प्युठान,प्युठानमा चुनावी प्रचारप्रसारमा हिडेका कार्यकर्तामाथि अभद्र व्यवहार भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आपत्ति जनाएको छ।
एमाले प्युठानका अनुसार झिमरुक गाउँपालिका–५ ओखरकोटबाट फर्किने क्रममा ठुलोपोखरा क्षेत्रमा केही व्यक्तिहरुले गाडी रोकेर दुर्व्यवहार गरेका थिए।पार्टीको दाबी अनुसार ती व्यक्तिहरु नशाको प्रभावमा रहेका थिए र घण्टी बजाउँदै अपशब्द प्रयोग गरिरहेका थिए।
प्रचारप्रसार टोलीमा रहेका कार्यकर्ताहरुका अनुसार अचानक केही व्यक्तिहरु लठ्ठी र चक्कु लिएर आएको र गाडीमा रहेका नेताहरु तथा कार्यकर्ताहरुमाथि धम्कीपूर्ण व्यवहार गरेको आरोप लगाइएको छ। स्थिति तनावपूर्ण बनेपछि कार्यकर्ताहरु गाडीबाट झरेर सम्झाउने प्रयास गरेका थिए।
एमाले स्रोतका अनुसार पार्टीलाई बदनाम गर्न र चुनावी अभियान प्रभावित पार्न नियोजित रूपमा यस्तो गतिविधि गरिएको दाबी गरिएको छ।“यस्ता गतिविधिले हामी कमजोर हुँदैनौँ,”पार्टीले जनाएको छ।
यसैबीच,जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार चुनावी प्रचारप्रसारमा हिँडिरहेका एमाले उम्मेदवार चढेको गाडीको अगाडि आई मादक पदार्थ सेवन गरेका केही व्यक्तिहरुले घण्टी बजाउँदै अभद्र व्यवहार गरेका हुन्।
प्रहरीले घटनाबारे आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ।संलग्न व्यक्तिहरुको पहिचान गर्ने काम भइरहेको र कानुन विपरीत गतिविधि पुष्टि भए कारबाही गरिने प्रहरी स्रोतले जनाएको छ।प्रहरीले चुनावी वातावरण शान्तिपूर्ण बनाउन सबै पक्षलाई संयमित र जिम्मेवार व्यवहार गर्न आग्रहसमेत गरेको छ।
पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न प्रशासनसँग माग गरेको छ। हालसम्म घटनाबारे अन्य राजनीतिक दलको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
प्रतिक्रिया राख्नुहोस्