सिता बि.क
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ३ जुम्रीका गुमानसिंह बिश्वकर्माको दैनिकी तामाका भाडा बनाएरै बित्छ।बिहानदेखि साँझसम्म उनि विभिन्न प्रकारका भाडा बनाउने काममा व्यस्त हुन्छन्।
तस्बिर :यी हुन प्युठान नगरपालिका ३ जुम्रीमा तामाको भाडा बनाउन ब्यस्त गुमानसिह बिश्वकर्मा
विगत ३५ वर्षदेखि उनी यही पेसामा छन्। तामाका भाडा बनाएरै आफ्नो जीविकोपार्जन गर्दै आएका उनलाई पुस्ता हस्तान्तणको चिन्ता छ।किनकि पुर्खौदेखि अंगाल्दै आएको पेसालाई नयाँ पिढीले अंगाल्न सकेका छैनन्।उमेरले बिश्वकर्मा ५९ बर्ष काटे।कपाल मात्र होइन गालाको चाउरीपनले पाका उमेरका देखिन्छन्।तर जोस २० वर्षको लक्का जवानकोभन्दा कम छैन।दाङको तुल्सिपुर उपमहानगरपालिका ३ मा जन्मिएका बिश्वकर्माले जान्ने हुदाँबाट नै तामासँग खेल्न शुरु गरेका हुन् । बुवा,बाजेको पुर्ख्यौली पेशा हो तामाका भाडा बनाउने।उनका बुवाले सीप सार्दै बुवाबाट गुमानसिहले यो सीप सिकेका हुन।कक्षा ५“सम्मको औपचारिक शिक्षा लिएका बिश्वकर्मालाई सानैबाट पेशा प्रति माया बसेको हो।उनी भन्छन्, बुवाले बनाएका राम्रा राम्रा भाडा देख्दा मलाई नि बनाउ बनाउ लागि रहन्थ्यो। त्यहि रहर र मायाले होला मलाई आज यहाँसम्म ल्याएको लामो समय पहिले दाङको तुल्सिपुर उपमहानगरपालिका ३ बाट ब्यबसायका लागी प्यूठान छिरेका बिश्वकर्माले भन्छन्,‘पहिलो दिन पुरानो तामाको गाग्री बनाएर १ सय कमाएको क्षण अहिलेसम्म भुलेका छैन।गुमानसिहको घरखर्च यसैबाट चलेको छ।प्युठान नगरपालिका ३ जुम्रीमा आफ्नो कमाइले जोरेको घरमै व्यवसाय गरिरहेका छन्।तर,गुमानसिंहको पेशा सम्हाल्ने अबको पुस्ता छैन।‘छोराले तामामा दुःख बढी हुन्छ भन्दै सुनका गहना बनाउने काम थाल्यो।गुमानसिंहले गुनासो पोखे,‘काम गर्न कठिन छ।पैसा कम छ भनेर नयाँ पुस्ता यता लाग्दैन।’
बुवाको सहयोगीको रुपमा काम गर्दागर्दै सीप सिकेको बताउने उनले सुरुमा पुराना भाँडाकुडा टाल्ने काम गरेका थिए।उनी भन्छन्,“अहिले जस्तो तालिम दिने लिने चलन कहाँ पाउनु ।जे देख्यो त्यही सिके ।यसलाई निरन्तरता दिदै अहिले तामाका सबै भाँडा बनाउनेसम्म भएको छु ।”दुई सन्तानका बुवा गुमानसिहको यही मुख्य पेशा हो ।यसैबाट छोराछोरीको लालन पालन बिहेवारी जग्गा जमिन जोरेका उनलाई यो पेशालाई छाड्ने अझै मन छैन।उनी भन्छन्,’अहिलेसम्म मैले बनाएका भाँडाकुँडा मन नपराउने कोही हुनुहुन्न।यहाँ बनाएका तामाका सामाग्री देश विदेशसम्म पुगेका छन् ।गुमानसिहले यहाँ विभिन्न प्रकारका बत्ती बाल्ने तामाका पाला,गाग्री रोचे(ठुलो तामाको गाग्री)बुट्टे र सादा हत्तर (सानो तामाको गाग्री)खड्करो,विभिन्न प्रकारका ताउला,लोटा,आमखरा,नर्सिया,बाजा,सनै,भोकर,माना,पाथी,डाला लगायतका तामाबाट बन्ने विभिन्न प्रकारका भाँडालाई बुट्टा भरेर निर्माण गर्ने गर्दछन्।
