गौमुखी गाउँपालिकाको सहासिक कदम : गर्भवती तथा सुत्केरी आमाको उद्धार अब हेलिकप्टरबाट

गौमुखी गाउँपालिकाको सहासिक कदम : गर्भवती तथा सुत्केरी आमाको उद्धार अब हेलिकप्टरबाट

राम बहादुर बिश्वकर्मा
प्युठान,गौमुखी गाउँपालिका,प्यूठानले अबदेखि जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाहरूको हेलिकप्टरबाट नि:शुल्क उद्धार सेवा सुरु गर्ने भएको छ।
गाउँ कार्यपालिकाले नेपाल सरकार अन्तर्गतको महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग समन्वय गरी सेवा सञ्चालनमा ल्याउन सफल भएको हो।
यस योजनाले मातृ तथा शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान गर्ने विश्वास लिएको छ।
हाम्रो पालिकामा बसोबास गर्ने प्रत्येक गर्भवती महिलाले सुरक्षित प्रसूति तथा आवश्यक स्वास्थ्य सेवा पाउनु नै उनीहरूको अधिकार भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले बताउनुभयो।
उहाँले हालै सुरु गरिएको हेलिकप्टरमार्फत सुत्केरी तथा गर्भवती महिलाको उद्धार कार्यक्रमलाई एक ऐतिहासिक पहल भन्दै,यो सेवा विशेषगरी दुर्गम तथा कठिन भूभागमा बसोबास गर्ने महिलाहरूका लागि जीवनरक्षक कदम सावित हुने समेत बताउनुभयो।
उपाध्यक्षले थप भन्नुभयो-हामी महिलाहरूको स्वास्थ्य सुरक्षामा कुनै सम्झौता गर्दैनौं।यो सेवा विस्तार सहित अन्य मातृ स्वास्थ्य कार्यक्रमहरूलाई समेत प्रभावकारी बनाउँदै लैजानेछौं।"
यो अभियानमा साथ दिनुहुने महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयप्रति पनि उपाध्यक्ष रानाले धन्यवाद व्यक्त गर्नुभयो।