सुशासनतर्फ माण्डवीको कदम : LGPAS अभिमुखीकरणले बढायो सुधारको अपेक्षा

सुशासनतर्फ माण्डवीको कदम : LGPAS अभिमुखीकरणले बढायो सुधारको अपेक्षा

राम बहादुर बिश्वकर्मा 
प्युठान,स्थानीय तहलाई परिणाममुखी,पारदर्शी र जनउत्तरदायी बनाउने प्रयासस्वरूप माण्डवी गाउँपालिकाले स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली(LGPAS)सम्बन्धी अभिमुखीकरण कार्यक्रमले सुशासनको यात्रामा नयाँ अध्याय थपेको छ।
गाउँपालिका सभा हलमा आयोजित उक्त कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीहरूको उल्लेखनीय उपस्थिति मात्र थिएन,उनीहरूको सक्रिय सहभागिता र चासोले कार्यक्रमलाई अझ अर्थपूर्ण बनाएको थियो। गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू,शाखा प्रमुखहरू,वडा सचिवहरू तथा अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सञ्चालन स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले गर्नुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत भिमकान्त भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै LGPAS लाई “स्थानीय सरकारको कार्यक्षमता नाप्ने ऐना”का रूपमा चित्रण गर्नुभयो।
LGPAS केवल मूल्याङ्कन होइन,सुधारको आधार
LGPAS लाई सामान्य मूल्याङ्कन प्रणालीभन्दा फरक रूपमा हेरिएको छ। यसले स्थानीय तहको कामको गुणस्तर,प्रभावकारिता र पारदर्शितालाई मापन मात्र नगरी सुधारका लागि स्पष्ट दिशा पनि दिन्छ।
कार्यक्रममा प्रस्तुत गरिएका विषयवस्तुहरूमा सूचक निर्धारण,तथ्यांक संकलन,मूल्याङ्कन प्रक्रिया र त्यसपछि सुधारका रणनीतिहरू मुख्य रूपमा समेटिएका थिए। सहभागीहरूले बुझ्न पाए “कुन काम कति राम्रो भयो?” भन्दा पनि “कसरी अझ राम्रो बनाउन सकिन्छ?” भन्ने प्रश्न नै LGPAS को केन्द्रमा छ।
कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिका,दाङका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले गर्नुभएको थियो। उहाँले आफ्नो व्यावहारिक अनुभव प्रस्तुत गर्दै LGPAS कार्यान्वयन गर्दा देखिएका चुनौतीहरू जस्तै तथ्यांक व्यवस्थापन,समन्वय अभाव र समयमै प्रतिवेदन तयार गर्ने समस्या बारे खुलस्त चर्चा गर्नुभयो।
साथै,उहाँले समाधानका उपायहरू पनि सुझाउँदै भन्नुभयो। “सही ढङ्गले प्रयोग गर्न सके LGPAS केवल रिपोर्ट तयार गर्ने प्रक्रिया होइन,परिवर्तन ल्याउने साधन बन्न सक्छ।”
कार्यक्रम एकतर्फी प्रस्तुति मात्र नभई अन्तरक्रियात्मक पनि थियो। सहभागीहरूले आफ्ना अनुभवहरू साटासाट गर्दै विभिन्न जिज्ञासाहरू राखेका थिए जस्तै सूचकहरू कसरी लागू गर्ने, मूल्याङ्कनको निष्पक्षता कसरी सुनिश्चित गर्ने र प्राप्त नतिजालाई योजनामा कसरी रूपान्तरण गर्ने।
यसले कार्यक्रमलाई व्यवहारिक र सहभागीमैत्री बनाएको थियो।
स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ८० बमोजिम सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा तर्जुमा गरिएको “स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०८२” ले LGPAS लाई स्पष्ट कानुनी आधार प्रदान गरेको छ।
यसले स्थानीय तहमा संस्थागत सुदृढीकरण,वित्तीय अनुशासन,सेवा प्रवाहको गुणस्तर र आर्थिक सामाजिक विकासका उपलब्धिहरूलाई व्यवस्थित रूपमा मूल्याङ्कन गर्ने ढाँचा तयार गरेको छ।