गुमानसिह बिश्वकर्माले तयार गरेका तामा विभिन्न सामाग्री

गुमानसिह भन्छन्,“मेरो कला र सीपबाट धेरै मानिसहरु प्रभावित छन्।मैले बनाउने भाँडाका आकार र प्रकार धेरैलाई सुन्दर लाग्छ तर पनि यो पेशालाई व्यावसायिक बनाउन कसैले पहल गरेका छैनन् । बजारमा पाईने तामाका धेरै भाँडाहरु मेसिनले निर्माण गरेका हुन्छन् तर मैले एउटा सानो तामाको गाग्रीलाई तीनदिन लगाएर फुलबुट्टा भरेर बनाउने गर्दछु ।यहाँ आउने ग्राहकहरु शुरुमा राम्रो कामका लागि धन्यवाद दिएपनि पैसा दिने बेलामा मोल घटाउन बल गर्ने गरेको उनले बताए।पुर्खाले गरेको पेशालाई निरन्तरता दिएका उनले आफु पछि सन्तानले यसलाई निरन्तरता दिन्छन् भन्नेमा ढुक्क छैनन ।उनी भन्छन्,“पहिले दलितले पढेर जागिर पाइदैन भन्ने थियो पेशा नगरी नहुने थियो,अहिलेका छोराछोरीले यो पेशालाई त्यति ध्यान दिदैनन् । काम गर्न कठिन छ पैसा कम छ ११,१२ सम्म पढ्यो कि बिदेशिन रहर गर्ने धेरै छन।
२०४५ सालमा उनले आफ्नो बाउबाजेको थलो दाङ्ग छाडेर प्युठान उक्लेर आफुले सोचे जस्तो व्यापार भएको बताए।उनी भन्छन्,“यहाँ काम गरेपछि राम्रो आम्दानी भएको छ। पहिले मान्छेहरुले काम गराए पछि अन्नपात दिने चलन थियो अहिले खुरुक्क पैसा दिने चलन रहेको समेत सुनाए।स्थानीय गङ्गलाल बिष्टले गुमानसिहको सीप देखेर लोभ लागेको अनुभव बताए।उनले बिगतदेखी ब्यबसाय सन्चालन गरि धेरै ग्राहकको मन जितेको भन्दै उनलाई अब कहि जान नपर्ने बताए।उनले सीप मानिसको सबै भन्दा ठुलो सम्पत्ति हो भन्दै गुमानसिहबाट हाम्रो समाजमा रहेका धेरैले सीप सिकेर आत्मनिर्भर हुने बाटो रोज्नु पर्नेमा जोड दिए ।यसरी आफ्नै अगाडि आफ्नो बयान सुन्दा मख्ख परेका गुमानसिह आफुले जसोतसो पुर्खौली पेशालाई धाने पनि अब लोप हुन लागेको चिन्ता व्यक्त गर्दछन्।यो सीपलाई जोगाएर पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने रहर छ उनको।त्यसका लागि स्थानीय सरकारले पहल गरोस् भन्ने छ उनलाई।आफु जतिवेलामा सरकारको सहयोग पाए सीप सिकाउन तयार रहेको पनि बताए।यदि सिकाउन सकिन भने यो मेरो कला र सीप मसँगै मरेर जानेछ बाँकी पछिल्लो पुस्तालाई हातले पनि यति सुन्दर सामान बन्छन् भन्ने सम्मको जानकारी पनि नहुने उनको भनाई छ।गुमानसिहलाई देशमा भएका ठुला ठुला राजनीति परिर्वतनले कहिल्यै छुन सकेन चुनावका बेलामा ढोग्नेहरुले पनि जिते पनि चिनेको अनुभव कहिल्यै छैन उनीसँग। परिर्वतनका लागि धेरै पटक मतदान गरे पनि आफु भाडा पिट्ने र कोईलासँग खेल्ने काममै रमाउनुको विकल्प छैन उनीसँग ।तर पनि आफ्नो पेशा र व्यवसायीक बनाउने उनको रहर छ ।हाल सम्म कुनै सरकारी निकाय तथा स्थानीय तहबाट सहयोग नपाएको दुखेसो समेत सुनाए।
