राम बहादुर बिश्वकर्मा प्युठान,दिपज्योती बचत तथा ऋण सहकारी संस्थाको नवौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । प्युठानको मरन्ठानामा सम्पन्न सभाको उद्घाटन गर्दै सस्थाका अध्यक्ष बिकास के सि ले सहकारी अभियानले छरिएर रहेका पुँजी, श्रम र सीपलाई एकीकृत गर्दै मुलुकको गरिबी न्यूनीकरण र समग्र आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको बताउनुभयो । उहाँले संस्थालाई बलियो, सुदृढ र दिगो गराउन सहकारी एकिकरण गरि सदस्यहरूलाई थप सुविधा प्रदान गर्न सकिने भएकाले एकीकरणमा जोड दिनुपर्ने बताउनुभयो। सस्थाका सस्थापक अध्यक्ष गिर बहादुर भण्डारीले सिमित सेयर सदस्यको सक्रियतामा स्थापना भएको सहकारीले अहिले यति धेरै सेयर सदस्य बिस्तार गरि करिब करोड भन्दा बढी कारोबार गर्दै आएकोमा खुशी व्यक्त गर्नुभयो । ठूलो सहकारी हुँदा समुदायमा समेत सेवा दिन सहज हुने भएकाले सहकारीहरूको एकीकरणमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। ‘अधिकांश सहकारीले पूँजि जुटाउन सकेनन् । सदस्यहरूलाई सुविधा दिन कठिन भयो,’ भण्डारी भन्नुहुन्छ, ‘एक हुँदा पूँजि बढ्छ । सेवा विस्तार गर्न सकिन्छ ।’ एकीकरणले दोहोरो सदस्यताको समस्या समेत हटेर जाने उहाँको भनाई छ। एकीकरण हुँदा सहकारी अभियानलाई अघि बढाउन समेत सहयोग मिल्ने अपेक्षा यस क्षेत्रका अभियन्ताहरूको छ ।
संस्थाका सचिव बिजय जि सि ले सहकारी संस्थाको प्रतिवेदन पेस गर्दै छरिएर रहेको पुँजीलाई एकत्रित गर्दै सदस्यलाई उत्पादनशील र व्यावसायिक बनाउन संस्थाले सहयोग गर्दै आएको जिकिर गर्नुभयो।
सभामा सचिव जि सि ले आ.व. ०७७/७८को प्रगति प्रतिवेदन र ०७८/७९ को कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो।