राम बहादुर विश्वकर्मा
प्युठान,उद्यमशीलताको माध्यमबाट स्थानीय नागरिकलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित प्युठान नगरपालिकाले व्यवसाय सचेतना तथा लैङ्गिक समानता सम्बन्धी तालिम सुरु गरेको छ।गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत वडा नम्बर ७ को पुण्यखोलामा सञ्चालन भएको आठदिने तालिमको नगर प्रमुख विष्णु योगीले उद्घाटन गर्नुभएको हो।
तालिम उद्घाटन गर्दै नगर प्रमुख योगीले रोजगारको खोजीमा बाहिरिने प्रवृत्तिलाई कम गर्न स्थानीय स्तरमै उद्यम र उत्पादनमा आधारित अर्थतन्त्र निर्माण आवश्यक रहेको बताउनुभयो। उहाँले उद्यमशीलता व्यक्तिको आम्दानी बढाउने मात्र नभई परिवारको जीवनस्तर उकास्ने प्रभावकारी माध्यम भएकाले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा लागू गर्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
"सरकारले सञ्चालन गरेका सीपमूलक कार्यक्रमको वास्तविक उपलब्धि तब मात्र देखिन्छ,जब तालिमपछि सहभागीहरू सफल उद्यमीका रूपमा स्थापित हुन्छन्,"उहाँले भन्नुभयो।
कार्यक्रमको अध्यक्षता वडा नम्बर ७ का वडा अध्यक्ष नेत्र बहादुर के.सि.ले गर्नुभएको थियो।उहाँले स्थानीय आवश्यकता र सम्भावनालाई आधार बनाएर सञ्चालन गरिएको तालिमले नयाँ उद्यम स्थापना तथा आयआर्जनका अवसर विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसाल,आर्थिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठ,आर्थिक विकास शाखा प्रमुख चन्द्र जि.सि.,वडा सदस्य ध्रुव थापा,इन्जिनियर प्रेमनारायण पौडेललगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो।
उद्यम विकास सहजकर्ता शारदा विश्वकर्माका अनुसार अभिमुखीकरण कार्यक्रम र घरधुरी सर्वेक्षणमार्फत छनोट गरिएका ३२ जना सहभागीलाई व्यवसाय व्यवस्थापन,उद्यम सञ्चालन,लैङ्गिक समानता,वित्तीय अनुशासन, बजार व्यवस्थापन तथा व्यवसाय योजना निर्माणलगायत विषयमा आठ दिनसम्म प्रशिक्षण दिइनेछ।
नगरपालिकाले मेड्पा कार्यक्रममार्फत सीप विकास, उद्यम स्थापना,प्रविधि हस्तान्तरण र बजारीकरणमा सहजीकरण गर्दै स्थानीय उत्पादन र स्वरोजगारलाई प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्दै आएको छ। यस तालिमले विशेष गरी महिला तथा आर्थिक रूपमा पछाडि परेका समुदायलाई उद्यमतर्फ आकर्षित गरी दीर्घकालीन आयआर्जनका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्