अपाङ्गता मुद्दा उठानमा सक्रिय संचारकर्मी के.सी सम्मानित

राम बहादुर बिश्वकर्मा 
प्यूठान,३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा संचारकर्मी जुमान सिंह केसी सम्मानित भएका छन्। राष्ट्रिय अपाङ्ग महासंघ नेपालले विशेष कार्यक्रम आयोजना गरी अपाङ्गता भएका व्यक्तिहरुकासम्बन्धी मुद्दालाई निरन्तर उठान गर्दै समावेशी विकासमा योगदान पुर्‍याएको भन्दै के.सीलाई सम्मान गरेको हो।
केसीले लामो समयदेखि आमसञ्चार माध्यममार्फत अपाङ्गता सम्बन्धी चुनौती,पहुँचयोग्यताको समस्या, अधिकार र नीतिगत विषयलाई निरन्तर उजागर गर्दै आएका छन्। कार्यक्रमका प्रमुख अतिथि,सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले के.सी.लाई सम्मानपत्र प्रदान गर्दै अपाङ्गता मुद्दामा संचारकर्मीको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरे।
सोही कार्यक्रममा नेपालगञ्जका पत्रकार सिराज खान पनि सम्मानित भए। खानले स्थानीयदेखि केन्द्र सरकारसम्म अपाङ्गता नीतिसम्बन्धी कमजोर पक्ष र सुधारका सम्भावनाबारे निरन्तर रिपोर्टिङ गर्दै आएका छन्।
सम्मानपछि प्रतिक्रिया व्यक्त गर्दै के.सीले भने,“यो सम्मान मेरो उत्साह मात्र होइन,दायित्व पनि हो। अपाङ्गता भएका व्यक्तिहरूका आवाजलाई अझ प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रेरणा पाएको छु।”
राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रतिनिधिहरूले संचारकर्मीहरूद्वारा गरिने निरन्तर जनचेतनामूलक तथा अधिकारमुखी पत्रकारिताले अपाङ्गता–मैत्री समाज निर्माणमा ठुलो प्रभाव पारिरहेको बताएका छन्।