बिश्वकर्माको कार्यस्थलमा पुगेर जानकारी लिदै
नियम अनुसार सीप विकास,आधुनिकता र लगानी बढाउन नसक्दा पनि दलित समूदायका पेशा संकटमा परेका छन्।यसले गर्दा व्यवसायबाट आम्दानी हुन छोडेको छ। आम्दानी नै नहुने भएपछि युवा पुस्ताको आकर्षण घटेको छ ।तामाबाट निर्मित विभिन्न सामग्रीको स्वदेश देखि विदेशमा प्रशस्त माग छ।यसलाई निरन्तरता दिनेहरूले गतिलो आम्दानी पनि गरिरहेका छन्।तर,दलित समुदायले तामाको भाडा बनाउने कामलाई आधुनिकीकरणमा सरकारले सहयोग नगरेपछि पेशाबाट पलायन हुने क्रम बढ्दो छ।
त्यस्तै उद्योग वाणिज्य संघ प्यूठानका महासचिव शन्देस आचार्यले साराङ्गी बजाउने,जुत्ता बनाउने र कपडा सिलाउने सम्बन्धी विशिष्ठ ज्ञान क्षमता राख्ने दलित समुदायलाई अग्राधिकार दिन राज्यको नीति हुनुपर्ने बताए । प्यूठान जिल्लामा जुत्ता पसल,कपडा सिलाई र सून पसल दलित समुदायले छोड्दै गएपछि गैरदलित समुदायले यसलाई आधुनिकतासँगै अगाडि बढाएको बताए।
समयानुसार पेसाको आधुनिकीकरण हुन नसक्नु,बजारमा बनेका तयारी कपडा तथा सामानको बढ्दो प्रयोग र नयाँ पुस्ताको बेवास्ताका कारण उनीहरुको पेशा सङ्कटमा पर्न थालेको हो,महा सचिव आचार्यले भने।उनका अनुसार दलित समुदायले गर्दै आएको पेशा खोसिएको हुँदा उनीहरुलाई पुनः आफ्नै पेशामा फर्काउन राज्यले समग्रमा,सबै किसिमको आर्थिक एवं सामाजिक असमानता हटाई दलित समुदायको आर्थिक सबलीकरण गर्न उनीहरुको परम्परागत पेसा,कला,सीप,व्यवसायको प्रोत्साहन र प्रवद्र्धनमा राज्यले नीति तथा कार्यक्रम ल्याउनुपर्छ।परम्परागत रुपमा बिश्वकर्मा समुदायले तामाको भाडा बनाउने र मर्मत गर्ने काम गर्दै आएका छन्।तर उनिहरुले गर्दै आएको कामको सम्मान र समयसँगै आधुनिकीकरणमा तीन तहको सरकारको उपेक्षाले यो समुदायमा नयाँ पुस्ताको आकर्षण छैन भने कतिपय पेसाबाटै पलायन भएका छन् ।समाजिक रुपमा पनि उपेक्षा हुने र समयअनुकुल सीपलाई आधुनिकीकरण गर्न नसकेपछि परम्परागत रुपमा गर्दै आएको कामबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको ती समुदायका अगुवाहरुको भनाई रहेको छ।प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले दलितहरुको परम्परागत पेशाको संरक्षण र दलित समुदायको जिवनस्तरलाई माथि उठाउनका लागी विभिन्न कार्यक्रम गर्दै आएको बताए।जातीय विभेद तथा छुवाछूत अन्त्य गर्न,दलितलाई आयमूलक काम र जीविकोपार्जनमा सुधार ल्याउन,परम्परागत सिपको परीक्षण,योग्यता र समकक्षता निर्धारण गर्नुका साथै संरक्षरण गर्न,सिपको आधुनिकीकरण गर्न,उद्यमका लागि सहजीकरण गर्न आवास र उत्पादनका स्रोतसाधनमा पहुँच बढाउन,अवसरमा प्राथमिकता दिन,शिक्षामा प्रोत्साहन गर्न,सामाजिक सुरक्षा र स्वास्थ्यमा पहुँच बढाउने उद्देश्यले दलित ऐन समेत पारित गरी दलित समुदायले गर्दै आउनुभएको परम्परागत पेशा व्यवसायलाई आधुनिकिकरण गरी अगाडि बढाउनका लागी आधुनिक खालका सिलाई मेसिनहरु,बाजा बजाउने सीप बिकास तालिम,आरन लगायतका प्रबिधि उपलब्ध गराएका छौँ ।’