बाबालिकाहरूको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालय र शिक्षक मात्रै लागेर सम्भव होला र ?विद्यालय र शिक्षकले गरेपछि बालबालिकाको उपलब्धि सुधार अरूले गर्नेभन्दा बढी हुन्छ भन्ने कुरामा छलफल र विवाद नै गर्नुपर्दैन।तर,बालबालिकाको सिकाइलाई घरपरिवार र समाजले उत्तिकै प्रभाव पारेको हुन्छ किनकि विदाको समयमा चौबीसै घण्टा र अन्य दिन १८ घण्टा विद्यार्थी परिवार र समाजमा हुन्छ ।
लामो विदालाई मध्यनजर गरेर विद्यालयद्वारा गृहकार्य र परियोजना कार्य दिइएको छ ।साँच्चै ती कार्यहरू आफ्ना बालबालिकाले गरेका छन् कि छैनन् भन्ने कुरामा अभिभावक कत्तिको सचेत हुनुहुन्छ र त्यसको लागि परिवारको तर्फबाट वातावरण सिर्जना गरिएको छ या छैन ? पहिलो ध्यान त्यहाँ पुर्याउँ।नतिजा प्राप्त भएन भने विद्यालय र शिक्षकलाई मात्रै दोष देखाउने समाज र राज्यका निकायहरूले बालबालिकाको पढाइ र सिकाइमा कुनकुन पक्षले प्रभाव पारेको हुन्छ भन्ने कुरालाई गम्भीर ढङ्गले बुझ्ने कि नबुझ्ने?विद्यालयहरू विदा भएदेखि प्रत्येक गाउँ/टोलमा प्रत्येक दिनजसो भइरहेका खेलकुद तथा साँस्कृतिक कार्यक्रमले प्रत्यक्ष प्रभाव कसलाई पारिरहेको छ ? रमाइलोका लागि दशैं र तिहारका लागि निर्धारित दिनहरू छन्,ती दिनहरू उपयोग गर्दा कत्तिको उपयुक्त होला ?
शैक्षिक सत्र २०८० को प्युठान जिल्लाको SEE रिजल्ट देशको ७७ औं स्थानमा आएपछि प्रमुख जिल्ला अधिकारीको पहल तथा शिक्षा इकाइको आयोजनामा माध्यमिक विद्यालयका प्रधानाध्यापक र जिल्लास्थित सबै सरोकारवालाबिच सिकाइ सुधारका लागि दिनभरको छलफलमा परिवार र समाजले पनि आफ्ना बच्चाहरूको सिकाइको लागि वातावरण सिर्जना गर्नुपर्ने निष्कर्ष निकालिएको थियो।बालबालिकाको सिकाइमा प्रभाव पार्ने गरी परिवार र समाजमा हुने विभिन्न गतिविधि नियमन गर्ने जिम्मेवारी कसले लिने ? कसको हो ? कि थप कुतर्क र बहस पैरवी गर्ने ? दोस्रो ध्यान यहाँ पुर्याउँ।बालबालिकाको शिक्षामा ध्यान दिएपछि मात्रै समाज रुपान्तरण गर्न अरू धेरै केही गर्नुपर्दैन।
आजका बालबालिका भविष्यका समाज र राष्ट्रका जिम्मेवार खम्बा भएकोले उनीहरूको सिकाइ वातावरण निर्माणमा सबैले आवश्यक सहयोग गरौं।सिकाइ एकछिनमा हुने कुरा होइन यो निरन्तर अभ्यासमा आधारित पनि हुन्छ । शिक्षा मानिसको तेस्रो आँखा भएकोले यसलाई तेज गराउने कुरामा सबैले जोड गरौं ।
लेखक : जायश्वर जैशी
गौमुखी माध्यामिक बिध्यालय ठुलाबेशिका सहायक प्रध्यानाध्यापक हुनुहुन्छ।
प्रतिक्रिया राख्नुहोस्