क्षेत्रीय सभापतिमा नविल विक्रम शाहको शानदार उदय

प्यूठान,नेपाली कांग्रेस प्यूठानअन्तर्गत प्रदेश सभा (क) को क्षेत्रीय सभापतिमा नविल विक्रम शाह निर्वाचित हुनुभएको छ। बुधबार सम्पन्न मतगणनाअनुसार शाहले २६८ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित हुनुभएको हो।
सभापतिका प्रतिस्पर्धी दुर्गबहादुर बुढाथोकीले ११४ र नेत्रमणि पोख्रेलले ७३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ।
कुल ४६८ मत खसेकोमा १३ मत बदर भएको थियो। शाहले निकटतम प्रतिस्पर्धी बुढाथोकीभन्दा १५४ मत बढी प्राप्त गर्नुभएको हो।
शाहको निर्वाचित भएसँगै प्रदेश सभा (क) अन्तर्गत नेपाली कांग्रेसको क्षेत्रीय नेतृत्वमा नयाँ नेतृत्व आएको छ।