राष्ट्रिय सभा उम्मेद्वारको प्रचार टोली प्यूठानमा

प्रकाश बैद्य
प्यूठान,राष्ट्रिय सभा निर्वाचनका लागि गठवन्धनका उम्मेद्वारहरुको टोलीले लुम्विनी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रचारात्मक अभियान अघी बढाए संगै आज प्यूठान जिल्लामा प्रचारात्मक एवं परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
गठवन्धनको तर्फवाट राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वार झक्कु प्रसाद सुवेदी र विष्णु कुमारी सापकोटाको प्रचार टोलीले प्यूठान नगरपालिकामा प्रचारात्मक कार्यक्रम सम्पन्न गरेको हो ।
संयुक्त पाँच दलिय गठवन्धनद्धारा आयोजित परिचयात्मक तथा प्रचारात्मक कार्यक्रममा राष्ट्रिय सभा निर्वाचनका उम्मेद्वार झक्कु प्रसाद सुवेदी र विष्णु कुमारी सापकोटाले आफुहरुको राजनीतिक पृष्ठभुमि सहितको परिचय सहित निर्वाचित भए पछी प्यूठान जिल्लाको विकास तथा नीतिगत सुधारका लागि आवश्यक भुमिका खेल्ने प्रतिवद्धता जनाएका थिए।विगतका उपलव्धीहरुको रक्षा गर्ने गठवन्धनको कार्यनीति मिलेको भन्दै उम्मेद्वार झक्कु प्रसाद सुवेदीले चुनाव विजय भए पछी हतारमा होइन प्यूठानका पालिका पालिकामा आएर विकास निर्माणमा जोडिने आफुहरुको कर्तव्य भएको बताए।आफु गा.वि.स. सचिव,जि.वि.स.सभापति ,प्रतिनिधि सभा सदस्यको रुपमा जिम्मेवारी पुरा गरी सकेको बताउँदै उम्मेद्वार सुवेदीले यहाँका दुःखी सुःखी को को छ राम्रो संग थाहा भएकाले विधेक निर्माण गर्दा जनताको सुख दुःख बुझेर जिम्मेवारी पुरा गर्ने समेत प्रतिवद्धता जनाए । गठवन्धनकै तर्फवाट अर्का उम्मेद्वार विष्णु कुमारी सापकोटाले आफुहरु विजयी भए पछी जिल्लाको वस्तुस्थिति राम्रो संग छलफल गरेर विकास ,निकास तथा नीतिगत व्यवस्थाका सन्दर्भमा प्रतिनिधि सभाले पारित गरेको विधेक राष्ट्रिय सभामा गहन ढंगले छलफल गरी जनताको भावना अनुसार गर्ने प्रतिवद्धता जनाइन् ।
नेकपा माओवादी केन्द्र प्यूठानका संयोजक नमराज अधिकारी (रोशन) को अध्यक्षतामा भएको सो परिचयात्मक तथा प्रचारप्रसार कार्यक्रममा गठवन्धन दलका केन्द्र ,प्रदेश,जिल्ला हुँदै पालिका तह सम्मका नेता तथा कार्यकर्ताहरु,प्रदेश सभा सदस्यहरु,विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेसका जिल्ला सभापति विष्णु कुमार गिरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्विनी प्रदेशका उप –सभापति भुवन प्रकाश श्रेष्ठ,रा.ज.मो.केन्द्रीय सदस्य कृष्ण खड्का र माओवादी केन्द्रका लुम्विनी प्रदेश सचिव कृष्ण अधिकारी(प्रकाश)ले गठवन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन अनुरोध एवं शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रमको सञ्चालन रा.ज.मो.जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपानेले गरेका थिए ।