नगरमा पिछडिएका समुदायलाई आर्थिक रुपमा सबल तथा सक्षम बनाउन आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको नगर प्रमुख योगिको भनाई छ।पुस्तौँदेखि दलित समुदायले गर्दै आएको परम्परागत पेशामा आधुनिकीकरणसँगै राज्यले लगानी नगर्दा विस्थापित हुन पुगेको दलित अधिकारकर्मी सुनिल सापकोटाले बताए।दलित समुदायका पेशाको संरक्षणमा सरकारले ध्यान पुर्याउन आबश्यक छ।उनले भने,“दलित समुदायका विभिन्न जातिले गर्ने सीपमूलक पेशा र व्यवसायलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नहुँदा तथा राज्यले समेत उनीहरुको सीप पेसागत रुपमा दलितले गर्दै आएको पेशामा गैर दलितले ठुलो लगानी गरि सीप,पेशा र बजारमा कब्जा जमाउनुले युवापुस्ताको आकर्षण घटेको हो,अब यो पेशालाई जीवित राख्नका लागि यसमा राज्यले नै लगानी गर्नुपर्ने आवश्यक छ।”दलित अधिकारकर्मी सापकोटाले दलितको परम्परागत सीप पछिल्लो समयमा लगानी गर्न सक्ने अन्य जातिलेसमेत सञ्चालन गर्न शुरु गरेपछि दलित समुदाय पलायन हुनुपरेको तर्क गर्छन् । सामाजिक अपमान र राज्यको समेत सहयोग नहुँदा दलित युवा परम्परागत सीपमूलक व्यवसायप्रति आकर्षित नभएको दलित अधिकारकर्मीको भनाइ छ।
जबसम्म दलित लगायत उत्पीडित समुदाय आर्थिक रुपमा सबल हुँदैनन्,तबसम्म देशको समृद्धि भएको मान्न सकिँदैन।समाजिक रुपमा पनि उपेक्षा हुने र समयअनुकुल सीपलाई आधुनिकीकरण गर्न नसकेपछि परम्परागतरुपमा गर्दै आएको कामबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएकोले दलित समुदायका पाका उमेरका मानिसले लोप हुन लागेको पेशामा राज्यले लगानी गरेर संरक्षण गरिदिए नयाँ पुस्ताले उक्त पेशालाई अंगाल्ने थिए की भन्ने बुझाई दलित अगुवाहरुको छ।दलित समुदायले गर्दै आएको परम्परागत पेशाको सम्मान र समयसँगै आधुनिकीकरणमा तीन तहको सरकारको उपेक्षाले यो समुदाय पेशाबाट पलायन हुने क्रममा छन्।जातिय पहिचान बोकेको कला-संस्कृतिको संरक्षण नहँदा अस्तित्व नै मेटिन थालेको छ ।यसलाई मध्य नजर गरेर तिनै तहका सरकारले सिप सिकाउने,टिकाउने र बिकाउने खालका कार्यक्रम संचालन गर्नुपर्ने दलित अभियन्ताहरु बताउँछन ।पुरानो सीपले नयाँ युगको सेवा गर्नुपर्ने ठाउँमा सत्ता संचालनमा हुनेहरुले चासो नदिँदा विदेशीको भर पर्नुपरेको छ।यही विडम्बनाले गर्दा नै प्युठानका दलित समुदायबाट आफ्नो परम्परागत पेसा छोड्नेको संख्या बढिरहेको छ ।




प्रतिक्रिया राख्नुहोस्