस र कपासको आधारभूत उपयोग गर्न असफल समुदायको ठूलो हिस्सा हरेक समाजमा ज्युँका त्युँ छन् । अन्धविश्वासको नाममा विपन्न दलितका मुखमा मलमूत्र कोचिएको छ । सार्वजनिक स्थल प्रवेशको कारण कुटिनुपरेको छ।अमूर्त विभेदका रूपमा विचार प्रचारप्रसारमा नागरिक स्वतन्त्रता हकको उपयोग गर्न विपन्न दलितलाई पूर्ण छुट छैन।स्वास्थ्य र सामाजिक सुरक्षा प्राप्त गर्ने, सार्वजनिक सेवालगायतका रोजगारीका अन्य क्षेत्रमा सशक्तीकरण,प्रतिनिधित्व र सहभागिताका लागि विशेष अवसर प्राप्त हुनबाट वञ्चित छन् । आफ्नो परम्परागत पेसा,ज्ञान,सीप र प्रविधिको प्रयोग, संरक्षण र विकास गर्ने हकबाट दलित समुदाय उपेक्षित हुँदै गएका छन्।यस्ता घटना समाज विकासको गतिमा नियमित आकस्मिकता मात्र होइनन्।संविधानले सुनिश्चित गरेको नागरिकको मौलिक हक उपयोगको समान अधिकारमाथिको विभेदलाई पनि प्रतिनिधित्व गर्दै स्वच्छ र विकसित समाजको परिकल्पनालाई बाधा पुर्याइरहेका छन् ।लामो कालखण्डदेखि भेदभाव र छुवाछूतको चरम उत्पीडिनमा शाषित पीडित भई बाँच्न बाध्य तुल्याइएका दलितहरूले अन्य गैरदलितहरूका तुलनामा र्सार्वजनिक बस्तु र स्थलहरूको स्वतन्त्र उपभोग गर्न पाइरहेका छैनन्,शिक्षामा पिछडिएका छन्,आर्थिक गतिविधिहरूमा पुर्ण रूपले संलग्न हुन पाइरहेका छैनन्,राजनीतिमा उचित प्रतिनिधित्व गर्न सकिरहेका छैनन् सरकारी-निजामती र निजी क्षेत्रमा जागिर पाइरहेकार् छैनन्।फलस्वरूप उनीहरू गरीबभीत्रका सबभन्दा गरीब,अशिक्षित,प्रतिकुल स्वास्थ्य अवस्थाबाट गुज्रिरहेका छन् ।
दलित समुदाय इतिहासमा पटक पटक विभिन्न बहानामा अपमानित,अपहेलित र उपेक्षित हुँदै आएका छन् । लोकतन्त्र प्राप्तिपछि पनि राजनीतिक बजारमा फेरि विगतमा झैँ दलित समुदायलाई अपमानित हुनेगरी नयाँ शब्दको खेती हुँदैछ। त्यसमा पनि हरेक हिसाबले युगौँदेखि विभेद र उत्पीडनमा पारिएका उही दलित समुदायमाथि । तर त्यो खेती कति जायज र ऐतिहासिक छ–त्यो बुझ्न जरुरी छ ।


अहिले समाजमा बौद्धिक जगत्,नागरिक समाज,उच्चपदस्थ व्यक्ति र उत्पीडित समुदायको साङ्गठनिक जमातसमेत भेदभावविरुद्ध एकजुट हुन सकेको छैन।साक्षरताबाहेक मानवीय चेतनाको अभावमा विभिन्न कित्तामा विभाजित मानसिक चरित्रले आजका मानिसलाई अमानवीय बनाइरहेको छ ।हाम्रो समाजको इन्द्रेणी संरचनामा विभेदका जरा उमारेर त्यसबाट आजीवन फाइदा लिइराख्न समाजभित्रै एउटा वर्गले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । कुनै पनि वस्तुको उत्पत्तिपछि त्यसको संरक्षण नहुने हो भने प्राकृतिक छनोटको सिद्धान्तअनुसार त्यसको स्थिति स्वतः निष्क्रिय हुँदै अस्तित्व समाप्त हुन्छ।सामाजिक विभेद,जातीय भेदभाव र छुवाछूत पनि समाज निर्माणको चरणमा शासकद्वारा तय गरिएका अप्राकृतिक निर्देशन हुन्; जुन समयको गतिसँगै कठोर र बोझिला हुँदै हरेक आयामबाट विकसित समाजको बाधक बन्न पुगे। सामाजिक विभेद र छुवाछूतजस्ता जघन्य अपराध आखिर किन र कोद्वारा संरक्षित हुँदै आज पनि शक्तिमान विकृतिका रूपमा स्थापित छन्? वैचारिक, भौतिक र वैधानिक विद्रोह गर्दा पनि विभेद र भेदभावको सङ्क्रमण किन हट्न सकेको छैन। भेदभावका जरा किन मक्किन सकेका छैनन्? संरचना किन भत्किन सकेको छैन ?छुवाछूतको जग किन चिरा पर्न सकेको छैन ? विषमय पालुवा किन झर्न सकेका छैनन् ?अहिलेको सोचनिय बिषय बनेको छ।

 


आजको युगसम्म आइपुग्दा दलित एउटा सङ्घर्ष र बलिदानको साझा नाम वा परिचय बन्न पुगेको छ । तर यसअघि दलितलाई अपमान,अपहेलित र अछुत तथा दासको रूपमा चिनाउने खेल भयो।अहिले पनि त्यो क्रममा कमी देखिएको छैन।अप्रत्यक्ष रूपमा झन् ठूलो विभेदको शिकारमा छन् आम दलितहरू त्यस्तै  प्युठान जिल्लामा जातीय बिभेदका घटनाका मुद्दा बेलाबेलामा बाहिर न आएका होइनन् तर विशेष अबस्थामा मात्र बाहिर आउने गर्दछ्न कि त केही सचेत ब्यक्तिको भोगाई बाट बाहिर आउने गर्दछ्न त कुनै दाउपेचका कारण सोझो ब्यक्तिलाई विभेद भएको बहाना गर्न लगाइन्छ र अन्तिममा पिडित भनिने ब्यक्तीलाई होस्टाइल बनाइन्छ।जिल्लामा यस्ता गतिविधि उदाहरण मात्र हुन।