राम बहादुर बिश्वकर्मा
प्युठान,जनताका समस्या र अपेक्षा सुन्ने मात्र होइन,त्यसलाई टिपोट गरेर समाधानतर्फ अघि बढाउनुपर्छ भन्ने सन्देश सहित भर्खरै निर्वाचित प्युठानका प्रतिनिधि सभा सदस्य सुसान्त बैदिकलाई नागरिक सरोकार समाज प्युठानले डायरी र पेन उपहार दिएको छ।
बुधबार जुम्रीमा आयोजित “जनतासँग जनप्रतिनिधि ध्यानाकर्षण तथा खबरदारी”कार्यक्रममार्फत नव निर्वाचित बैदिकलाई उक्त उपहार प्रदान गरिएको हो। कार्यक्रममार्फत जनप्रतिनिधिले जनतासँग गरेका वाचा,उनीहरूका समस्या र विकासका आवश्यकतालाई व्यवस्थित रूपमा टिपोट गरी कार्यान्वयन गर्नुपर्ने सन्देश दिइएको आयोजकले जनाएको छ।
नागरिक सरोकार समाजका संयोजक सुमन सुबेदिले विगतका अनुभव सम्झँदै कतिपय जनप्रतिनिधिले जनताका आवाज र मुद्दालाई पर्याप्त महत्व नदिँदा नागरिकले निराशा भोग्नुपरेको बताउनुभयो।उहाँका अनुसार जनताको अपेक्षा र समस्यालाई गम्भीरतापूर्वक लिन र त्यसलाई लेखेर समाधान खोज्ने संस्कार विकास होस् भन्ने उद्देश्यले डायरी र पेन उपहार प्रदान गरिएको हो।
“जनताका मुद्दा सुन्ने मात्र होइन,त्यसलाई टिपोट गरेर कार्यान्वयनतर्फ लैजानु पनि आवश्यक छ। डायरीले त्यसैको सम्झना दिलाओस् भन्ने हाम्रो चाहना हो,” सुबेदिले भन्नुभयो।
कार्यक्रममा संयोजक सुबेदिले नागरिकको जिम्मेवारी केवल मतदान गर्ने मात्र नभई जनप्रतिनिधिलाई सही बाटो देखाउने,राम्रो कामको सम्मान गर्ने र गलत कामको खबरदारी गर्ने पनि भएको बताउनुभयो। सोही जिम्मेवारी अन्तर्गत सुरुमै यस्तो कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो।
कार्यक्रममा अब विकासका काम भनसुन,पहुँच र व्यक्तिगत आग्रहको आधारमा होइन,वास्तविक आवश्यकता र प्राथमिकताका आधारमा हुनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो।उहाँले विगतमा देखिएको भनसुनको संस्कृतिको अन्त्य हुनुपर्ने र समग्र क्षेत्रको सन्तुलित विकासमा ध्यान दिनुपर्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रममा नयाँ पुस्ताका बालबालिकाले आफ्ना बुवा–आमालाई मतदानमा सहभागी हुन आग्रह गरेको प्रसङ्ग पनि उठाइएको थियो। उहाँले ती बालबालिकाको उज्ज्वल भविष्यलाई ध्यानमा राखेर जनप्रतिनिधिले जिम्मेवार ढंगले काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।
नागरिक र जनप्रतिनिधिबीच संवाद र उत्तरदायित्वको संस्कार बलियो बनाउने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय नागरिक,सामाजिक अभियन्ता तथा सरोकारवालाको सहभागिता रहेको थियो। सहभागीहरूले जनताको विश्वास कायम राख्दै पारदर्शी र उत्तरदायी शासनका लागि जनप्रतिनिधिले सक्रिय भूमिका खेल्नुपर्ने बताएका थिए।
प्रतिक्रिया राख्नुहोस्