राम बहादुर बिश्वकर्मा
प्युठान,एक समय उपचार खर्च जुटाउनै मुस्किल परेको सरु गुरुङको जीवनमा अहिले खुसी फर्किएको छ। मिर्गौलाको गम्भीर समस्याबाट गुज्रिरहेकी सरु सहयोगी हातहरूको साथ र निरन्तर उपचारपछि पूर्णरूपमा निको भएकी छन्।उनको स्वास्थ्यलाभको खबरले उपचारका लागि सहयोग अभियानमा सक्रिय समाजसेवी बद्री प्रसाद प्रधान पनि खुसी भएका छन्।
“सरुलाई बचाउनुपर्छ” भन्ने उद्देश्यले प्रधान र महेश कक्षपतिको सक्रियतामा सहयोग अभियान सुरु गरिएको थियो। दैनिक मजदुरी गरेर परिवार पाल्दै आएकी सरुको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि आवश्यक रकम जुटाउनु परिवारका लागि ठूलो चुनौती बनेको थियो।करिब २० वर्षअघि स्याङ्जाबाट प्युठान आएकी ३६ वर्षीया सरु विजुवारस्थित ओम फर्निचर उद्योगमा श्रीमान् बुद्धिराम गुरुङसँगै मजदुरी गर्दै आएकी थिइन्। वर्षौंसम्म मजदुरीकै आम्दानीबाट परिवारको खर्च धान्दै आएको उनको जीवनमा अचानक मिर्गौलाको समस्या देखिएपछि उपचारका लागि आर्थिक संकट थपिएको थियो।
सरुको अवस्था थाहा पाएपछि समाजसेवी तथा सुश्री मेडिकल हल,बिजुवारका सञ्चालक बद्री प्रसाद प्रधान र महेश कक्षपति सहयोग जुटाउन अघि सरे। बजारवासी, समाजसेवी तथा अन्य सहयोगदातामाझ अभियान सञ्चालन गरियो। अभियानबाट एकै दिन ८५ हजार ४० रुपैयाँ संकलन भयो।
सहयोग रकमसँगै प्रधानले औषधि तथा ल्याब परीक्षणसमेत निःशुल्क उपलब्ध गराए। संकलित सहयोग र प्युठान नगरपालिकाको एम्बुलेन्सको सहारामा सरुलाई उपचारका लागि बुटवल पठाइएको थियो।अभियानमा कसैले थोरै त कसैले आफ्नो क्षमताअनुसार सहयोग गरे। रकमको आकारभन्दा ठूलो थियो त्यसमा जोडिएको मानवीय भावना।स्थानिय बाट प्राप्त सहयोग र निरन्तर उपचारपछि अन्ततः सरुले स्वास्थ्यलाभ गरिन्।
अहिले सरु पूर्णरूपमा निको भएकी छन्। चिकित्सकको सल्लाहअनुसार अब नियमित औषधि सेवनसमेत गर्न नपर्ने जानकारी प्राप्त भएको छ। लामो समयदेखि रोगसँग संघर्ष गरिरहेकी सरुको जीवनमा आएको यो परिवर्तनले उपचारमा सहयोग गर्नेहरूमा समेत खुसी छाएको छ।
सरु निको भएको खबरपछि प्रधानले सहयोग अभियानमा साथ दिने सम्पुर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेका छन्। उनले भनेका छन्,“केही समयअघि मिर्गौला पीडित सरु गुरुङको उपचारका लागि हामीले सहयोग अभियान सुरु गरेका थियौँ। उहाँ पूर्णरूपमा निको हुनुभएको खबरले मन निकै खुसी भएको छ। डाक्टरको सल्लाहअनुसार अब औषधि खान नपर्ने जानकारी पाउनु झनै खुसीको कुरा हो।”
प्रधानले सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि असहाय तथा विपन्नका लागि यस्तै सहयोगको अपेक्षा गरेका छन्। “तपाईंहरूको सानो-सानो सहयोग र सद्भावले एउटा जीवनमा ठुलो आशा र खुसी ल्याउन सम्भव भएको छ। आगामी दिनमा पनि उपचारको अभावमा रहेका व्यक्तिहरूका लागि सबै पक्षबाट यस्तै साथ,सहयोग र सद्भाव प्राप्त भइरहोस् भन्ने अपेक्षा गर्दछु,” उनले भने।
स्वास्थ्यमा सुधार आएपछि सरुले पनि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्।उनले भनिन्,“हजुरहरूको सहयोगले मलाई बचाउन सफल हुनुभयो। हजुरहरू सबैलाई धन्यवाद।अब म पुर्णरूपमा निको भइसकेँ। बाँकी समयमा जम्मा हुन आउने रकम म जस्तै विपन्न व्यक्तिलाई सहयोग गरिदिनुहोला।”

प्रतिक्रिया राख्नुहोस्