काठमाडौँ,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको ६० किलो ७ सय १६ ग्राम सुनको अनुसन्धान गर्न सीआईबीले डीएसपी नेतृत्वको टिमलाई भारत पठाएको छ । डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको सीआईबीका एक जना अधिकृतले लाई बताए ।
अन्तर्राष्ट्रिय प्रहरी संगठन (ईन्टरपोल)को समन्वयमा सूचना संकलनका लागि भण्डारी नेतृत्वको टिम भारत गएको हो । सुन अनुसन्धान टिममा दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदी पनि सहभागी छन्।
काठमाडौँबाट गएको टिमले एसएसपी चतुर्वेदीसँग समन्वय गरेर काम गर्ने अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।
हङकङबाट काठमाडौँ ल्याएर तस्करले भारतमा सुन पठाउने गरेको अनुसन्धानबाट देखिएपछि भारतमा सुन ‘रिसिभ’ गर्ने समूहको अनुसन्धानका लागि भण्डारी भारत गएका हुन्।
चतुर्वेदीले सुन तस्करीमा संलग्न आरोपित किशोर बस्नेतलाई पक्राउ गरेर काठमाडौँ पठाएका थिए । बुधवार बस्नेतलाई काठमाडौँ ल्याइएको हो ।
सीआईबीले सूचना संकलनका लागि प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको छ । साउन १२ मा राति उनी हङकङ प्रस्थान गरेका हुन् । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को समन्वयमा एसएसपी दिनेश आचार्य हङकङ गएका हुन् ।
हङकङबाटै तस्करी गरेर ल्याएको ६० किलो ७ सय १६ ग्राम सुन राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । विभागले अनुसन्धानको जिम्मेवारी साउन २१ मा सीआईबीलाई हस्तान्तरण गरेको थियो ।
अनुसन्धानका लागि इन्टरपोलको सहयोग माग्दै सीआईबीले प्रहरी प्रधान कार्यालय मार्फत यसअघि नै पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय हङकङ र दुबईबाट सुन तस्करी हुने गरेको अनुसन्धानबाट थाहा भएको छ । सुन प्रकरणमा चिनियाँ नागरिकको मुख्य भूमिका देखिएको छ ।
बरामद सुन ‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँमा ल्याएको थियो । नेपालमा ल्याएपछि सुनलाई गालेर गिरोहले भारत पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानबाट थाहा भएको छ ।
रातो पाटी बाट साभार:
प्रतिक्रिया राख्नुहोस्