हराउँदै दुना टपरी,संघले थाल्यो संरक्षणको प्रयास महोत्सव स्थलमा प्लास्टिक पूर्ण रूपमा बन्देज

हराउँदै दुना टपरी,संघले थाल्यो संरक्षणको प्रयास महोत्सव स्थलमा प्लास्टिक पूर्ण रूपमा बन्देज

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान उद्योग बाणिज्य संघको आयोजनामा सन्चालन हुन लागेको स्वर्गद्वारी प्युठान महोत्सव प्लास्टिक जन्य बस्तु लाई निषेध गरिने भएको छ ।
आयोजक सस्थाका पुर्ब अध्यक्ष इमानसिह भारतिका अनुसार प्लाष्टिक र प्लाष्टिकजन्य वस्तुले पर्यावरणमा असर पार्ने भएकाले‘मौलिक खानामा कुनै पनि प्लास्टिक र प्लास्टिकजन्य वस्तुलाई निषेध गरिएको छ । प्लास्टिकले वातावरणसँगै मानवीय स्वास्थ्यमा असर पार्ने भएकाले महोत्सवमा प्लास्टिक पूर्ण रूपमा बन्देज गरिएको उनको भनाइ छ।‘
महोत्सवमा साल र मालु पातको दुना–टपरी प्रयोग गरिने भारतीले बताए । उनले महोत्सवमा आएका पाहुनालाई साल र मालुबाट तयार पारिएको दुना तथा टपरीमा मात्र खानाका परिकार खुवाउने बताए। आवश्यक पर्ने दुना तथा टपरीको जोहो भइसकेको बताउँदै उनले प्लास्टिकका झोलासमेत प्रयोग नहुने बताए । ‘महोत्सव अवधिभर झन्डै १५ हजार दुना र टपरी खपत हुने अनुमान छ,’उनले भने।
केही वर्षदेखि धार्मिक कर्मकाण्ड गर्दै आइरहेका प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री का गोपाल पौडेलले हालका कर्मकाण्डमा दुना टपरीको प्रयोग कम हुँदै आइरहेको सुनाउँछन्। 
यदि दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकियो भने पेपर र प्लाष्टिक विस्थापित हुने उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्मा बताउछिन्।
दुना टपरीलाई व्यावसायिक रूपमा प्रयोगमा ल्याउन सकिएमा पर्यावरण असर नपुग्ने र जंगलमा त्यसै खेर गइरहेका सालका पातबाट लाखौँ रुपैयाँ आम्दानी गर्न सकिने उनको भनाई छ।
दुना टपरीमा केही कुरा राखेर खाएमा निकै समय तातै रहन्छ र स्वास्थ्यका लागि फाइदा पनि गर्ने भएकाले प्लाष्टिकका सामग्रीभन्दा यसतर्फ ध्यान दिन आवश्यक भएको डाक्टर सुबास जि सि को भनाइ छ। प्लाष्टिक वा कागजका सामग्री राखेर तातो खानेकुरा खाएमा स्वास्थ्यमा असर गर्ने जि सि बताउँछन्।