प्युठानको शैक्षिक गौरव मुक्ति माबि,रातामाटाले मनायो ७४ औँ वार्षिकोत्सव

प्युठानको शैक्षिक गौरव मुक्ति माबि,रातामाटाले मनायो ७४ औँ वार्षिकोत्सव

प्युठान,शिक्षा केवल अक्षर चिनाउने माध्यम मात्र होइन,समाज रुपान्तरणको आधार पनि हो।यही मान्यतालाई आत्मसात गर्दै सात दशकभन्दा बढी समयदेखि जिल्लाको शैक्षिक उन्नयनमा अग्रणी भूमिका खेल्दै आएको मुक्ति मा.वि. रातामाटा ले आफ्नो ७४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस उत्साहका साथ मनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दरा के.सी.को अध्यक्षता तथा प्युठान नगरपालिका का नगर प्रमुख विष्णु बहादुर योगी को प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष,पूर्व प्रधानाध्यापक,अभिभावक संघका अध्यक्ष,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी,पूर्व विद्यार्थी,विभिन्न संघ–संस्था तथा निकायका प्रतिनिधि, जनप्रतिनिधि, अक्षकोषदाता,चन्दादाता,अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि विष्णु बहादुर योगी ले विद्यालयको दीर्घकालीन योगदान र सामाजिक भूमिकालाई पनि स्मरण गर्दै,यसले सिर्जनात्मक र जिम्मेवार नागरिक उत्पादन गर्ने प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँका अनुसार नगरपालिकाले विद्यालयसँगको सहकार्यलाई अझ बलियो बनाउँदै आगामी दिनमा आधुनिक शिक्षण उपकरण,डिजिटल कक्षा र आवासीय सुविधा सुधारजस्ता क्षेत्रमा थप सहयोग प्रदान गर्ने योजना बनाएको छ। यसले विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा अगाडि बढाउन थप प्रेरणा मिल्ने उहाँको विश्वास थियो।
वि.सं.२००८ सालमा स्थापना भएको यस विद्यालयले समयको परिवर्तनसँगै आफूलाई परिमार्जित र सशक्त बनाउँदै आएको छ। प्रारम्भिक कक्षादेखि माध्यमिक तहसम्म सीमित रहेको विद्यालय अहिले विज्ञान,व्यवस्थापन,शिक्षा तथा प्राविधिक धारअन्तर्गत सिभिल इन्जिनियरिङ जस्ता विषय सञ्चालन गर्दै जिल्लामै उदाहरणीय शैक्षिक केन्द्रका रूपमा स्थापित भएको छ।
बढ्दो विद्यार्थी संख्या,बढ्दो विश्वास
शैक्षिक सत्र २०८२ को तथ्यांकअनुसार विद्यालयमा कक्षा १ देखि १२ सम्म गरी १ हजार २ सय ४१ विद्यार्थी अध्ययनरत छन्। कक्षा ११ मा मात्र ३९८ र कक्षा १२ मा २८८ विद्यार्थी अध्ययन गर्नु विद्यालयप्रति अभिभावकको बढ्दो विश्वासको संकेत हो।

समावेशी शिक्षा : अभिभावकविहीन 

बालबालिकाका लागि निःशुल्क आवास
विद्यालयले प्युठान नगरपालिका को सहयोगमा अभिभावकविहीन बालबालिकालाई कक्षा १ देखि १२ सम्म निःशुल्क आवासीय सुविधा सहित अध्ययनको अवसर प्रदान गर्दै आएको छ। यो पहलले शिक्षा सबैका लागि भन्ने अवधारणालाई व्यवहारमा उतारेको छ।
प्राविधिक शिक्षामा जोड दिँदै विद्यालयले सिभिल इन्जिनियरिङ सञ्चालन गरिरहेको छ भने शैक्षिक सत्र २०८२ देखि कक्षा ११ मा कम्प्युटर विज्ञान विषय पनि थप गरिएको छ।यसले विद्यार्थीलाई स्थानीय स्तरमै गुणस्तरीय र रोजगारीमुखी शिक्षा प्राप्त गर्ने अवसर उपलब्ध गराएको छ।
शिक्षाप्रेमी प्रतिमान चन्द र जग्गादाता गिरबहादुर खड्काको शालिकमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा स्वागत मन्तव्य शिक्षक बिन्दु बिष्टले गर्नुभएको थियो भने विद्यालयका प्रधानाध्यापक दामोदर बिष्टले आर्थिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।